स्वास्थ्यको लागि खेल महत्वपूर्ण : खेलकुदमन्त्री गहतराज


काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्व छ भने । उनले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए ।

सातदोबाटोको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आज सम्पन्न मैत्रीपूर्ण खेलमा खेलकुद पत्रकार मञ्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गर्दै विजयी भयो । उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिएको थियो । मञ्चको जितमा वासु अवाल र दिल तामाङले समान दुई÷दुई गोल गरे भने अभिनव जोशीले एक गोल थपे । यता अन्नपूर्णका लागि भने सन्तोष खड्काले दुई गोल गर्दा नीराजन श्रेष्ठ र नरेश खड्काले १/१ गोल थपे । विजेता टोलीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य एवं प्रशिक्षक राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गरे । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यको प्रशंसा गरे ।

अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफूहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गरे । सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबका कप्तान सन्तोष खड्काले जानकारी दिए। रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com