स्वास्थ्यमन्त्रीको पहिलो सरुवा लेनदेनमा भएको आशंका, जनस्वास्थ्य प्रशासकलाई अस्पतालको जिम्मा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्यमा सरुवा सुरु गरेका छन् । तर, उनले शुक्रबार गरेको पहिलो सरुवा नै विवादित भएको छ ।

मन्त्रीले शुक्रबार सप्तरीको गजेन्द्रनारायण सिंह र नेपालगञ्जको भेरी अस्पतालको मेसु परिवर्तन गरे । तर, उनले गजेन्द्रनारायण सिंहमा भने समूह नै नमिल्ने व्यक्तिलाई पठाएका छन् ।

गजेन्द्रनारायणसिंह अस्पतालमा डा. प्रकाशप्रसाद साहलाई पठाएका छन् । डा. साहको दरबन्दी अस्पतालमा हैन । उनी जनस्वास्थ्य प्रसाशक हुन् । मेसु हुन स्वास्थ्य प्रशासकको दरबन्दी चाहिन्छ । डा. साहको दरबन्दी क्षयरोग केन्द्र, अन्तर्राष्ट्रिय समन्वय महाशाखा, नीति योजना महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा छ ।

स्वास्थ्य क्षेत्रका अधिकारीहरुले मन्त्री खापुङले गरेको पहिलो सरुवामै गम्भीर गल्ती भएको बताएका छन् । यो सरुवामा आर्थिक लेनदेन भएको अनुमान स्वास्थ्य क्षेत्रका अधिकारीहरुको छ । ‘यदी इमानदार हिसाबले सरुवा गरेको भए साहलाई दरबन्दी अनुसारको कर्मचारी हेरफेर हुने थियो’, एक अधिकारीले भने, ‘ तर यो सरुवामा आर्थिक लेनदेन भएको स्पष्ट बुझिएको छ ।’,

उच्च स्रोतले बताए अनुसार माधव नेपालका मान्छेहरुको यसमा स्वार्थ जोडिएको बुझिएको छ । आफै ९ महिना राज्यमन्त्री भएर स्वास्थ्यमा बसेका खापुङले यस अगाडिको सरुवा बढुवा भुल्नु अचम्म भएको छ । गत असार १० गते मात्रै गजेन्द्रनारायणसिंह अस्पतालमा डा. रणजित झालाई मेसु बनाइएको थियो ।

स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ दरबन्दीभन्दा बाहिरको कर्मचारी पठाउनु गल्ति भएको बताउँछन् । ‘समूहको आफ्नो विज्ञता छ’, श्रेष्ठ भन्छन्, ‘डा. साहको विज्ञता सम्बन्धित ठाउँमा लगाउनु पर्छ । यसलाई मन्त्रीले तत्काल सच्याउनु उपयुक्त हुन्छ । ‘,

यस्तै स्वास्थ्यमन्त्री खापुङले नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रमुख कन्सल्टयान्ट चर्म रोग विशेषज्ञ डा. बद्री चापागाईंलाई मेसुको जिम्मेवारी दिएका छन् । यसले सरुवाती दिनबाट स्वास्थ्य मन्त्रीको विज्ञ सल्लाहकारले सही सल्लाह दिएका छैनन् भन्ने स्पष्ट भएको छ । सोझा मन्त्रीलाई सल्लाहकारले विवादमा तान्ने स्पष्ट संकेत देखिएको छ । यस अगाडि उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा पनि सरुवाको पहिलो निर्णय नै विवादित बनेको थियो । तर, उनले त्यसलाई ‘रियलाइज’ गर्दै सुधार गरेका थिए । खापुङले गरेको गल्ती श्रेष्ठले जस्तै सच्याउँछन् कि विवादित नै हुन चाहन्छन् हेर्न बाँकी छ । स्वास्थ्यमन्त्री खापुङलाई यो सरुवाको विषयमा बुझ्न खाेज्दा सम्पर्कमा आएनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com