स्वास्थ्यमन्त्री खापुङले राज्यमन्त्री केसीलाई के काम दिए ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा हुँदा जिम्मेवारीबिहीन राज्यमन्त्री भएका भवानीप्रसाद खापुङले मन्त्रीमा ‘बढुवा’ भएसँगै राज्यमन्त्री हिराचन्द्र केसीलाई अधिकार प्रत्यायोजन गरेका छन् ।

स्वास्थ्यमन्त्री खापुङले स्वास्थ्य राज्यमन्त्री केसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिदेखि विशीष्टीकृत अस्पताल सेवाप्रवाहको अनुगमन गर्नेसम्मको जिम्मा दिएका छन् । स्वास्थ्यमन्त्री खापुङले स्वास्थ्य राज्यमन्त्री केसीलाई लिखित अधिकार प्रत्यायोजन गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङ र राज्य मन्त्री केसीको उपस्थितीमा कार्यविभाजन भएको हो ।

स्वास्थ्यमन्त्री खापुङले राज्यमन्त्री केसीलाई गरेको अधिकार प्रत्यायोजन

राज्यमन्त्री केसीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतमा कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ । राप्ति प्रतिष्ठान उनकै गृह जिल्ला दाङमा रहेकाले काम गर्न सहज होस भनेर राज्यमन्त्री केसीलाई सहकुलपतिको हैसियतमा कामकाज गर्न जिम्मेवारी तोकिएको स्वास्थ्यमन्त्री खापुङ निकट स्रोतको दाबी छ । यस्तै उनलाई मन्त्रालय वा यस अन्तर्गतका वा सो अन्तर्गत् रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, वोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतीगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने कार्य जिम्मेवारी तोकिएको छ ।

यस्तै, विशीष्टीकृत अस्पतालहरुको सेवाप्रवाहको अनुगमन गर्ने, नितिगत सुधारका लागि निर्देशन दिने विषयमा राय सहित पेश गर्ने अख्तियारी स्वास्थ्य राज्यमन्त्री केसीलाई दिइएको छ । विशीष्टीकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्डसम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्री केसीलाई दिइएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com