जिरी अस्पताललाई मेडिकल टुरिजमसँग जोड्ने पर्यटनमन्त्री श्रेष्ठको प्रयास


काठमाडौं । दोलखाको जिरी अस्पताललाई मेडिकल टुरिजमसँग जोड्न बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रयास थालेका छन् ।

सगरमाथाको गेटका रुपमा परिचित जिरीमा रहेको अस्पताल व्यवस्थित गरेर पर्यटकहरुलाई राम्रो उपचार सेवा दिन सक्ने सम्भावनाबारे उनले चासो दिएका छन् ।

 दोलखा जिल्लामा रहेका पर्यटकीय सम्भावना बोकेका स्थल र बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत भइरहेका पर्यटन पूर्वाधार निर्माणको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले जिरी अस्पताललाई पर्यटकीय अस्पतालका रुपमा विकास गर्न सकिने विषयमा चासो राखेका हुन् ।

सगरमाथा, गौरीशंकर लगायतका हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकहरु बिरामी भएको अवस्थामा उद्धार गरेर जिरी अस्पतालमा ल्याइ उपचार गर्न सकिने सम्भावनाकाबारेमा मन्त्री श्रेष्ठले चासो राखेका हुन् ।

‘पर्यटक आउने सिजनमा जिरी विमानस्थल सञ्चालनमा ल्याउन सके सगरमाथा लगायतका हिमाल चढ्न आउने पर्यटन बिरामी भइहाले ‘रेस्क्यू’ गरेर जिरी अस्पतालमा ल्याएर उपचार गर्न सकिन्छ । त्यसका लागि जिरी विमानस्थल सञ्चालनमा ल्याउन आफू नेतृत्वको प्रदेश पर्यटन मन्त्रालयले संघको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष अनुरोध गरिसकेको छ ।’, उनले भने ।

जिरी अस्पताललाई व्यवस्थित र पर्यटक उपचार गर्ने ठाउँको रुपमा विकास, विस्तार र प्रवर्द्धन गर्न सके उक्त क्षेत्रले लाभ प्राप्त गर्ने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । जिरी अस्पताललाई मेडिकल टुरिजम जोड्न आफूले पनि आवश्यक पहल गर्ने उनले बताए ।

जिरी अस्पतालसँगै प्रदेश पर्यटन मन्त्रालयले बनाउँदै गरेको सामुदायिक हलको निरीक्षण गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठ जिरी अस्पतालको पूर्वाधार हेरेपछि उक्त अस्पताललाई पर्यटकीय अस्पतालका रुपमा विकास गर्न सक्ने सम्भावनाको खोजीमा जुटेका छन् ।

पर्यटन सचिव मदन कोइरालाले जिरी विमानस्थल सञ्चालनमा ल्याउन सकेको खण्डमा हिमाल चढ्न गएका पर्यटक बिरामी भएको खण्डमा जिरी अस्पतालमा ल्याएर उपचार गर्न सकिने सम्भावना औँल्याए । जिरी विमानस्थल सञ्चालनमा ल्याउनका लागि संघीय पर्यटन मन्त्रालयमा प्रस्ताव समेत पठाइएको सचिव कोइरालाको भनाइ छ ।

जिरीका स्थानीय समेत रहेका कांग्रेस नेता रुद्र खड्का जिरी अस्पताललाई पर्यटक उपचार गर्ने अस्पतालका रुपमा विकास गर्न सकिने बताउँछन् । जिरी सगरमाथाको गेटका रुपमा प्रख्यात रहेकाले त्यो क्षेत्रमा पर्यटन पूर्वाधार विकास र विस्तारमा राज्यले सहयोग गर्नु पर्ने उनको भनाइ छ ।

जिरी अस्पतालका मेडिकल अधिकृत राजु जैसवाल जिरी अस्पताल मेडिकल टुरिजमको सम्भावनका बोकेको अस्पताल भएको बताउँछन् । कोभिडभन्दा अगाडि धेरै विदेशी पर्यटक उपचार गर्न आउने गरेको सुनाउँदै मेडिकल अधिकृत जैसवालले विशेषज्ञ चिकित्सकसहितको सबै सेवा सञ्चालन गर्न सके विदेशी पर्यटकहरु जिरी अस्पतालमा उपचार गर्न आउने उनको दाबी छ ।

‘अहिलेपनि केही विदेशी पर्यटक जिरी अस्पतालमा उपचार गर्न आइरहेका हुन्छन् । दोलखाको मात्रै नभएर रामेछाप, सोलुखुम्बु जिल्लामा मान्छेहरूपनि जिरी अस्पतालमा उपचारका लागि आउने गरेका छन् । जनशक्ति र उपकरण व्यवस्थापनमा ध्यान दिने जिरीलाई पर्यटकीय अस्पतालका रुपमा विकास गर्न सकिन्छ ।’, मेडिकल अधिकृत जैसवालले भने । ५१ वेड सञ्चालनमा रहेको जिरी अस्पतालमा जनशक्ति नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ ।

एकजना एमडीजीपी र दुईजना एमबीबीएस डाक्टरको भरमा चलेको जिरी अस्पतालमा विशेषज्ञ चिकित्सकसहित सबै प्रकारको सेवा प्रदान गर्न सके उपचारका लागि पर्यटनहरुलाई आकर्षण गर्न सकिने देखिन्छ । अहिले मेडिकल अधिकृत राजु जैसवाल र सिनेट पोखरेलका साथै एमडीजीपी देवेन्द्र गौतम भरमा जिरी अस्पताल रहेको छ ।

जिरी अस्पतालको उचित व्यवस्थापन गर्न सके जिरीलाई मेडिकल दुरिजमसँग जोड्ने पर्यटनमन्त्री श्रेष्ठको प्रयासले सार्थकता पाउँने निश्चित छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #जिरी अस्पताल, #डा. राजु जैसवाल, #मेडिकल टुरिजम, #रुद्र खड्का, #सगरमाथा, #सचिव मदन कोइराला, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com