प्रसूति गृहले ६० लाखको अत्याधुनिक एम्बुलेन्स किन्न पाउने


काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल(प्रसूति गृह)ले ६० लाखको अत्याधुनिक एम्बुलेन्स किन्न पाउने भएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रसूति गृहका निर्देशक डा. अमिर बाबु श्रेष्ठलाई आज भेटेर ६० लाख मूल्य पर्ने एम्बुलेन्स खरिदका लागि बजेट उपलब्ध गराएको जानकारी गराएका छन् । उक्त बजेटबाट प्रसूति गृहलाई आवश्यक अत्याधुनिक एम्बुलेन्स खरिद गर्न मन्त्री श्रेष्ठको आग्रह छ ।

उनले काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित प्रसूति गृहलाई प्रदेश पूर्वाधार, स्वास्थ्य प्रबर्द्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रममार्फत एम्बुलेन्स किन्न उक्त रकम दिएका हुन् ।

उक्त क्षेत्रको प्रदेश सभा सदस्य समेत रहेका मन्त्री श्रेष्ठले नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहको आग्रह अनुसार प्रसूति गृहमा एम्बुलेन्स खरिद गर्न ६० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्यद्वय सरोज कुमार मुल्मी र दिपेश राउत क्षेत्रीका साथमा प्रसूति गृह पुगेका सांसद श्रेष्ठले प्रसूति गृहका निर्देशक डा. अमिर बाबुलाई उक्त रकमबाट एम्बुलेन्स खरिद गर्न अनुरोध गरेका छन् ।

प्रसूति गृहका निर्देशक डा. श्रेष्ठले पनि अस्पतालाई एम्बुलेन्स आवश्यक रहेको भन्दै एम्बुलेन्स किन्न सांसदले पैसा दिँदा उत्साहित भएको प्रतिक्रिया दिए ।  कोरोनाकालमा अक्सिजन अभाव हुँदा सिभिल अस्पताललाई अक्सिजन सिलिन्डरसहित डेढ करोडको स्वास्थ्य सामग्री प्रदान गरेका मन्त्री श्रेष्ठले प्रसूति गृहलाई एम्बुलेन्स खरिदका लागि पैसा दिएका हुन् ।  प्रदेश सरकारबाट प्रसूति गृहलाई आवश्यक पर्ने थप बजेट उपलब्ध गराउने उनको प्रतिबद्धता रहेको छ ।

तारकेश्वर र चन्द्रागिरीमा स्याटेलाइट अस्पताल बन्ने

मन्त्री श्रेष्ठसँगको भेटमा प्रसूति गृहका निर्देशक डा. श्रेष्ठले डेढ अर्ब रुपैयाँको लगानीमा काठमाडौंको तारकेश्वर र चन्द्रागिरीमा स्याटेलाइट अस्पताल बन्ने तयारी भइरहेको जानकारी गराए ।

वडाध्यक्ष तण्डुकारले प्रसूति गृहको चाँपलाई रोक्न भक्तपुरमा अस्पताल विस्तार गर्नुपर्ने प्रस्ताव राखेपछि उनले काठमाडौंको चारैतिर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवासहितको स्याटेलाइट अस्पताल बनाउने विषयमा गुरुयोजना तयार पारिसकेको स्पष्ट पारे ।

भक्तपुर र ललितपुरमा स्याटेलाइट अस्पताल खोल्न स्थानीय तहले चासो नदिँदा काम अघि बढ्न सकेको छैन । ‘चन्द्रागिरी र तार्केश्वर नगरपालिकाले भने यसमा सहयोग गरेकाले जर्मन विकास बैंक (केएफडब्ल्यू)को डेढ अर्ब आर्थिक एवं प्राविधिक सहयोगमा स्याटेलाइट अस्पताल बन्ने प्रक्रिया अघि बढेको छ’, प्रसूति गृहका निर्देशक श्रेष्ठले भने ।

तार्केश्वर नगरपालिकामा नियमित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवाको लागि स्याटेलाइट क्लिनिक सुचारु गर्ने सम्झौतामा समेत हस्ताक्षर भइसकेको उनले जानकारी दिए । वडा नम्बर ११ वडाध्यक्ष तण्डुकारले प्रसूति गृहको सेवा विस्तार गर्न आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रस्ताव गरेको सुनाए । यो विषयमा प्रधानमन्त्री  देउवा र स्वास्थ्यमन्त्री खतिवडाले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ ।

भक्तपुरमा अस्पताल विस्तार गर्न पहल गर्ने समेत वडाध्यक्ष तण्डुकारले निर्देशक श्रेष्ठलाई आश्वासन दिएका छन् ।

क्याटेगोरी : प्रदेश, समाचार, सार्वजनिक सरोकार
ट्याग : ## एम्बुलेन्स, ## प्रसूति गृह, #६० लाख रुपैयाँ सहयो, #प्रकाशमान श्रेष्ठ, #वडाध्यक्ष हिरालाल तण्डुकार, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com