स्वास्थ्य लाइभ प्रभाव

ओमका अध्यक्ष डा. आनन्दकी श्रीमती सूर्यकुमारीको समूहले हडपेको अवैध संरचना हटाउन थालियो


काठमाडौं । नयाँ बानेश्वरस्थित मुख्य सडकसँग जोडिएको महादेव मन्दिरको जग्गामा अतिक्रमण गरी बनाइएको अवैध संरचना हटाउन थालिएको छ । ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठकी श्रीमती सूर्यकुमारीको समूहले उच्च अदालत, पाटनबाट मुद्दा हारेपछि उक्त अनधिकृत संरचना भत्काउन थालिएको हो ।

स्वास्थ्य लाइभले सूर्यकुमारी श्रेष्ठको नेतृत्वमा रहेको महिला आदर्श सेवा केन्द्रले ४० वर्षदेखि रजाइँ गरिरहेको खुलासा गरेपछि उक्त समूह ब्याक भएको हो । गंगादेवी चुचोल टोल सुधार समितिले वर्षेदेखि मुद्दा लडेर काठमाडौं महानगरपालिका र जिल्ला अदालतबाट पनि भत्काउन आदेश ल्याएको थियो । तर, सूर्यकुमारीको समूह कानुनी छिद्र खोज्दै उच्च अदालत पाटन पुग्यो । काठमाडौं महानगरपालिकाको विद्यासुन्दर शाक्यसहितका तत्कालीन जनप्रतिनिधिले आलटाल गर्दा भत्काउने आदेश कार्यान्वयन हुन सकेन । स्वास्थ्य लाइभसहितका सञ्चार माध्यममा उक्त तथ्य सार्वजनिक भएपछि बल्ल अनधिकृत संरचना भत्काउने काम सुरु भएको छ ।

राजधानीको मुटु नयाँ बानेश्वर जस्तो ठाउँको मुख्य सडकमा जोडिएको झन्डै १ रोपनी जग्गामा सूर्यकुमारीको समूहले रजाइँ गरिरहेको थियो । सिद्धेश्वर महादेवको उक्त जग्गा हडपेर रजाइँ गरिरहेको कुरा बाहिर आएपछि हतारहतार चाबी हस्तान्तरणको नाटक मञ्चन गर्ने काम समेत भयो । स्वास्थ्य लाइभसहितका सञ्चार माध्यमले नियमित रूपमा महादेव मन्दिरको उक्त जग्गामाथि भएको अत्याचार सार्वजनिक गरेपछि अहिलेको अवस्था आएको स्थानीय किशोर थापा सुनाउँछन् ।

सूर्यकुमारीको समूहबाट जग्गा जोगाउन निरन्तर लडिरहेका थापाका अनुसार महानगर र अदालतमा फैसला लेखनमा समेत चलखेल भएको थियो । महानगरबाटै भत्काउन आदेशको पूर्णपाठ आउन निकै समय लाग्यो । काठमाडौं जिल्ला अदालतमा पनि पूर्णपाठ लेख्ने बेलामा निकै समय लागेको उनी बताउँछन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधिले मुचुल्कामा हस्ताक्षर नगर्दा जिल्ला अदालतले महानगरबाट संरचना भत्काउने आदेश सदर गर्दा पनि नभत्किएको स्थानीय थापाको दाबी छ । उक्त जग्गा स्थानीयहरुले भूमाफिया केशरबहादुर पुरीसँग अदालतमा लडेर जोगाएको हो । तर, भूमाफियाले हडप्छ भनेर नभत्काइएको जिम्मेवार जनप्रतिनिधिले नै अभिव्यक्ति दिएपछि स्थानीयहरू रुष्ट छन् ।

काठमाडौं महानगरपालिकाले भत्काउन सुरु गरेको उक्त अनधिकृत संरचना पूर्ण रुपमा भने भत्किसकेको छैन । सूर्यकुमारीको समूहसँग भाडामा लिएको जेनिश पेन्ट्सको व्यापार चलिरहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले महिला आदर्श सेवा केन्द्रबाट चाबी बुझेको १ महिना पछाडि अनधिकृत संरचना भत्काउन सुरु भएको हो । यो संरचना पूर्ण रुपमा नहटे र उचित तरिकाले संरक्षण नभएसम्म स्वास्थ्य लाइभले निरन्तर फलोअप गर्नेछ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## सरकारी जग्गा, #महादेव मन्दिर, #महिला आदर्श सेवा केन्द्र, #सूर्यकुमारी श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com