अब डाक्टरले चिकित्सक संघको केन्द्रीय कार्यालयबाटै राष्ट्रिय परिचयपत्र पाउने


काठमाडौं । अब डाक्टरहरुले नेपाल चिकित्सक संघले केन्द्रीय कार्यालय प्रदर्शनीमार्गबाटै राष्ट्रिय परिचयपत्र बनाउन पाउने भएका छन् ।

नेपाल चिकित्सक संघका अनुसार भाद्र ७ गतेदेखि असोज ७ गतेसम्म एक महिनासम्मका लागि चिकित्सक (डाक्टर)हरूले संघको केन्द्रीय कार्यालयमा आएर राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् ।

शनिबार समेत चिकित्सकहरुले चिकित्सक संघको केन्द्रीय कार्यालयमा गएर राष्ट्रिय परिचयपत्र बनाउन सक्ने संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य लाइभलाई जानकारी दिए । उनका अनुसार नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय, काठमाडौंको अनुरोधमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले संघकै कार्यालयबाट चिकित्सकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन  प्रबन्ध मिलाएको हो ।

सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चिकित्सकहरुले संघको केन्द्रीय कार्यालयमा आएर राष्ट्रिय परिचयपत्र बनाउन सक्ने छन् । चिकित्सकहरूलाई शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाइएको संघले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि गुगलमा गएर  http://www.nidmc.gov.np/PreEnrollment/ टाइप गरी आवेदन दिन सकिने छ ।

 

 

राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र अनिवार्य रुपमा लिएर जानुपर्ने छ । विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र (सक्कल) वा नाता खुल्ने प्रमाणपत्र अनिवार्य (जस्तो छोरा वा छोरीको जन्मदर्ता) लिएर जानुपर्ने छ ।

बसाईसराई गरेको हकमा सक्कल प्रमाणपत्र अनिवार्य लिएर जानुपर्ने हुन्छ । नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाईसराईको कागजत हालको स्थानीय तहको वडा नम्बर समेत राखेर ल्याउनु पर्ने छ ।

राष्ट्रिय परिचयपत्र बनाउन आउँदा एकल महिला वा विदुरको हकमा मृत्यु दर्ताको प्रमाणपत्र अनिवार्य लिएर आउनु पर्ने छ । सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेदको प्रमाणपत्र अनिवार्य रुपमा साथमा लिएर आउनु पर्ने छ ।

नागरिकता प्रमाणपत्रको जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र र नागरिकता प्रमाणपत्रमा अंग्रेजीमा नाम नखुलेको भए सम्भव भएसम्म अंग्रेजीमा नाम खुल्ने कागजात लिएर आउनु पर्ने छ । राहदानी लिएको हकमा सम्भव भएसम्म सक्कल राहदानी लिएर आउनु पर्ने नेपाल चिकित्सक संघले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ(एनएमए), #राष्ट्रिय परिचयपत्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com