मेडिकल टुरिजममा बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठको जोड


काठमाडौं । मेडिकल टुरिजममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले जोड दिएका छन् । उनले नेपाल मेडिकल टुरिजमको क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक भएकाले बागमती प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए । राजधानीमा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले मेडिकल टुरिजममा विशेष चासो देखाएका छन् ।

आजै भएको अर्को कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने धारणा राखे । बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले निजी क्षेत्रका पर्यटन व्यवसायीसँग राखेको छलफल कार्यक्रममा उनले निजी क्षेत्रसँगको सहकार्य र समन्वयमा पर्यटन क्षेत्रलाई विकास र विस्तार गर्न खोजेको बताए ।

कोभिड–१९ महामारीपछिको पर्यटन व्यवसायलाई कसरी चलायमान बनाउने, पर्यटन क्षेत्रका विद्यमान समस्याको पहिचान र समाधानका लागि सरोकारवालासँग छलफल तथा सुझाव लिएर आगामी नीति तथा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न आफू र आफ्नो  मन्त्रालय तयार रहेको बताएका छन् । मन्त्री श्रेष्ठले नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको सहकार्य जरुरी रहेको भन्दै पर्यटनका नयाँ सम्भावनायुक्त क्षेत्रमा पूर्वाधार विकास लगायतका कामलाई अघि बढाइने बताए । मन्त्री श्रेष्ठले भ्यू टावरका नाममा फजुल खर्च भइरहेको र त्यस शिर्षकको बजेटलाई अन्यत्र मोडेर पर्यटकीय पूर्वाधारमा खर्च गरिने उल्लेख गरे ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव मदन कोइरालाले कोभिडका कारण समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न बागमती प्रदेश सरकार लागि परेको बताए । नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वभर प्रवद्र्धन गर्न नयाँ पर्यटकीय गतिविधि सञ्चालन गर्न मन्त्रालयले योजना बनाएको भन्दै व्यवसायीबाट प्राप्त सुझावलाई आगामी बजेटमार्फत कार्यान्वयनमा लगिने विश्वास व्यक्त गरे ।

उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले कोभिड महामारीले थलिएको पर्यटन उद्योगलाई उकास्न तथा करको दायरामा नआएका पर्यटनसँग सम्बन्धित स्पा, मसाजलगायत व्यवसायलाई व्यवस्थित ढङ्गले सञ्जालन गर्नेगरी नीतिगत सुधारका काम गरिने उल्लेख गरे । उनले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटकीय सम्भावनाको पहिचान र प्रवद्र्धनका गतिविधि प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष खोमबहादुर सुवेदीले कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्र र आबद्ध व्यवसायीलाई राहत पुग्ने गरी कार्यक्रम ल्याउन अनुरोध गरे ।  नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले महिला आरोहीलाई कम्तीमा ५० प्रतिशत रोयल्टी छुट गरिनुपर्ने तथा आरोहीका बालबालिकालाई शिक्षा र स्वास्थ्यमा विशेष सहुलियतको व्यवस्था गर्न प्रदेश सरकारसमक्ष माग गरे ।

टुरिस्ट बस एसोसिएसनका अध्यक्ष कृष्ण आचार्य, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स  रमेश थापा, टुरिस्ट लयर फोरमका अध्यक्ष घनेन्द्र श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रतिनिधि कुन्दन मिश्र, पर्यटक प्रहरी निरीक्षक चन्द्रकिशोर साह, व्यवसायीहरु कृष्ण अर्याल, गङ्गा नेपाल, शिव लामिछाने, नारायण पराजुलीलगायतले कोभिडमा पर्यटन क्षेत्रले भोगेको समस्या र पर्यटन प्रवद्र्धनको आगामी योजनाबारे धारणा राखेका थिए ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #कोभिड-१९ संक्रमण, #बागमती प्रदेश, #मेडिकल टुरिजम, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com