नवनियुक्त मन्त्रीहरुको पहिलो निर्णय

खापुङ स्वास्थ्य लाइभको एजेण्डामा, जीवनराम दिपेन्द्र पथमा


काठमाडौं । आज पदभार सम्हालेका नवनियुक्त मन्त्रीहरुले गरेको पहिलो निर्णय भटाभट सार्वजनिक भएका छन् ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसम्मले पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

स्वास्थ्यमन्त्री खापुङले स्वास्थ्य लाइभले बारम्बार उठाउँदै आएको ग्लोवल फण्डको बजेट नेपाल सरकार आफैंले प्रयोग गर्नुपर्ने एजेण्डामा उभिएका छन् । स्वास्थ्यमन्त्री खापुङले पहिलो निर्णयका रुपमा ग्लोवल फण्डको कार्यक्रम सरकार आफैंले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने फाइलमा हस्ताक्षर गरेका हुन् । उक्त निर्णयमा सन् २०२४ देखि ग्लोवल फण्डको कार्यक्रम स्वास्थ्य मन्त्रालयमा नै सचिवालय बनाएर सञ्चालन गर्ने प्रस्ताव छ ।

ग्लोवल फण्डको पैसामा सेभ द चिल्ड्रेनले रजाईं गरिरहेको र यो बजेट सरकार(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) आफैंले प्रयोग गर्नु पर्ने विषय स्वास्थ्य लाइभले पटक पटक उठाउँदै आएको थियो । ग्लोवल फण्डले नेपालमा एचआईभी, क्षयरोग, औलोका क्षेत्रमा गरेको सहयोग सेभ द चिल्ड्रेनले प्रयोग गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन अधिकारीहरुका बदमासीका कारण यो कार्यक्रम सेभ द चिल्ड्रेनको पोल्टामा पुगेको हो ।

स्वास्थ्य लाइभले ग्लोवल फण्डको पैसा सेभ द चिल्ड्रेनलाई नदिई सरकार आफैंले चलाउनु पर्ने, महालेखा परीक्षकको कार्यालयले अडिट गर्नुपर्ने, मन्त्रिपरिषद्बाट स्वीकृत लिएर मात्र सम्झौता गर्नुपर्ने लगायतका कुरामा जोड दिँदै आएको छ ।  नवनियुक्त स्वास्थ्यमन्त्री खापुङले त्यहीँ एजेण्डालाई स्थापित गर्ने पहिलो निर्णय गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ गरेको पहिलो निर्णय बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको कार्यक्रमसँग जुधेको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले वसन्तपुरबाट स्वयम्भूसम्म जोड्ने सम्पदा पदमार्ग निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेका छन् । नवनियुक्त संघीय पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पनि हनुमानढोका(वसन्तपुर)देखि स्वयम्भूसम्म पदमार्ग निर्माण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । यो निर्णयलाई लिएर पर्यटनमन्त्री जीवनराम दिपेन्द्र पथमा पुगेको चर्चा सुरु भएको छ ।

हनुमानढोका(वसन्तपुर)देखि स्वयम्भूसम्म सम्पदा पदमार्ग निर्माण गर्ने विषय काठमाडौं महानगरपालिका मेयर वालेन्द्र साहको बजेट तथा कार्यक्रममा पनि परेको छ । उक्त सम्पदा पदमार्ग बनाउने बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको एजेण्डामा काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहदेखि संघीय पर्यटनमन्त्री जीवराम श्रेष्ठ पनि उभिएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #जीवनराम श्रेष्ठ, #दिपेन्द्र श्रेष्ठ, #पर्यटन मन्त्रालय, #वालेन्द्र साह, #सम्पदा पदमार्ग, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com