कोरोनामा सरकारी जग्गा हडप्ने भूमाफिया इन्द्र चाम्लिङ भाडा मात्रै १० लाख उठाउँछन्

१० जना बढीलाई जग्गा बेचे, घर मात्रै छन् १५ वटा, ११ वटा घर सरकारी जग्गामा 


काठमाडौं । बानेश्वर देवीनगरस्थित सरकारी जग्गा हडपेर आफ्नो सम्राज्य खडा गरेका भूमाफिया इन्द्रकुमार चाम्लिङले मासिक १० लाख भाडा उठाइरहेको खुल्न आएको छ ।

भोजपुरको बैकुण्ठे गाविसको सामान्य परिवारमा जन्मिएका भूमाफिया चाम्लिङले काठमाडौंको देवीनगर र अनामनगरमा १५ वटा घर बनाएका छन् । त्योमध्ये ११ वटा घर त सरकारी जग्गामै बनाएको खुल्न आएको छ ।

स्वास्थ्य लाइभको खोजीमा भूमाफिया चाम्लिङको काठमाडौं महानगरपालिका वडा नम्बर २९ धोबीखोला करिडोरमा ३ वटा घर फेला परेको छ । त्यो घर अनामनगरमा र मदन भण्डारी कलेज जोड्ने धोबीखोलामाथि नयाँ बन्दै गरेको पक्की पुलसँगै रहेको छ । दुईवटा घर त नक्सापास र मापदण्डविपरीत बनेको छ । त्यो पनि रावल आयोगले सरकारी देखाएको जग्गामा ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर धोबीखोला करिडोर अनामनगरको पारी पट्टीको क्षेत्रमा भूमाफिया चाम्लिङले १२ वटा घर छन् । त्योमध्ये ११ वटा घर सरकारी जग्गामा परेको छ । १५ जना बढीलाई जग्गा बेचिसकेका भूमाफिया चाम्लिङले आफ्नो जग्गा बेच्दै सरकारी जग्गा कब्जा गरेर घर बनाउँदै गरेको पाइन्छ ।

कतिसम्म भने सेतोपुल नजिकै रहेको २ आना जग्गालाई ५ आनाको पूर्जा बनाएर बेच्न भूमाफिया चाम्लिङ सफल भएको वडा कै जनप्रतिनिधि सुनाउँछन् । अहिले काठमाडौं महानगरपालिका वडा नम्बर १० ले संरक्षण गरेको जग्गासँगै रहेको त्यो जग्गामा साढे ५ तले घर बनिसकेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर १९१ र ५७७ नम्बर कित्ता जग्गामा भूमाफिया चाम्लिङले साढे ७ तले घर बनाएका छन् । रावल आयोगले सरकारी/ सार्वजनिक देखाएको ५७७ छोरी स्वोस्तिना चाम्लिङको नाममा रहेको जग्गा र १९१ नेपाल सरकारको जग्गा हडपेर उनले उक्त चाम्लिङ टावर बनाएका हुन् । आग्लो रेष्टुरेन्ट, डिजे मार्ट लगायतलाई भाडामा दिएको उक्त घरबाट मात्र चाम्लिङले सवा ४ लाख भाडा बुझ्छन् । चाम्लिङ टावरसँगै रहेको ४o९ नम्बर कित्ताको सरकारी जग्गामा २ वटा संरचना बनाएका छन् । एउटा टहरो बनाएर मोटरसाइकल वर्कशपसँग मासिक १६ हजार भाडा बुझ्छन् । त्योसँगै अर्को साढे ४ तले घर बनाएर मासिक १ लाख बढी भाडा उठाउँदै आएको स्वास्थ्य लाइभले फेला पारेको छ । भूमाफिया चाम्लिङले बेचेको ४३० नम्बर कित्तामा पनि अर्चना पोखरेलले सरकारी जग्गा हडपेर घर बनाइ राज मोटरसाइकल वर्कशपलगायतलाई भाडामा लगाएको पाइन्छ ।

भूमाफिया चाम्लिङले ६५ नम्बर कित्ताको सरकारी जग्गा हडपेर अर्को २ तले घर बनाएका छन् । कलाकार चौतारी नामको रेष्टुरेन्ट रहेको उक्त घरबाट मात्र भूमाफिया चाम्लिङले करिब ५० हजार बढी भाडा उठाउँदै आएका छन् । त्योसँगै एमाले सिन्धुलीका नेता हेमराज घिसिङसँग मिलेर उनले कित्ता नम्बर ६६,१०७ र ५५२ को सरकारी जग्गामा ४ तले घर बनाएर लाख हाराहारी भाडा उठाउँदै आएको छ । ५५५ र ७७७ नम्बर कित्तामा बनेको हरियो घरबाहेका ५५३, ७७१,७७२ नम्बर कित्ता जग्गा सरकारी हो । तर उनले त्यसमा पनि सटर हालेर झन्डै ५० हजार भाडा खाइरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणमा लगाएको लकडाउनको मौका छोपेर भूमाफिया चाम्लिङले उक्त संरचना बनाएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उक्त अवैध संरचना हटाउन आदेश दिँदा पनि अझैसम्म हटेको छैन ।

त्यो सँगै रहेको ५४९ नम्बर कित्ताको सरकारी जग्गामा पनि दुई तले संरचना बनाएर भूमाफिया चाम्लिङले करिब ५० हजार भाडा खाइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत खाली गराउन निर्देशन दिएको उक्त संरचना काठमाडौं महानगरपालिका तत्कालीन मेयर विद्या सुन्दर शाक्यले हटाउन सकेनन् ।

भूमाफिया चाम्लिङले ४३३ नम्बर कित्तामा रहेको सरकारी जग्गामा बनाएको एक तले टहरो भने आफ्नै भाञ्जी क्षेमारानी राईलाई बेचेको खुल्न आएको छ । युनिक क्याफे भएको उक्त टहरो र रावल आयोगले सरकारी देखाएको ४३४ नम्बर कित्ताको जग्गा भूमाफिया चाम्लिङले क्षेमारानीलाई बेचेको खुलेको हो । देवीनगर कै सुकुम्बासी बस्तीमा पनि भूमाफिया चाम्लिङले ३ वटा घर/टहरा बनाएर १ लाख बढी भाडा खाइरहेका छन् । सुकुम्बासी बस्तीमा बनेको हरियो रङ्गको घर/टहराबाट भूमाफिया चाम्लिङले भाडा खाने गरेका हुन् ।

राज्यलाई एक पैसा पनि कर नतिरी सरकारी जग्गामा घर/टहरा बनाइ भाडामा लगाएर मासिक १० लाख रुपैयाँ कमाउने चाम्लिङसँग राज्य संयन्त्र भने मुकदर्शक बनेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत उनको गैर कानुनी आर्जनमाथि छानबिन गर्न सकेको छैन । सिंहदरबारको छेउमै भूमाफिया चाम्लिङले ३ रोपनी बढी सरकारी जग्गा कब्जा गर्दा र राज्यलाई १ पैसा कर नतिरी मासिक १० औं लाख रुपैयाँ पैसा संकलन गर्दा समेत मुकदर्शक बन्ने राज्य संयन्त्रले अरु कुरामा के गर्ला भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका, प्रहरी प्रशानलगायतका निकायलाई चुनौती दिँदै भूमाफिया चाम्लिङले देवीनगरमा आफ्नै साम्राज्य खडा गरेका छन् ।

काठमाडौं महानगरपालिकाका भूमाफिया चाम्लिङलाई उक्त विषयमा जानकारी गराइसकेकाले अब भने उनले सरकारी जग्गामा बनाएको अनधिकृत संरचनामा ‘बालेनको डोजर’ चल्ने देखिन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## इन्द्र चाम्लिङ, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #धोबीखोला देवीनगर, #रामकुमार केसी, #सरकारी जग्गा हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com