प्रमुख विशेषज्ञलाई सम्मान दिन नसक्दा कोभिड ‘फ्रन्टलाइन’ अस्पतालले भारी कर्मचारी कटौतीको मार खेप्यो


पहिलो केस

बि.स २०७६ माघ १० गते नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित पुष्टि भएको थियो । चीनको वुहानमा अध्ययनको क्रममा रहेका एक युवक नेपाल फर्कदा संक्रमित पुष्टि भएको थियो । चीनमा देखिएको नयाँ कोरोना भाइरसले पुरै विश्व आतंकित पारेको थियो ।

देशको एक मात्रै टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उनको उपचार भएको थियो । देशभरका निजी अस्पतालले ज्वरोका बिरामी भन्ने बित्तीकै गेट बन्द गर्न थालेका थिए । सरकारी अस्पतालमा भर्ना नलिइ फर्काउथे । तर, सिमित स्रोत साधन र न्युन जनशक्तिका बिच शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले आएका कुनै पनि बिरामीलाई फर्काएन ।

दोस्रो केस

फ्रान्सको पेरिसबाट कतारको दोहा ट्रान्जिट हुँदै ४ चैतमा २०७६ मा १९ वर्षीया नेपाली विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । फ्रान्समा रहँदा कोठामा सँगै बस्ने भियतनामकी साथीसँगै विमानमा यात्रारत थिइन् । ती साथी आफ्नो देश पुगेपछि स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ संक्रमण भएको देखिएपछि उनले पनि परिक्षण गराईन । कोरोना पुष्टि भएपछि रातारात शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरियो । चिकित्सकले बिशेष निगरानीमा उनलाई राखेका थिए ।

तस्रो केस

बि.स ०७७ वैशाख ३० गते रामेछापबाट काठमाडौं आएका दाजूभाइको पीसीआर परीक्षण गराउँदा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि मैतिदेवी मन्दीर र घट्टेकुलो चोकको प्रहरी बिटबाट उत्तरपूर्वको ५० मिटरको क्षेत्रलाई सिल गरिएको थियो । उनको उपचार शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको थियो ।

सन् २०१९ को नोभेम्बरमा चीनको वुहान सहरबाट कोरोना भाइरस कोभिड १९ को उत्पती भएको हो । त्यस यता हालसम्म विश्वका सबै जसो देशमा यसको प्रभाव परेको छ । करोडौं नागरिकहरु कोभिड संक्रमणबाट पिडित भएका छन् भने लाखौंले ज्यान गुमाएका छन् ।

नेपालमा पनि कोरोनाका पहिलो संक्रमण ०७६ माघ १० गते पुष्टि भएको थियो । चीनबाट फर्केका एक नेपाली तन्नेरीमा कोरोना पुष्टि भएको थियो । कोरोनाको त्रासले नेपालका अस्पतालहरु सुरुवाती चरणमा बिरामी हेर्न तयार थिएनन् । निजी अस्पतालहरुले मुल गेट बन्द गरेका थिए । सरकारी अस्पतालहरु ज्वरोका बिरामी भन्ने बित्तिकै परैबाट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पठाउँथे ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु देशको एक मात्रै सरुवारोग अस्पताल हो । जुन आफै बिरामी जस्तो थियो । देशभरका अस्पताल बिरामी लिन तयार नभएका बेला टेकुले पहिलो दोस्रो र तेस्रो केस ‘ह्यान्डिल’ गरेको थियो । अस्पतालका चिकित्सकहरु भन्छन्, ‘जुन समय विश्वनै अन्धकारमा थियो । सुरक्षाका कुनै मापदण्डबारे जानकारी थिएन । विश्व स्वास्थ्य संगठनले मिनेटै पिच्छे बोली फेरिरहेको थियो ।’,

विगत सम्झिदा सपना जस्तो लाग्छ । तर, कोरोनाले संसारै आतंकित बनाउँदा जोखिम मोलेर केस ‘ह्यान्डिल’ गरेको टेकुले स्वास्थ्य मन्त्रालयको रबैयाका कारण आफूसँग भएका स्वास्थ्य जनशक्ति कटौतीमा मार खेप्नु परेको छ । उच्च स्रोतले बताए अनुसार एक जना प्रमुख विशेषज्ञलाई सम्मान दिन नसक्दा कोरोनामा नागरिकको ज्यान बचाउने अस्पतालले भारी कर्मचारी कटौतीको मार खेप्नु परेको छ ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वकर्ता नै गलत परेपछि राम्रो फलको आस गर्नु नै गलत भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई टेकु अस्पतालले सम्मान दिन नसक्दा अस्पतालले कोरोनाकालमा काम गरेका जनशक्तिको कटौलीको मार खेप्नु परेको हो । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार लोहनी केही पहिला टेकु अस्पताल पुगेका थिए । तर, उनलाई चिकित्सकले कुनै मतलव गरेका थिएनन् । त्यही बेला डा. लोहनी रिसाएर मन्त्रालय फर्किएका थिए । ‘त्यसको रिस अहिले कर्मचारीको भारी कटौती गरेर देखाएका छन्’, एक अधिकारीले स्वास्थ्य लाइभलाई भने । प्रशासनतर्फको अबुझ सचिवको हातमा मन्त्रालय पर्दापनि समस्या देखिएको छ । कोरोनाको चौथो छाल सुरु भएको छ । दैनिक ३ सय भन्दामाथि केस देखिन थालेका छन् । कर्मचारी थप गर्ने समय आएको छ । यस्तो बेला विभागीय मन्त्रालयका जिम्मेवारी सम्हालेकी सचिव देवकुमारी गुरागाईं नमस्कार मात्रै खाएर बसेकी छन् ।

बिरामी रिफर गर्नुपर्ने अवस्थामा अस्पताल

विगतमा देशभरका अस्पतालबाट रिफर भएर टेकु पुग्ने बिरामी अब भने टेकुबाट अन्यन्त्र जानुपर्ने अवस्था आएको छ । एक जना गलत नियत राखेका सन्की व्यक्तिको नेतृत्वमा मन्त्रालय पुग्दा यस्तो अवस्था सृजना भएको अधिकारीहरु बताउँछन् ।

साउन १ गतेबाट करारमा राखिएका सबै कर्मचारीलाई निकालिएको छ । असार ३१ गते स्वास्थ्य मन्त्रालयले एक निर्णय गर्दै पहिलो नम्बरमै कोभिडको डेडिकेटेट अस्पतालको रुपमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललाई राखिएको छ । तर, कर्मचारी निकालेर कस्तो सेवा दिन खोजीएको हो कसैसँग उत्तर छैन ।

टेकु अस्पतालमा सरुवारोग विज्ञ अर्थात ट्रपिकल मेडिसिनको दरबन्दी २ वटा रहेको छ । तर, दुवै दरबन्दी खाली छ । सामान्य चिकित्सक सेवाका लागि २ वटा दरबन्दी रहेकोमा दुवै रिक्त छ । मेडिकल अधिकृत ७ जना स्वीकृत दरबन्दी रहेकामा ५ जना कार्यारत छन् । उक्त संख्या मध्ये पनि ३ जना अध्ययन विदामा छन् । बाँकी २ जना विशेषज्ञ पढाइ सकाएर आएका छन् उनीहरुले मेडिकल अधिकृतको काम गर्दैनन् । २ जना फाजिलमा कार्यरत छन् ।

वरिष्ठ नर्सिङ अधिकृत २ दरबन्दी रहेकोमा १ जना मात्रै कार्यरत छन् भने १ जनाको स्थान खाली छ । स्टाफ नर्स ३६ जना दरबन्दी रहेकोमा ३२ जना कार्यरत छन् । २ जना असाधारण विदामा छन् । बाँकी ४ जना खाली छ । सरुवारोग अस्पताल टेकुमा १ जना डाइटिसियनको दरबन्दी रहेकोमा त्यो पनि खाली छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण सुरु भएपछि चिकित्सक, नर्स कार्यालय सहयोगी गरेर ७४ जना राख्न स्वीकृत गरेको थियो । तर, ६६ जना मात्रै कार्यरत थिए । पुन कोरोना बढ्दै गर्दा उनीहरु सबैलाई साउन १ गतेबाट मन्त्रालयले हटाएको छ । ‘कोभिडको डेडिकेटेट अस्पताल तोकेर कर्मचारी हटाउनु भनेको स्वास्थ्य मन्त्रीलाई असफल बनाउने उद्देश्य हो’, एक अधिकारीले भने ।

विगतमा कस्तो थियो अहिले कस्तो छ !

टेकु अस्पताल कोभिडभन्दा अगाडि ६० वेडमा संचालन हुँदै आएको थियो । मन्त्रालयले सोही अनुसारको दरबन्दी दिएको थियो । दिएको दरबन्दी पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको थिएन । अस्पताल अहिले १ सय शय्यामा संचालित छ । विगतमा ३ वेड आइसियू थियो । अहिले २४ वेड आइसियू र सोही मात्रामा भेन्टिलेटर संचालित छ । पिसिआरसहितको प्रयोगशाला थिएन । अहिले पिसिआरसहितको अत्याधुनिक प्रयोगशालाको बिस्तार गरिएको छ । रेडियोलोजीको सेवा २४ घण्टा दिएको थियो कर्मचारी हटाएपछि अब १० देखि ४ बजेसम्म दिन थालिएको छ । खोपलाई नियमित गरिएकोमा अब जनशक्ति अभाव भएपछि बन्द गर्ने क्रममा लगिएको छ । जनावरले टोकेको अवस्थामा दिइने भ्याक्सिन २४ घण्टाबाट अब दिनमा मात्रै चलाइने भएको छ । आइसियू संचालन गर्ने जनशक्ति हटाएपछि पुन ३ वेड मात्रै संचालन हुने भएको छ । पिसिआर परिक्षण बन्द हुने भएको छ ।

कोरोना बढ्न थालेपछि सनकमा हटाइएका जनशक्ति 

चिकित्सक : ३

रेडियोग्राफर : २

ल्याब टेक्निसियन : ५

हेल्थ असिस्टेन्ट : ५

नर्सिङ अधिकृत : १

स्टाफ नर्स : १९

वायो मेडिकल टेक्निसियन : १

सह चालक :२

कार्यालय सहयोगी : ३०

अन्य : २

जम्मा : ६८ जना

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, #प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, #सचिव देवकुमारी गुरागाईं, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यकर्मी कटौती

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com