नेपालको पहिलो डाक्टर, जसले विदेशी डाक्टरलाई विस्थापित गराए


नेपालको पहिलो डाक्टर को होला भन्ने जिज्ञासा सबैमा छ । हामी २१ औं शताब्दीमा आइपुगेका कारण त्यो जिज्ञासा र कौतुहल्ता स्वाभाविक पनि हो । हाम्रो पछिल्लो युवा पुस्ता विगत फर्केर हेर्न चाहँदैन । त्यसैले हामीले नेपालको पहिलो डाक्टरबारे जानकारी गराउने कोशिस गरेका छौं ।

नेपालको पहिलो डाक्टर रत्न दास वैद्य हुन् । राम दास वैद्यका छोरा रत्न दास कलकत्ता कलेजबाट डाक्टर पास गरेर नेपाल आएका थिए । नेपालमा पहिलोपटक डाक्टर पास गरेका वैद्यले नेपाल देशलाई नै खुसी तुल्याएका थिए । वैद्य डाक्टर बनेपछि महिनौं लगाएर विदेशबाट चिकित्सक मगाउनु पर्ने बाध्यता हटेको थियो ।

विदेशबाट चिकित्सक बोलाउँदा लाग्ने खर्च र उपचार सेवा जोड्दा ज्यादै महँगो थियो । तर, नेपालको युवा डाक्टर बनेपछि सबै खाले खर्च जोगिएको थियो । जसबाट राजा र रैती दुबैलाई फाइदा भएको थियो ।

मानवसेवा र रोगीको उपचार कर्मलाई निरन्तरता दिन, राम दास वैद्यका जेठा छोरा रत्न दास वैद्यले परम्परागत आयुर्वेदिक चिकित्सा प्रणाली छाडी पाश्चात्य पद्धती ‘एलोपेथी’ रोजेका थिए । बि.स १९२७ सालमा जन्मिएका रत्न दासले कलकत्ता कलेजबाट डाक्टर सकेर नेपाल फर्केको खबर सरकारी पत्रिका गोरखापत्रले खुसियालीमा सम्पादकीय नै लेखेको थियो ।

बि.स १९५९ सालमा रत्न दास नेपाल फर्किएका हुन् । देशको पहिलो डाक्टर बनेर स्वदेश फर्कनुको सान र मान भनिसाध्य थिएन । त्यो पनि अहिलेको व्यवस्था जस्तो हैन । अहिले देशको नाम जति उच्च बनाएपनि त्यस्ता व्यक्तिको कुनै सम्मान हुँदैन । तर, त्यस बेला राज्यले हेर्ने नजर फरक थियो ।

रत्न दास डाक्टर बनेर स्वदेश फर्कनसाथ महाराज श्री ३ चन्द्र शम्शेरको निजी चिकित्सक भई सेवा सुरु गरे । त्यस अगाडि महिनौं लगाएर विदेशबाट चिकित्सक झिकाउनुपर्ने बाध्यता थियो । जब रत्न दास डाक्टर भए श्री ३ महाराजहरुले विदेशी चिकित्सकभन्दा आफ्नै देशका चिकित्सकलाई बढी विश्वास गर्न थाले ।

चन्द्र शम्शेर क्षयरोगका बिरामी थिए । डा रत्न दासले चन्द्र शम्शेरको २८ वर्ष निजी चिकित्सक भएर सेवा गरे । त्यस बेला चन्द्र शम्शेर लामो बाच्नुको श्रेय नेपालका पहिलो डाक्टर रत्न दासलाई जान्छ ।
महाराज चन्द्र शम्शेरको चिकित्सकको हैसियतका कारण नै बि.स १९६४ साल चैत २५ गते काठमाडौंबाट निस्केको बेलायत भ्रमणदलमा उनका भाइ भतिजा छोराहरुमा जुद्ध, रुद्र, मोहन, बबर, केशर, सिंह, हिरण्य शमशेर, ज्वाँइ जयपृथ्वीबहादुर सिंह, मामा खलकका विभिन्न व्यक्तिहरुका साथै निजी सचिव रिचमान सिंह र उहाँको सहायक शम्शेरमान सिंह, वैद्यमा नेपालको पहिलो एलोपेथी डाक्टर रत्न दास वैद्य त्यस्तै दरबार हाइस्कुलका हेडमाष्टर वटु कृष्ण मैत्रय, पण्डित काशिनाथ तथा अन्य १९ जना सहयोगीहरु साथै लिएर गएका थिए ।

डाक्टर रत्न दासको ३८ वर्षमा तीन विवाह

डाक्टर रत्न दासको पहिलो विवाहबाट एक छोरा र एक छोरीको जन्म भएको थियो । छोराको १० वर्षको उमेरमा बिफरले मृत्यु भयो । छोराको मृत्युपछि दोस्रो विवाह गरेका थिए । दोस्रो विवाहबाट दुई छोरी मात्रै जन्मिएका थिए । तर, उनलाई जसरी पनि छोराको आवश्यकता थियो ।

छोराको आवश्यकता पूरा गर्न रत्न दासले पुनः तेस्रो विवाह गरे । डाक्टर रत्न दासले बि.स १९६५ सालमा काठमाडौं बाँँगे मुडा निवासी मथुरा देवीसँग विवाह गरे । त्यस बेला डा. रत्नको उमेर ३८ वर्षको थियो । यता श्रीमती मथुरा देवीको उमेर १६ वर्षको थियो ।

मथुरा देवीसँग विवाह भएको १० वर्षपछि पहिलो छोरा रघुवरको जन्म बि.स १९७५ सालमा भयो । दोस्रो छोरा भरतको बि.स १९७७ सालमा भयो । त्यस्तै तेस्रो छोरा हुतरामको बिस १९७९ सालमा भएको र कान्छी छोरी उमाको बि.स १९८१ सालमा भएको हो । महाराज चन्द्र शम्शेरको निधन भएको चार वर्षपछि अर्थात् बि.स १९९० सालमा ६३ वर्षको उमेरमा रत्न दासको पनि निधन भएको थियो ।
क्षयरोगी चन्द्र शम्शेरलाई उपचार गरेर ६६ वर्षसम्म बचाएका रत्न दास भने उनीभन्दा तीन वर्ष कम उमेरमा मरेका थिए ।

क्याटेगोरी : जीवनशैली, विचार, समाचार
ट्याग : ##नेपालको पहिलो डाक्टर, #एलोपेथी, #चन्द्र शम्शेर, #रत्न दास वैद्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com