कोरोनाकालका अनधिकृत भाडामा लगाएको त्रिभुवन पार्कको जग्गा छानबिनका लागि अख्तियार पठाइयो


काठमाडौं ।  कोरोनाकालका अनधिकृत भाडामा लगाएको थानकोटस्थित त्रिभुवन पार्कको जग्गाको विषयमा बनेको प्रतिवेदन छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको निर्देशनमा ५० रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा लगाउने शहीद प्रतिष्ठानको निर्णयमाथि थप छानबिन गर्न अख्तियार पठाइएको हो ।  तालुक मन्त्रालयको पूर्व सहमति नलिई प्रतिष्ठानले निजी कम्पनीलाई पन पार्कका लागि त्रिभुवन पार्कको जग्गा भाडामा लगाएको छानबिन प्रतिवेदनको निष्कर्ष रहेको छ ।

प्रतिष्ठानले श्री एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई  जग्गा भाडामा लगाउन गरेको सम्झौता रद्द गर्न प्रतिवेदनमा सुझाव दिइएको छ । पर्यटनमन्त्री श्रेष्ठको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव विनोद कुमार भटृराईको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन मन्त्रालयले आज अख्तियार पठाएको हो ।

स्वास्थ्य लाइभले कोरोनाकालका त्रिभुवन पार्कको जग्गा अनधिकृत रुपमा कौडीको भाउमा निजी कम्पनीलाई भाडामा लगाएको तथ्य उजागर गरेपछि पर्यटनमन्त्री श्रेष्ठले विशेष चासोका साथ छानबिन समिति बनाउन प्रस्ताव गरेका थिए । समितिले बुझाएको प्रतिवेदन जस्ताको त्यस्तै अख्तियार पठाइएको हो । स्वास्थ्य लाइभमा उक्त समाचार प्रकाशित भएपछि अख्तियारले पर्यटन मन्त्रालयसँग पनि यो विषयमा जवाफ मागेको थियो ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #त्रिभुवन पार्क फन पार्कलाई भाडामा, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com