कृष्ण गोपाल फाउण्डेसनले धादिङका विभिन्न ठाउँमा वृहत्त स्वास्थ्य शिविर सञ्चालन गर्ने

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि कांग्रेस नेता इन्द्र बानियाँसम्म सहभागी हुने


काठमाडौं । कृष्ण गोपाल फाउन्डेसनले यहीँ २४ गतेदेखि २८ गतेसम्म धादिङ जिल्लाका विभिन्न ठाउँमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

फाउण्डेसनका अध्यक्ष मदुकुमार श्रेष्ठका अनुसार धादिङ जिल्लाका विभिन्न ठाउँमा यहीँ भाद्र २४ गतेदेखि २८ गतेसम्म ५ दिन वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम तय भएको छ ।

भूकम्प र कोरोना महामारीको समयमा समेत स्वास्थ्य सेवा दिएका नेपाली कांग्रेस धादिङका युवा नेता मदुले दसौं हजारलाई स्वास्थ्य सेवा दिने उद्देश्यले ५ दिने स्वास्थ्य शिविर सञ्चालन गर्न खोजेका हुन् ।

 

स्वर्गीय पिता कृष्ण गोपालको नाममा स्थापित उक्त फाउण्डेसनले भाद्र २४ गते शुक्रबार धुनिवेशी नगरपालिका वडा नम्बर ३ स्थित महेशधर्म माध्यामिक विद्यालय (मा .वि.)मा निःशुल्क आँखा जाँच र स्वास्थ्य उपचार सेवा दिने कार्यक्रम राखेको छ ।

दिउँसो १२ बजेदेखि सञ्चालन हुने स्वास्थ्य शिविरमा निःशुल्क औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम राखिएको फाउण्डेसनका अध्यक्ष मदु कुमार श्रेष्ठले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

त्यस्तै भाद्र २५ गते शनिबार धुनिवेशी-९ स्थित बुद्ध भिजन स्कूलमा स्वास्थ्य शिविर सञ्चालन हुने छ ।११ बजेदेखि सुरु हुने उक्त शिविरमा निःशुल्क आँखा जाँच, हाइड्रोसिल अपरेसन, स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नसाका साथै जनरल चेकअप गरिने व्यवस्था मिलाइएको फाउण्डेसनले जनाएको छ ।

२६ गते आइतबार गल्छी-२ बेलिनटारमा दिउँसो ३ बजेदेखि निःशुल्क आँंखा जाँच र स्वास्थ्य शिविर कार्यक्रम हुँदै छ । त्यस्तै २७ गते समोबार दिउँसो ३ बजे थाक्रे ११ स्थित वेलटारमा निःशुल्क आँंखा जाँच र स्वास्थ्य उपचार शिविर सञ्चालन हुने कार्यक्रम तय भएको फाउण्डेसनका अध्यक्ष श्रेष्ठले बताए ।

२८ गते मंगलबार भने थाक्रे-५ स्थित सामुदायिक भवनमा निःशुल्क आँंखा जाँच र स्वास्थ्य उपचार शिविर कार्यक्रम सञ्चालन हुने भएको छ । अन्तिम दिनको उक्त स्वास्थ्य शिविर १ बजेदेखि सञ्चालन हुने कृष्ण गोपाल पाउण्डेसनका अध्यक्ष मदु कुमार श्रेष्ठको भनाइ छ । हरेक दिनको स्वास्थ्य शिविरमा आवश्यकता अनुसार निःशुल्क औषधि तथा चश्मा वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।

कोरोनाको बेला घरदैलोमा गएर १५/२० लाखको औषधि वितरण गरेका समाजसेवी मदुले हजारौं आँखा रोगीलाई निःशुल्क चश्मा प्रदान गर्दै आएका छन् । यो शिविरमा पनि फाउन्डेसनले नागरिकको स्वास्थ्य उपचार सेवामा ठूलो धनराशी खर्च गर्ने तयारी गरेको छ ।

स्वास्थ्य शिविरमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलगायत प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू उपस्थित भई स्वास्थ्य सेवा लिने र अवलोकन गर्ने कार्यक्रम रहेको आयोजन संस्थाले जनाएको छ । त्यस्तै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर शाह, रविन्द्र खड्कालगायतका फिल्म क्षेत्रको हस्तीहरू पनि स्वास्थ्य शिविरमा सहभागी हुने समाजसेवी श्रेष्ठको भनाइ छ ।

समाजसेवी मदुको फराकिलो हृदयका कारण धादिङका हजारौं जनता ५ दिने निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित हुने भएका छन् । यो नागरिकको स्वास्थ्य उपचार सेवा र स्वास्थ्य क्षेत्रमा उनले गरेको महत्त्वपूर्ण योगदान समेत हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #इन्द्र बानियाँ, #धादिङ स्वास्थ्य शिविर, #भुवन केसी, #मदुकमार श्रेष्ठ, #वृहत्त निःशुल्क स्वास्थ्य शिविर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com