कोरोनाकालमा सक्रिय सिर्जना सिंहलाई काठमाडौं महानगरको मेयरमा उठ्न दबाब


काठमाडौं । कोरोनाकालमा सक्रिय भएर समाजसेवामा होमिएकी सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा उठ्न चौतर्फी दबाब परेको छ ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको पहलमा बानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालन गरिएको अक्सिजनसहित आइसोलेसनमा विशेष सहयोग प्रदान गर्ने सिंहलाई काठमाडौं महानगरको मेयर बन्न सबैतिरबाट दबाब दिने काम भइरहेको छ ।

महिला संघदेखि विभिन्न संघ, संस्थाले उनलाई काठमाडौं महानगरको मेयरमा उठ्नु पर्ने दबाब बढाएका छन् । यद्यपि यस विषयमा सिंहले मुख खोलिसकेकी छैनन् । उनीसँगै शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा हारेकी पम्फा भुसाल पटकपटक मन्त्री भइसकेपनि सिर्जना सिंहले अहिलेसम्म सार्वजनिक लाभको पदमा जिम्मेवारी पाएकी छैनन् ।

नेपाली कांग्रेसमा विशेष योगदान दिएकी उनलाई काठमाडौंको मेयर उठाउँदा उपयुक्त हुने र सिर्जनाले मेयरको भूमिकामा महानगरवासीको पक्षमा काम गर्न सक्ने तर्क गर्न थालिएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहको श्रीमती, गणेशमान र मंगलादेवीको बुहारीभन्दा सिर्जनाको राजनीतिमा पृथक पहिचान छ । बरु पछिल्लो समय उनले कांग्रेसको राजनीतिमा गरेको योगदान छायाँमा परेको देखिन्छ । नेपाली कांग्रेसबाट महानगरको मेयरमा लड्न सक्षम र उपयुक्त पात्रका रुपमा सिर्जनालाई हेरिएको छ । उनी एक भिजन र मिसन भएकी महिला हुन् ।

प्रथम महिला आरजु देउवा राणाले पनि स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको जिम्मेवारी दिनुपर्छ भन्दै सिर्जनाको पक्षमा लविइङ गरिरहको बालुवाटारमा चर्चा छ । आरजुले सार्वजनिक रुपमै महिलालाई अधिकांश स्थानीय तहको नेतृत्वमा जिम्मा दिनुपर्ने अभिव्यक्ति दिनुले पनि सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको प्रमुखमा जान दबाब परेको बताइन्छ ।

शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको कांग्रेसको कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले गठबन्धनको नाममा महिलालाई बली चढाउन नपाइने अभिव्यक्ति दिएकी छिन् । यसले पनि काठमाडौंको मेयरमा महिलालाई नै टिकट दिनुपर्ने कांग्रेसभित्रै दबाब छ ।

सिर्जना सिंह जतिको ‘हाइट’ भएको महिला काठमाडौं मेयरमा अघि सर्नुपर्ने मत कांग्रेसभित्र र बाहिर सबैतिर छ । यसले कांग्रेसबाट सिर्जनालाई काठमाडौंको मेयरमा टिकट दिन र मेयरमा उठ्न दबाब परेको हो । बालुवाटरतिर पनि काठमाडौंको मेयर कांग्रेसको भागमा पर्ने र उम्मेदवार सिर्जना सिंह हुने व्यापक चर्चा हुन थालेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #प्रकाशमान- दीपेन्द्र- गणेशमान- मंगलादेवी, #महिला, #मेयर, #सिर्जना सिंह, #स्ववियु

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com