सरकारी जग्गा हडप्ने दीर्घायु गुरू अस्पतालका संरक्षक शुद्ध डंगोल वडाध्यक्षमा पराजित


काठमाडौं ।  सरकारी जग्गा हडप्ने चाबहिलको दीर्घायु गुरू अस्पतालको संरक्षण गर्ने शुद्धकुमार डंगोल वडाध्यक्षमा पराजित भएका छन् ।

करोडौं मूल्य पर्ने मित्रपार्कस्थित सरकारी जग्गा हडपेर बनेको दीर्घायु गुरू अस्पताललाई संरक्षण गर्दै आएका काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष डंगोल नराम्रोसँग पराजित भएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका डंगोललाई नेपाली कांग्रेसका उम्मेदवार विमलकुमार होडाले पराजित गरेका हुन् । अघिल्लो कार्यकालमा डंगोलले आफ्नै नातेदार सुरज बलाया श्रेष्ठले सरकारी जग्गा हडपेर सञ्चालन गरेको दीर्घायु गुरू अस्पताललाई संरक्षण गर्ने काम गरेका थिए ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर ७ सिट नम्बर १०६७–१२ को कित्ता नम्बर ३४ मा उल्लेखित एक रोपनी ५ आना ३ पैसा, २ दाम क्षेत्रफलमा फैलिएको जग्गा दीघार्यु गुरु अस्पतालले हडपेको निष्कर्ष निकालेको थियो । स्वास्थ्य लाइभले सरकारी जग्गा हडपेको विषयमा बुझ्दा अस्पतालले सरकारी जग्गा हडपेको स्वीकार गरेका थिए । तर वडाध्यक्ष डंगोलको संरक्षणका कारण दीघार्यु गुरु अस्पतालले सरकारी जग्गामा रजाइँ गरिरहन सफल भयो ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा दीर्घायु गुरु अस्पतालका प्रबन्ध निर्देशक सुरज बलाया श्रेष्ठले  भवन बनाइसकेपछि सरकारी जग्गा भएको थाहा पाएको भनेका थिए ।   उनको तर्क छ । ‘पहिला व्यक्तिसँग सम्झौता गरेर लिएको थियौं, भवन बनाइसकेपछि सरकारी रहेका थाहा पाइयो’, श्रेष्ठले भनेका भिए । यता तत्कालीन वडाध्यक्ष डंगोल भने जिल्ला प्रशासन कार्यालयले ताकेता गरिरहेको बताउँदै आफूलाई थाहा नभएको गैर जिम्मेवार जवाफ दिँदै आएका थिए ।

मित्रपार्कका स्थानीयले दीर्घायु गुरु अस्पतालले सरकारी जग्गा हडपेको विषयमा पटकपटक जानकारी गराउँदै उल्टै अभद्र व्यवहार गरेका वडाध्यक्ष डंगोललाई ब्यालेटमार्फत जवाफ दिएका छन् ।

निर्वतमान वडाध्यक्ष डंगोल र दीर्घायु गुरु अस्पतालका प्रबन्ध निर्देशक सुरज बलाया श्रेष्ठ नजिकको नातेदार रहेको स्थानीयको भनाई छ । सरकारी जग्गा हडपेर निजी अस्पताल चलाएको विषयमा स्थानीयले आवाज उठाउँदा संरक्षणमा उत्रिएका डंगोललाई जनताले चुनावमा जवाफ दिएका हुन् ।

तत्कालीन वडाध्यक्ष डंगोलकै मिलेमतो रहेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं पनि सरकारी जग्गा हडप्ने दीर्घायु गुरु अस्पतालसँग हच्किएको थियो । नयाँ वडाध्यक्षले दीर्घायु गुरु अस्पताल हडपेको सरकारी जग्गा फिर्ता ल्याउन सक्छ कि सक्दैन स्थानीय बासिन्दाहरू प्रतिक्षामा रहेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## जिल्ला प्रशासन कार्यालय, #चाबहिल मित्रपार्क, #दीर्घायु गुरु अस्पताल, #प्रबन्ध निर्देशक सुरज बलाया श्रेष्ठ, #वडाध्यक्ष शुद्ध डंगोल, #सरकार जग्गा हडप्ने, #सरकारी जग्गामा निजी अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com