स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी पुर्पक्षमा राख्ने अध्यादेश आयो


काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी पुर्पक्षमा राख्ने अध्यादेश मन्त्रिपरिषद्ले पारित गरेको छ ।

मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो) संशोधन अध्यादेश पारित गरेर स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएपछि स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी पुर्पक्षमा राख्न बाटो खुल्ने छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो) संशोधन अध्यादेश गरेको जानकारी दिए । उनले मन्त्रिपरिषद्को बैठकले अध्यादेश पारित गरेर राष्ट्रपति समक्ष पठाइएको बताए । नेपाल चिकित्सक संघ र संघका अध्यक्ष डा. लोचन कार्कीको अथक प्रयासपछि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश फेरि आएको हो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याउन नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाललगायत चिकित्सक संघका पदाधिकारी निरन्तर लागेका थिए । उनीहरुको प्रयासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका चिकित्सक डा. शैल रुपाखेती र प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य विज्ञ सल्लाहकार डा आरपी बिच्छाको साथ रहेपछि संघका अध्यक्ष डा. कार्कीसहितका पदाधिकारी अध्यादेश जारी गराउने सफलता प्राप्त गरेेका छन् ।

यो ऐन जारी भएसँगै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि घटना घटाउनेलाई पुर्पक्षमा राखेर छानबिन अगाडि बढाउने बाटो खुल्ने छ । बिनाधरौटी पुर्पक्षमा राख्ने गरी आएको अध्यादेशमा प्रधानमन्त्री देउवाको टिममा रहेका डा. रुपाखेती र डा. बिच्छाको पनि महत्त्वपूर्ण योगदान रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याएको अध्यादेशमा अस्पतालमा आगजनी गरेको अवस्थामा मात्र बिनाधरौटी पुर्पक्षमा पठाउने व्यवस्था थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि त्यसलाई संशोधन गर्दै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई पनि बिनाधरौटी पुर्पक्षमा राख्ने व्यवस्थासहितको विधेयक सदनमा पेश गर्ने तयारी थियो । तर, एमालेको अवरोध र अन्य कारणले गर्दा सदन स्थगित भएपछि थप व्यवस्थासहित सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश ल्याएको हो ।

पहिलाको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजानी गर्नेको हकमा मात्र बिनाधरौटी पुर्पक्षमा पठाउने व्यवस्था रहेको थियो । अहिलेको अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने कुनै किसिमको धम्की दिने, गाली गलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गर्नेलाई पनि बिनाधरौटी पुर्पक्षमा पठाउने व्यवस्था राखिएको छ । पहिला यी कसूरमा सजायको एकरूपता गर्नुपर्ने माग सम्बोधन नभएको बताउँदै चिकित्सक संघका अध्यक्ष डा. कार्कीले अहिले आउन लागेको अध्यादेशले यी कसूरमा एउटै सजाय हुने व्यवस्था राखिएको बताए ।

नेपालको मेडिकल क्षेत्रका लागि यो कानुन ठूलो उपलब्धि हो । यसको मुख्य श्रेय डा. लोचन कार्कीलाई दिनुपर्ने नेपाल चिकित्सक संघका अधिकारीहरू बताउँछन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #डा. बद्री रिजाल, #डा. शैल रुपाखेती, #बिनाधरौटी पुर्पक्षमा राख्ने अध्यादेश, #स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ