कोरोनाको मौका छोप्दै एमाले नेता घिसिङले सरकारी जग्गा हडपेको खुलासा


काठमाडौं । कोरोना भाइरस ( कोभिड-१९ )को संक्रमण र लकडाउनको मौका छोप्दै नेकपा एमाले नेता हेमराज घिसिङले सरकारी जग्गा हडपेको खुल्न आएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोर देवीनगरस्थित आधा रोपनी बढी जग्गा एमाले नेता हेमराज घिसिङ र भूमाफिया इन्द्र कुमार चाम्लिङले हडपेको खुल्न आएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का अनुसार एमाले नेता घिसिङले काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ६६ र १०७ मा पर्ने सरकारी/सार्वजनिक जग्गा हडपेर घर/टहरा बनाएका छन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको मौका छोप्दै उक्त सरकारी/सार्वजनिक कित्ता उल्लेख जग्गामा ४ तले पक्की घर बनाएकाे वडा कार्यालयले जनाएको छ ।

सिन्धुली जिल्लाको पूर्व जिल्ला विकास समिति उपसभापति समेत रहेका एमाले नेता घिसिङले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश पहाडी र एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख समेत रहेका योगेश भट्टराईको संरक्षणमा सरकारी जग्गामा संरचना बनाएको जानकारहरू बताउँछन् । सिन्धुलीबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित पहाडी सामान्य प्रशासनमन्त्री भएको बेला पहाडीले उनकै आडमा सरकारी जग्गामा संरचना बनाउने आँट गरेका हुन् । उनी योगेश भट्टराईका विश्वासपात्र हुन् ।

पहाडीले घिसिङलाई संरक्षण गरेका कारण लकडाउनमै उनले कित्ता नम्बर ६६ र १०७ मा रहेको सार्वजनिक जग्गा हडपेर संरचना बनाएको खुल्न आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सरकारी किटान गरेको उक्त जग्गामा एमाले नेता घिसिङले घर बनाएर भाडा खाइरहेका छन् ।

एमाले पार्टीबाट टिकट लिएर सिन्धुलीबाट चुनाव लड्न लागेका घिसिङले आफ्नो जग्गा हुँदाहुँदै सरकारी जग्गा हडपेका हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेललाई समेत पछि पार्दै एमाले नेता घिसिङले सरकारी जग्गा हडपेका हुन् ।  मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश झा अहिराजलाई समेत नापीको फिल्डबुकमा धोबीखोला उल्लेख भएको जग्गा बेच्न सफल घिसिङले सरकारी जग्गा मै संरचना बनाएको देखिन्छ । अहिराजले नेता घिसिङमार्फत उनको छोरीको नाममा रहेको जग्गा किनेको दाबी गरेका थिए ।

 

काठमाडौं महानगरपालिका वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले सरकारी जग्गा हडपेर घर बनाउने एमाले नेता घिसिङलाई सप्रमाण उपस्थित हुन पत्र काटिसकेका छन् । तर उनी वडा कार्यालयमा उपस्थित भएर प्रमाण पेश गर्नुको साट्टो शक्ति केन्द्र धाइरहेको पाइएको छ । सरकारी जग्गा हडप्ने एमाले नेता घिसिङ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै त्यो बालेनले के गर्न सक्छर भन्दै हिँड्न थालेको स्थानीयहरू सुनाउँछन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## इन्द्र चाम्लिङ, ## सरकारी जग्गा, #एमाले नेता हेमराज घिसिङ, #गणेश पहाडी, #बालेन, #योगेश भट्टराई, #रामकुमार केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com