नेपाल मेडिकल कलेजको डेन्टल भवनमा गोकर्णेश्वरका मेयर चालिसेको बदमासी


काठमाडौं । नक्सा पास नै नगरी बनेको नेपाल मेडिकल कलेज एवं शिक्षण अस्पताल (एनएमसी)को डेन्टल भवनमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले मिलेमतोमा स्वीकृति गरेको पाइएको छ ।

भवनको नक्सा पास र निर्माण अनुमति प्राविधिक समितिको सिफारिस र प्रतिवेदनका आधारमा प्रमुख प्रशासकीय अधिकृतले गर्नु पर्नेमा मेयर चालिसेले बदमासी गरेका हुन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीलाई बाइपास गरेर मेयर चालिसेले एनएमसीको डेन्टल भवनको नक्सा पास गरेको राष्ट्रिय सतर्कता केन्द्रका एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार भवन निर्माणको अनुमति र नक्सा पास प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने हुन्छ । ऐनमै प्रस्ट रहेको व्यवस्थालाई व्यवस्था गर्दै मेयर चालिसेले एनएमसीको डेन्टल भवनको अनुमति र नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र दिएको सतर्कता केन्द्रका ती अधिकारीले स्वास्थ्य लाइभलाई सुनाए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४३ मा गाउँपालिका तथा नगरपालिकाले भवनको नक्सा पास गर्दा नेपाल सरकारले निर्धारण गरे अनुसारको राष्ट्रिय भवनसंहिता पालना गर्नु, गराउनु पर्नेछ भन्ने उल्लेख छ । तर नेपाल मेडिकल कलेज एवं शिक्षण अस्पतालको डेन्टल भवनको हकमा त्यसको पनि पालना नगरी मेयर चालिसेले आफूखुसी करारका इन्जिनियर प्रयोग गरेर काम गरिदिएका हुन् ।

एनएमसीको डेन्टल भवनमा मापदण्ड, अधिकार केही नहेरी आर्थिक चलखेलका आधारमा मेयर चालिसेले काम गरेको खुल्न आएपछि स्वास्थ्य लाइभले  बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । डेन्टल भवनकै विषयमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटालाई कागजात माग्दा दिन नसकिने जवाफ दिए ।

गोकर्णेश्वर नगरपालिका मेयर चालिसेले करारका कर्मचारीमार्फत कानुनविपरीत काम गर्ने गरेको एक पूर्व प्रमुख प्रशासकीय अधिकृतले स्वास्थ्य लाइभलाई अनुभव सुनाए । मेयर चालिसे करारका इन्जिनियर परिचालन गरेर नक्सा पासको धन्दा चलाउने गरेकी ती अधिकृतको आरोप छ ।

‘कमिसनको चक्करममा आसेपासेलाई डिपिआर बनाउन मेयर चालिसेले ठाडो हस्तक्षेप गर्ने गरेका छन् । नक्सा पासको सबै ठेक्का करारका इन्जिनियरले पाएका छन् । करारको म्याद थप्दा लिलाम बढाबढमा म्याद थपिने भएकाले उनीहरूकै डिजाइनमा नगरपालिका चल्ने गरेको छ’, ती पूर्व प्रमुख प्रशासकीय अधिकृतले भने ।

करारका कर्मचारीको नगरपालिकामा दादागिरी रहेको र तिनिहरुकै व्यवस्थापनमा मेयर र प्रमुख प्रशासकीय अधिकृतले एताउता गर्ने गरेको आरोप लागिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकाय भने मौन छन् ।

कमिसनको चक्करमा नगरपालिकाले जोरपाटीमा बनाउन लागेको आकाशे पुल समेत सडक विभागले रोकिदिएको छ । सडक विभागका एक अधिकारीका अनुसार गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग अनुमति नै नलिई मापदण्डविपरीत आकाशे पुल बनाउन खोजेकाले विभागले रोकिदिएको हो । नगरपालिकाले ठूलो कमिसनको खेल आफूखुसी आकाशे पुल बनाउन खोजेको ती अधिकारीको  भनाइ छ । यता बागमती नदीमा स्टिमर चलाउने पूर्वाधार बनाउन पनि नगरपालिकाले डिपिआर गरेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको क्षेत्राधिकारलाई असर पर्ने गरी डिपिआर तयार पारेर गोकर्णेश्वरले बागमतीमा काम गर्न खोजेपछि त्यो पनि रोकिएको छ ।  गोकर्णेश्वरका मेयर चालिसेले मनमौजी तरिकाले बागमती नदिमा पूर्वाधार बनाउन खोजेपछि रोक्नु परेको समितिका पदाधिकारीहरू बताउँछन् । गोकर्णेश्वरका मेयर चालिसेको बोली नै कानुन भएकाले उनको दबाबमा यस्ता धेरै बदमासी भएको हुन सक्ने ती अधिकारीको भनाइ छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर चालिसेद्वारा डेन्टल भवनदेखि आकाशे पुल निर्माणसम्म भएको बदमासीले अख्तियारलाई समेत गिज्याइरहेको देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #आर्थिक चलखेल मिलेमतो, #इन्जिनियर, #गोकर्णेश्वर नगरपालिका, #डेन्टल भवनमा, #नेपाल मेडिकल कलेज एवं शिक्षण अस्पताल (एनएमसी), #मेयर सन्तोष चालिसे, #सडक विभाग

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com