सिसिएम सदस्यका लागि पोखरामा भएको निर्वाचन अवैध

अच्युत छिरेपछि सिसिएममा राजनीति मात्रै छिरेन ह्वासै गन्हाउन थाल्यो


काठमाडौं । ग्लोबल फण्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सिसिएम)को नयाँ कार्य समिति चयन प्रक्रिया अवैध रुपमा भएको पाइएको छ । केही व्यक्तिलाई सिसिएममा नल्याए ग्लोबल फण्डले दिने सबै रकम रोक्का हुन्छझै गरेर केही प्रतिनिधि आएका छन् । त्यो पनि छेपारोले रङग फेरेको जस्तो सस्था परिवर्तन गरिगरी ।  सिसिएममा दोस्रो कार्यकालका लागि जसरी पनि अच्युत सिटौला आउनै पर्ने देखिएको छ । सिसिएममा सिटौला आउनै पर्ने र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रोक्न नसक्नुले ठुलै चलखेल भएको स्पष्ट हुन्छ । यस बिषयमा स्वास्थ्य लाइभले गहनरुपमा अध्ययन थालेको छ ।

कुनै पनि इमान्दार व्यक्ति सिसिएमको दोस्रो कार्यकालका लागि आउने हिम्मत गर्दैन । तर, अच्युत सिटौला यस्ता व्यक्ति भएका छन् उनि जसरी पनि सिसिएमको दोस्रो कार्यकाल आउनै पर्नेछ । सिटौला आउनै पर्ने भएपछि निर्वाचन समेत अवैध गराइएको अधिकारीहरुले बताएका छन् । तर, सिटौला भने निर्वाचन पारदर्शी भएकाे बताउँछन् । सक्षम र याेग्य व्यक्ति प्रतिनिधिले छानेकाे खण्डमा ५० पठक पनि आउँन पाउँछन् । उल्टै सिटौलाले मन्त्रालयका अधिकारी प्रति नियम कानुन नजानेकाे आराेप लगाए ।
गत बैशाख ६ गते मंगलबार एनजीओ, सिबिओ, र सिभिल सोसाइटी सिसिएम सदस्यका लागि पोखरामा भएको निर्वाचन अनियमित तरिकाले भएको बिभिन्न नेटवर्कहरुले बताएका छन् । उनिहरु यस्तो अवैध नेतृत्व छान्ने प्रक्रियाबारे कानुनी बाटो पैल्याउँछन् वा शरणमा पर्छन त्यो केही दिनमा थाहा हुनेनै छ ।

नेटवर्कहरुले नेपालको सिसिएममा अनियमित तरिकाले निर्वाचन गराइएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । ‘सिसिएमको नेटवर्कमा आवद्ध एक अधिकारीले भने, ‘नेपालको सिसिएममा राजनीति घुसेको स्पष्ट भएको छ । जसले गर्दा सिसिएमको निर्वाचनमा गंभिर त्रुटी देखिन पुगेको छ । यसलाई सच्याउनुको विकल्प छैन ।’

सिसिएम सदस्य छनोट गर्दा एउटै निर्वाचन क्षेत्रको जिल्लाबाट ७८ प्रतिशत प्रतिनिधित्व गराएपछि काठमाडौं र पोखराका सहभागीहरुले निर्वाचन बहिस्कार गरेर हिडेका थिए । निर्वाचन सम्बन्धि कुनै प्रक्रिया पुरा नगरी सिधै निर्वाचन प्रक्रियामा गएको थियो । अधिकाशं सहभागी चितवनको देखिएकाले कुन आधारमा निर्वाचन पोखरामा गर्ने निर्णय गरिएको भन्नेमा समेत शंकास्पद देखिएको अधिकारीहरु बताउँछन् । एक अधिकारीले भने पोखरामा खुसुक्क निर्वाचन गराउनु सुनियोजित छ । नागरिक समाजले समेत यो कामलाई अवैध भनेको छ ।

अवैध रुपमा निर्वाचन गरेर पदाधिकारी छानिए पछि ‘सीए–एनएन’ को बैठक बोलाउन ‘सीए–एनएन’ सचिवालयलाई अनुरोध गरिएको छ । अधिकारीहरुले ‘सीए–एनएन’को बैठक पछि कानुनी बाटोमा जाने बताएका छन् । खुला प्रतिस्पर्धात्मक विधिबाट चयन हुने दाबी गरिएको सिसिएम सदस्यका लागि फागुन १५ गतेभित्र आवेदन पेश गरिसक्नु पर्ने सिसिएमले आह्वान गरेको आशय–पत्रको सूचनामा उल्लेख थियो ।

ग्लोबल फण्ड सिसिएम क्षेत्रगत प्रतिनिधित्व सम्बन्धि निर्देशिकाले सिसिएममा सरकारी, नागरिक समाज, निजी क्षेत्र र अन्य प्रतिनिधिहरु जो सिसिएममा वर्तमान र भबिष्यमा पनि महत्वपूर्ण हुन्छन्, त्यस्ता प्रतिनिधि सिसिएममा हुनु महत्त्वपूर्ण हुने कुरा दर्शाएको छ ।

कुनै नेटवर्कमा आवद्ध भएको व्यक्ति ल्याउन यत्रो ठूलो चलखेल गरिएको हो । स्रोतकाअनुसार सिसिएमको उपाध्यक्ष रहेका अच्युत सिटौला पुनः आउने योजनाअनुसार सिसिएम नेपालमा अवैध कामहरु भएका हुन् । स्वास्थ्य मन्त्रालय पनि अवैध कामलाई वैधानिकता दिने भन्दा यस्तै काममा रमाउने गरेको देखिन्छ । धमिलो पानिमा माछा मार्न पल्केका स्वास्थ्यका अधिकारीहरुलाई यो अवसर सुनमा सुगन्ध भएको छ ।

सिटौलाले फेरि सिसिएममा आउनका लागि त्यहाँ बसेर खेल खेलेको विज्ञहरुले बताएका छन् । अच्युत सिटौला पिएलएचए समूदायबाट आएका व्यक्ति हुन् । नेशनल फेडेरेसन अफ पिपुल युज ड्रग्सबाट प्रतिनिधित्व गर्दै सिटौला सिसिएमको उपाध्यक्ष भएका हुन् । उनले सिसिएममा दुई कार्यकाल बिताइसकेका छन् । अब सम्मान जनक रुपमा छाड्नु पर्नेमा  लिसो टासिएझै टासिएका छन् ।

नियमअनुसार सिटौलाले सिसिएम छाड्नु पर्नेहो । तर, उनले सिसिएम छाड्ने हैन, विगतमा पिएल एचआइभीबाट सिसिएममा प्रतिनिधित्व गरेर अब टिबीको ग्रुपबाट फेरि सिसिएम प्रवेश गर्ने तिब्र सपना देखेका हुन् । सिटौला तिनै  विवादित व्यक्ति हुन आफू सिसिएममा बसेर ग्लोबल फण्डको पैसा आफ्नो संस्था त्रिशुली प्लसमार्फत परिचालन गर्दै आएका छन् ।

सेभ द चिल्ड्रेनलाई ग्लोबल फण्डको पैसा चलाउन दिने भूमिका खेल्ने संयन्त्र सिसिएमका उपाध्यक्ष रहेका सिटौलाले आफ्नो संस्थामार्फत स्वार्थ बाझिनेगरी सेभबाट करोडौंको प्रोजेक्ट हत्याउने गरेका छन् । योजना बद्ध रुपमा उनिहरुले एनजीओमा चितवनको माडी र टिबीमा मकवानपुरका प्रतिनिधि जम्मा पारिएको थियो । उपाध्यक्ष रहेका सिटौलाले धार परिवर्तन गरेर टिबीबाट आएका छन् ।

नुवाकोटबाट दुई वटा माइक्रोमा सिटौलाले आफ्ना मान्छे ल्याएका थिए । अन्य सदस्यहरुले परिचय दिन भनेपछि सबैले नुवाकोट बताएका थिए । देशभरको निर्वाचन यसलाई मान्न सकिदैन । यो एक जिल्लाको गाउँको मान्छेलाई समग्र देशको निर्वाचन भन्न सकिदैन । भित्रभित्र सेटिङमा मान्छे ल्याएपछि अन्य प्रतिस्पर्धीले निर्वाचन बहिस्कार गरेर हिडेका थिए ।

निर्वाचन रद्ध नगरिए कानुनी बाटो रोज्ने
श्रवण रंजित अध्यक्ष, नानजान
सिसिएम नेपालको एनजीओ, सिबीओ, सिभिल सोसाइटी निर्वाचन ६ गतेका दिन पोखरामा राखिएको थियो । नेपालका सबै क्षेत्र (प्रदेश) का संघसंस्था तथा नागरिक समाजको प्रतिनिधित्व गराई निर्वाचन गर्ने गरेको विगतदेखिको सर्वमान्य प्रक्रिया रहेको हो । तर यसपटक सबै समूह र क्षेत्रबाट प्रतिनिधि समावेश नगरी एक जिल्लाको, तेसमा पनि निश्चित क्षेत्रको मात्रै ७८ प्रतिशत प्रतिनिधि समावेश गरी छलछामपूर्वक निर्वाचन गरेको देखियो ।

यस प्रकारको निर्वाचनबाट सिसिएम नेपालमा सबै क्षेत्रबाट राष्ट्रियस्तरको प्रतिनिधित्व नभएको परिस्थिति स्पष्ट देखिएको छ । त्यसैले यस निर्वाचनलाई रद्द गरी सबै प्रदेशहरूबाट संस्थासंस्था र नागरिक समाजको प्रतिनिधि समावेश गरी निर्वाचन प्रक्रिया पुन गर्नुपर्छ । अन्यथा संस्थासंस्था र नागरिक समाजको प्रतिनिधि हरूको साथसहयोग लिई कानुनी प्रक्रियामा जान वाध्य हुने कुरा जानकारीका लागि अनुरोध गर्दछौं ।

योजना बद्ध रुपमा निर्वाचन गराइयो
दल बहादुर जिसी, एनजीओ प्रतिनिधि

हामीले गैरसरकारी क्षेत्रबाट केन्द्रिय स्तरका प्रतिनिधिहरु पनि सहभागी हुन्छन् भन्ने सोचेका थियौं । तर, सबै चितवनका मात्रै देखिए । १९ जना सहभागी भएका मध्ये १५ जना एकलौटी चितवनबाट आएका थिए ।

समूदायमा आधारीत सस्थाको प्रतिनिधि चुन्न गुपचुप रुपमा चितवनबाट मात्रै प्रतिनिधि ल्याएको पाइयो । सुरुमा जानकारी थिएन निर्वाचनमा भाग लिने बेलामा परिचय गर्दा सबै चितवनबाट मात्रै सहभागी गराएको पाइयो । १५ जना एकै ठाउँका चार जना अन्य क्षेत्रका भएपछि सेटिङमा निर्वाचन हुदैछ भन्ने लागेर हामीले सहभागीता जनाएनौं । असहमतिका बिच चितवनका प्रतिनिधि छानिएका छन् ।

सिसिएममा दुर्षित राजनीति देखियाे
राजन केसी, टिबी प्रतिनिधि

सेक्स वर्कर, लागु औषध, तेस्रो लिङ्गी सबैको निर्वाचन काठमाडौंमा भयो । तर, एनजीओ र टिबीको मात्रै पोखरामा निर्वाचन भयो । टिबीमा मात्रै देशभरबाट एक सय जना प्रतिनिधि निर्वाचनका लागि सहभागी हुन्छन् । तर, पोखरामा गरिएको निर्वाचनमा अधिकाशं नुवाकोटका एचआइभी संक्रमितहरु मात्रै थिए जसले अच्युत सिटौलालाई मात्रै समर्थन गर्थे र गरे ।

सिसिएममा अब आफ्नो मान्छे मात्रै भए । अच्युत सिटौला सिसिएममा सन् २०१४ बाट प्रबेश गरेकफुा हुन् । त्यो भन्दा अगाडी सिसिएमबारे उनमा कुनै जानकारी थिएन । जब सिसिएममा अच्युत छिरे त्यहीँबाट राजनीति सुरु भयो । बिना स्वार्थ किन मान्छेले सिसिएम जान मरिहते गर्छ ? जिल्ला उल्टिएर भोट हाल्न आउनु भनेको ठुलो चलखेल भएको बुझिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##ग्लोबल फण्ड, ##डा रोशन पोखरेल, ##सिसिएम, ##स्वास्थ्य तथा जनसंख्या, #अच्युत सिटौला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com