महिनावारीमा विदाको प्रबन्ध गर्ने सुनीता डंगोलको कार्यक्रम चर्चामा


काठमाडौं । महिनावारीमा विदाको प्रबन्ध गर्ने नेकपा एमालेबाट काठमाडौं महानगरपालिका उपमेयरकी उम्मेदवार सुनीता डंगोलको कार्यक्रम चर्चामा आएको छ ।

चिकित्सकदेखि महिला सञ्चारकर्मीसम्म डंगोलको उक्त अभिव्यक्तिलाई लिएर बहसमा उत्रिएका छन् । उनले महिनावारीको समयमा महिलालाई दिने भनिएको यो विदाको विषयको बहसमा राष्ट्रिय दैनिकका सम्पादकसम्म सहभागी भएका छन् । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार डंगोलले एक कार्यक्रममा बोल्दै महिलालाई महिनावरीको समयमा विदाको प्रबन्ध मिलाउन नीति कार्यक्रम अघि सार्ने अभिव्यक्ति दिएकी थिइन् । यो विषयले अहिले चौतर्फी चर्चा पाएको हो ।

‘महिनावारी समयमा धेरै जनालाई कार्यालय जान गाह्रो हुन्छ । यो गाह्रो महिलालेबाहेक पुरुषले सायद कमै मात्र बुझ्नु हुन्छ होला । विशेष गरी महिनावारीको समयमा हामीले विदाको लागि कसरी प्रबन्ध मिलाउन सक्छौं त्यसका लागि पनि नीति, कार्यक्रमहरू अगाडि सार्नेछौं’, डंगोलले भनेकी छिन् ।

डंगोलको यो नीति तथा कार्यक्रमलाई लिएर चिकित्सक सुधांशु केसीले भोट दिन्छु जस्तो लागेको थियो तर महिनावारीको बेलामा विदा दिन्छु भन्नेलाई राम राम मात्र भनियो भन्दै भिडिओसहित ट्वीट गरेका छन् ।

डा. केसीको ट्वीटलाई रिट्वीट गर्दै कान्तिपुर दैनिकको सम्पादक उमेश चौहानले ‘सुनीता डंगोलको विरोध गर्न सकिने अरु कारण होलान् । तर ‘महिनावारी हुँदा महिलालाई असह्य पीडा हुन्छ, विदा दिन नीति तथा कार्यक्रम बनाउँछु’ भनेकै कारण भोट दिन्न भन्ने हो भने अब नेताहरूबाट संवेदनशील अभिव्यक्तिको अपेक्षा नगरौ, सिंगापुर र स्विट्ज़रल्यांड बनाउने हावादारी गफमा ताली ठोकौं ।’, भनेका छन् ।

त्यस्तै सञ्चारकर्मी रुपा खड्काले महिनावारीमा विदा, गर्भावस्थामा विदा …. विदाकाे क्रम बढाएर सबै क्षेत्रमा महिलालाई विदा गराउने नियतकाे रुपमा लिन्छु म ..यस्ता बकम्फुसे प्रतिवद्धता महिलामैत्री समाजकाे विपरीत हाे भनेर जनप्रतिनिधीज्यूहरुले बुझिदिनपर्याे हजुर भन्ने टिप्पणी गरेकी छिन् ।

सञ्चारकर्मी समा थापाले ट्वीटरमार्फत महिलालाई महिनावारीमा छुट्टी, व्यापार घाटा घटाउन छुट्टी रे। छुट्टी भन्दा अरु रचनात्मक योजना नआउने हो कि के हो ? देश विकास गर्नलाई योजना बनाउने छुट्टी कहिले आउँछ ? भन्ने प्रश्न तेर्साएकी छिन् ।

काठमाडौं महानगरपालिकाको चर्चित उपमेयरकी उम्मेदवार सुनीता डंगोलले महिनावारीको समयमा महिलालाई विदा दिने भन्ने विषयले अहिले यसको पक्ष विपक्षमा सामाजिक सञ्जाल तताएको छ ।

क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #उपमेयर, #उमेश चौहान, #डा. सुधांशु केसी, #महिनावारी विदा, #रुपा खड्का, #समा थापा, #सुनीता डंगोल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com