एमबीबीएससहितको एकीकृत प्रवेश परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ


काठमाडौं । चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस बीडीएसलगायतमा आज सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा आयोगले लिएको उक्त एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी फेला परेका हुन् ।

प्रहरीको महानगरीय अपराध महाशाखाले आज लिएको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा हलमा छिरेका ४ जनालाई नियन्त्रणमा लिएको हो । महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक(एसपी) कृष्ण प्रसाद कोइरालाले नक्कली परीक्षार्थी पक्राउ गरेको पुष्टि गरे ।

चिकित्सा शिक्षा स्नातक तहको आज लिइएको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका चार जना नक्कली परीक्षार्थी प्रहरीको फन्दामा परेका हुन् । ४ जना नक्कली परीक्षार्थी र १ जना अर्कालाई परीक्षा दिन लगाउने व्यक्ति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले एकजना नक्कली परीक्षार्थी काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । त्यस्तै २ जना ललितपुरको बालकुमारी र १ जना भक्तपुरबाट नक्कली परीक्षार्थी प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

आयोगले एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका त्यस्तालाई परीक्षा केन्द्रबाट निस्कासन गर्ने, दुई वर्षसम्म आयोगले लिने प्रवेश परीक्षामा संलग्न नगराउने र त्यस्तो कार्य गराउन मतियार समेतलाई प्रचलित कानुन बमोजिम हदैसम्म गर्ने, गराउने चेतावनी दिएको थियो । आयोगले लिने  चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा २० गते र २१ गतेपनि सञ्चालन हुनेछ । आयोगले कारबाहीको चेतावनी दिँदादिँदै प्रहरीले नक्कली परीक्षार्थी फेला पारेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #एकिकृत प्रवेश परीक्षा, #एमबीबीएस स्नातक तह, #चिकित्सा शिक्षा आयोग, #नक्कली परीक्षार्थी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com