पर्यटनलाई स्वास्थ्य र खेलकुदसँग जोड्ने पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रयास

पर्यटनमन्त्री श्रेष्ठको पहलमा गौतमबुद्ध क्रिकेट मैदान संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश


काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटनलाई स्वास्थ्य र खेलकुदसँग जोड्ने प्रयास गरेका छन् । चितवनमा अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पर्यटन र खेलकुदसँग जोड्दै उनले संघीय सरकारसँग निर्माणको बाँकी कामलाई टुंगोमा पुर्‍याउन प्रस्ताव गरेका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठकै पहलमा चितवनको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुंगोमा पुर्याउन समन्वय र सहजिकरण गर्ने कार्यक्रम समावेश भएको छ । संघीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो ।

पर्यटनमन्त्री श्रेष्ठको पहलमा धर्मुस-सुन्तली फाउण्डेसनमार्फत निर्माण पूरा नभएको उक्त क्रिकेट र रंगशाला निर्माणको बाँकी कामलाई टुंगोमा पुर्याउन समन्वय र सहजिकरण गर्ने भएको छ । खेलकुदका माध्यमबाट पर्यटन क्षेत्रको विकासका लागि चितवन जिल्लाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य हाल विभिन्न कारणले रोकिएको हुँदा सो पूर्वाधारलाई समयमै सम्पन्न गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, संघसंस्था एवं सरोकारवालासँग छलफल र सहकार्य, समन्वय गरी कार्य अगाडि बढाउने पर्यटनमन्त्री श्रेष्ठको प्रस्ताव थियो ।

उक्त प्रस्तावलाई संघीय सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ । मन्त्री श्रेष्ठले मुख्यमन्त्री कार्यालयमार्फत तीनै तहको सरकारबीचको सहकार्यमा उक्त गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रस्ताव संघीय सरकार समक्ष पठाएका थिए । त्यसैका आधारमा नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरेको हो ।

पर्यटनमन्त्री श्रेष्ठको प्रस्तावमा अब उक्त अलपत्र क्रिकेट रंगशालाले संघ, प्रदेश, स्थानीय तह संघसंस्थाको सहकार्यकामा पूर्णता पाउने देखिन्छ । पर्यटनलाई स्वास्थ्य र खेलकुदसँग जोड्ने पर्यटनमन्त्री श्रेष्ठको प्रयासलाई संघीय सरकारले पनि साथ दिएको छ ।

नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद र शरीरिक व्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गर्ने कुरा सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ । नीति तथा कार्यक्रममा उक्त कुरा पर्नुले बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठको प्रयासले सार्थकता पाएको हो ।

बागमती प्रदेशले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रस्तावसहित ८ वटा प्रस्ताव संघमा पठाएको थियो । तर संघीय सरकारले प्रदेशको एउटा मात्र कार्यक्रम समावेश गरेको पाइन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #२०७९/०८० नीति तथा कार्यक्रम, #गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, #पर्यटनसँग स्वास्थ्य र खेलकुदलाई जोड्न प्रयास, #बागमती प्रदेश, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com