नर्भिक अस्पतालदेखि नविल बैंकसम्म चौधरी ग्रुपको अवैध ‘धन्दा’

पार्किङ बनाउन स्वीकृति लिएको ठाउँमा धमाधम संरचना र व्यवसाय


काठमाडौं । चौधरी ग्रुपले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालदेखि नविल बैंकसम्म अवैध तथा अनधिकृत ‘धन्दा’ चलाइरहेको खुल्न आएको छ ।

वसन्त कुमार चौधरीको स्वामित्वमा रहेको नर्भिक अस्पतालले सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृति बेगर अवैध संरचना बनाएको तथ्य सेलाउन नपाउँदै नविल बैंक पनि अधिकृत रुपमा चलिरहेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख(मेयर) वालेन्द्र शाह  (बालेन) बुधबार अवैध संरचना भत्काउने शिलशिलामा न्यूरोड पुगेपछि नविलको अवैध ‘धन्दा’ फेला परेको हो ।  पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा नविल बैंकले शाखा कार्यालय रहेको पाइएपछि मेयर बालेनले बेसमेन्टमा बनाइएका संरचना हटाउन नविललाई निर्देशन दिएका छन्  ।

एकातिर पार्किङ प्रयोजनका लागि सरकारसँग सरकारी जग्गा कौडीको भाउमा भाडामा लिएर चौधरी ग्रुप अन्तर्गतको नर्भिकले अवैध रुपमा एमआरआई, अक्सिजन प्लान्टलगायत पक्की संरचना बनाएको छ । अर्कातिर यो वर्ष झन्डै ५ अर्ब नाफा कमाएको त्यहीँ ग्रुप अन्तर्गतको नविल बैंकले न्यूरोड जस्तो ‘प्राइम लोकेसन’मा पार्किङ प्रयोजकका लागि स्वीकृति लिएको ठाउँमा शाखा कार्यालय चलाएको खुल्न आएको छ । यसले विनोद चौधरी, वसन्त चौधरीलगायतको व्यवसायी इमान्दारितामाथि मात्र प्रश्न उठेको छैन चौधरी ग्रुप राज्य संयन्त्रलाई चुनौती दिँदै अवैध रुपमा अगाडि बढिरहेको देखाउँछ ।

नर्भिक अस्पताल र नविल बैंकको पछिल्लो घटनाले चौधरी ग्रुप पार्किङका नाममा सुविधा लिएका ठाउँहरुमा अनधिकृत व्यवसाय गर्नेमा अंग्रस्थानमा देखिएको छ । नर्भिक अस्पताल चौधरी ग्रुप अन्तर्गत नरहेको नर्भिकका कर्मचारी स्वास्थ्य लाइभसँग दाबी गर्दै आएका छन् । तर स्वास्थ्य लाइभसँग नर्भिक र चौधरी ग्रुपबीच साइनो र सम्बन्ध खुल्ने कागजात सुरक्षित छ ।

नर्भिक र नविललगायत चौधरी ग्रुप अन्तर्गतका कम्पनीहरू एकपछि अर्को अवैध संरचनामा रहेको खुल्न थालेपछि अन्य संरचनाहरूमाथि पनि अध्ययन गर्न जरुरी देखिन्छ ।

काठमाडौं महानगरपालिका मेयर बालेनले नर्भिक र नविल बैंक रहेको अवैध संरचना हटाउन निर्देशन दिएका छन् । अन्य संरचनाको विषयमा पनि खोजबिन गर्न आवश्यक छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #नर्भिक, #नविल बैंक, #वसन्त कुमार चौधरी, #विनोद चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com