प्रसूति गृह ६४ वर्षमा प्रवेश

शिशुलाई एक वर्षमा ९० हजार बढी डोज खोप, ३७ प्रतिशत आमाको शल्यक्रिया मार्फत बच्चा जन्माईयाे


काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)ले एक वर्षमा  ९० हजार २७७ डोज खोप शिशुहरुलाई लगाएको छ । कोरोनाविरुद्धको खोप लगाउन केन्द्र तोकिएकोमा गत आबमा ४०,४३० डोज भ्याक्सिन लगाईएको थियो भने नियमित तर्फ वि.सी.जी., रोटा, जेईलगायत ९० हजार २७७ डोज खोप शिशुहरुलाई लगाईएको अस्पतालको तथ्यांक छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आजबाट ६४ वर्षमा लागेको छ । विकास समिति गठन आदेश ऐन अन्तर्गत २०६४ साल असोज १३ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नामकरण भै आजबाट ६३ औं वर्ष पार गरेको छ । यस एक वर्षमा अस्पतालले ३७ प्रतिशत आमाको चिरेर शल्यक्रिया गरेको छ ।

अस्पतालका निर्देशक प्राध्यापक डा. अमिरबाबु श्रेष्ठका अनुसार सीमित साधन र श्रोतका बावजूद अस्पतालमा २०७८/७९ मा कुल ३३,८५५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६,६०५ तथा स्त्रीरोग तर्फ ४,९३० जनाले सेवा लिएका थिए । साथै नवजात शिशु सघन उपचार तर्फ २,३१८ र मातृ सघन उपचार तर्फ ४२८ भर्ना भएका थिए ।

गत आर्थिक वर्ष २०७८÷७९ मा प्रसूति तर्फ भर्ना भएका २६,६०५ मध्ये २४,३६९ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको थियो । ‘जसबाट २४,५९३ जना शिशुको जन्म भएको कुरा जानकारी गराउन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको छु’, डा. श्रेष्ठले भने । जसमध्ये ९,११८ जनाको शल्यक्रिया अर्थात सिजरियन सेक्सन भएको थियो । शल्यक्रियाको संख्या भनेको ३७ प्रतिशत हो । यता स्त्रीरोग गाईनोकोलोजी शल्यक्रिया तर्फ गत आर्थिक वर्ष २०७८/७९ मा २,७९१ जनाको शल्यक्रिया भएको थियो ।

बि.स. २०१६ साल भाद्र १० गते श्री कृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट परोपकार संस्थाले स्थापना गरेकोे थियो । अस्पताल कालान्तरमा विकास समिति गठन आदेश ऐन अन्तर्गत २०६४ साल असोज १३ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नामकरण भएको हो ।

मुलुकको एकमात्र प्रसूति सेवा प्रति दत्तचित्त रहेको यो केन्द्रिय विशिष्टीकृत अस्पतालले विभिन्न बाधा व्यवधान, आरोह–अवरोहका वीचमा नेपाल र नेपालीको मातृ शिशु स्वास्थ्यको क्षेत्रमा अमिट छाप पार्न सफल भएको छ । नेपालकै मातृ शिशु तथा नवजात शिशु स्वास्थ्यसँग सम्बन्धित विभिन्न तालिम तथा कार्यक्रण को लागि यो अस्पताल केन्द्र बिन्दुको रुपमा स्थापित हुन सफल भएको छ ।

४० शय्याबाट सुरु भै हाल स्वीकृत शय्या संख्या ४१५ भएतापनि बिरामीको चाप लाई मध्यनजर गरि ४८९ शय्या संचालन मा रहेको अवस्था छ । यसको मुख्य कारण यो अस्पतालको शय्या अभावका कारण कहिल्यै बिरामी नफर्काउने नीति नै हो । साथै कहिले काहि अस्थायी शय्याको व्यवस्था गरेर पनि बिरामीको चापलाई व्यवस्थापन गर्दै आएको छ ।

नेपालमा रहेको उच्च मातृ मृत्यु दर तथा शिशु मृत्यु दरलाई कम गर्न नेपाल सरकारले लागु गरेकोे आमा शुरक्षा कार्यक्रम तथा नवजात शिशु उपचार कार्यक्रम लाई यस अस्पतालले सुरु देखि नै कार्यन्वयन गर्दै सफल कार्यान्वयन गराउन यस अस्पतालको अहम भूमिका रहेको छ ।

अस्पतालले बताए अनुसार दूर दराजका अति दुर्गम जिल्लाका महिलाहरु उपचारबाट बन्चित नहुन भन्ने विशुद्ध भावनाका साथ स्थापना भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निशुल्क हवाई उद्धार सेवाबाट उद्धार गरी ल्याएका यस वर्ष ४७ जना महिलाको उपचार गरिएको छ ।

त्यस्तै महिलाहरुको आफ्नो प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्दै लैंगिक हिंसाबाट पिडित महिलाहरुको लागि अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट  व्यवस्थापन केन्द्र (ओ.सी.एम.सी.) बाट गत आ.ब.मा १३८ जना विभिन्न लैंगिक तथा यौन हिंसा बाट पिडित महिलाले सेवा लिएका छन । यस अस्पतालले पीडित महिलाहरुको आवश्यक उपचार गरि उचित व्यवस्थापन तथा परामर्शका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरि उचित पुर्नस्थापनाको समन्वय समेत गर्दै आएको छ ।

नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दै यस अस्पतालमा पूर्ण स्तनपान नीति लागु गरि बट्टाको दुध पूर्णत निषेधित गरिएको छ । अस्पतालमा बट्टाको दुध पूर्णत निषेधित गराउन तत्कालिन निर्देशक डा संगिता मिश्राको ठुलो हात छ । साथै यसै वर्ष यस अस्पतालले नेपाल सरकार बाट तोकिएका विभिन्न २० सूचकांक पूर्ण हासिल गरि मात्री शिशु मैत्री अस्पतालमा दर्ज भएको छ ।

यस केन्द्रमा आमाको दुधलाई संक्रमणमुुक्त गरि ६ महिनासम्म भण्डारण गरेर आश्यकता अनुसार शिशुहरुलाई खुवाउन मिल्नेछ । यो केन्द्रको नेपाली नामकरण अमृत कोष रहेको छ ।

यस आमाको दुध भण्डारण केन्द्र अर्थात ह्युमन मिल्क बैँकबाट आमाको दुधबाट बन्चित शिशुहरू प्रत्यक्ष लाभान्वित हुनेछन । यसको सफलता बाट नेपालको उच्च शिशु मृत्यु दरमा कमि ल्याउन अवश्य सहयोग मिल्नेछ । निकट भविस्य मै यस्ता केन्द्रहरु देशका सातै प्रदेश हरुमा स्थापना हुने विश्वास लिएको डा. श्रेष्ठको भनाइ छ ।

आर्थिक विवरण संक्षेपमा 

नेपाल सरकारबाट अस्पतालको लागि पुँजीगत तथा संचालन खर्च जम्मा ५१ करोड ७६ लाख ५३ हजार विनियोजित भै निकाशा प्राप्त भएकोमा ५० करोड १३ लाख खर्च भएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत १४ करोड २५ लाख १ हजार प्राप्त भएकोमा १४ करोड १५ लाख २० हजार खर्च भएको छ ।

नवजात शिशु निशुल्क उपचार खर्चको लागि रु. १ करोड १५्र लाख प्राप्त भएकोमा १ करोड ८६ लाख ८४ हजार खर्च भएकोले अपुग ७१ लाख ८४ हजार अस्पतालको आन्तरिक श्रोतबाट खर्च गरिएको छ ।

सेवा विस्तार तथा अध्यन अनुसन्धान को लागी बहुउद्देश्यिय भवन निर्माणका लागि ११ करोड ९० लाख प्राप्त भएकोमा १० करोड ६४ लाख १६ हजार खर्च भएको छ ।

परिवार नियोजन सेवाको लागि १५ लाख निकासा प्राप्त भएकोमा ३ लाख ६५ हजार खर्च भएको छ । गर्भपतन सेवा को लागि २० लाख विनियोजन भएकोमा १६ लाख ४ हजर खर्च भएको छ । पाठेघर खस्ने रोग को लागि प्राप्त २५ लाख मध्ये २० लाख ९ हजार खर्च भएको छ ।

साथै यसै आर्थिब वर्ष देखि देशकै पहिलो वृहत स्तनपान व्यवस्थापन केन्द्रको स्थापना तथा संचालनको लागि प्राप्त १ करोड ९ लाख ६९ हजार को निकासा प्राप्त भएकोमा १ करोड ९ लाख १६ हजार खर्च भएको छ ।

कोभिड १९ व्यवस्थापन सम्बन्धमा जोखिम भत्ता वितरण र अन्य कोभिड व्यवस्थापन खर्च गर्न जम्मा १ करोड १ लाख ६३ हजार विनियोजन भएकोमा १ करोड १ लाख ३८ हजार कोभिड १९ को नीति निर्देशन बमोजिम खर्च भएको छ ।

अस्पताल विकास समिति तर्फबाट कूल आम्दानी २८ करोड ३९ लाख ८१ हजार भएकोमा अस्पताल संचालनको लागि २५ करोड ३१ लाख ४५ हजार रकम खर्च भै ३ करोड ८ लाख ३६ हजार अस्पतालको जगेडा कोषमा जम्मा भएको निर्देशक अमिरबाबु श्रेष्ठले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रसूति गृह, #६४ वर्षमा प्रवेश

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com