बागमती सरकारले घुमफिर वर्ष मनाउँदै, मेडिकल टुरिजम ‘फोकस’मा


काठमाडौं । मेडिकल टुरिजमलाई ‘फोकस’मा राखेर बागमती सरकारले घुमफिर वर्षको उद्‌घाटन गर्ने तयारी थालेको छ । भोलि चितवनबाट बागमती प्रदेश सरकारले आर्थिक वर्ष  २०७९/८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न लागेको हो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले मेडिकल टुरिजमलाई ‘फोकस’मा मेडिकल टुरिजमलाई ‘फोकस’मा राखेर घुमफिर वर्षको सुरुवात गर्न लागिएको बताए । मेडिकल टुरिजमको हब बन्न सक्ने चितवनबाट मंगलबार घुमफिर वर्षको उद्‌घाटन गर्न लागिएको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

बागमती प्रदेशका विशिष्टता, प्राकृतिक सौन्दर्यता र संस्कृति तथा सभ्यता प्रवर्द्धन एवं पर्यटन विकासका लागि आर्थिक वर्ष २०७९/८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न लागिएको पर्यटनमन्त्री श्रेष्ठले स्वास्थ्य लाइभलाई जानकारी दिए । घुमफिर वर्षको अवसरमा बागमती प्रदेशभित्र मेडिकल टुरिजमको पनि प्रवर्द्धन हुने उनको विश्वास छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा र पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा हुने घुमफिर वर्षको उद्‌घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि आमन्त्रण गरिएको पर्यटन सचिव मदन कोइरालाले जानकारी दिए । त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामासहित विशिष्ट पाहुनालाई घुमफिर वर्षको उद्‌घाटन समारोहमा सहभागी हुन निमन्त्रणा पठाइएको उनको भनाइ छ । उक्त समारोहमा बागमती प्रदेशका सबै मन्त्री, प्रमुख सचिव मुकुन्द निरौलासहितका उच्च कर्मचारीलगायतको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

 

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले कोभिड-१९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि घुमफिर वर्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । घुमफिर वर्षले पर्यटन क्षेत्रलाई राहत दिनुका साथै मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुग्ने उनको दाबी छ ।

घुमफिर वर्ष कार्यान्वयनका लागि संस्कृति तथा पर्यटन मन्त्रालयमा विनियोजित रकम विभिन्न प्रवर्द्धनात्मक कृयाकलाप, प्रचार-प्रसार संस्कृति तथा सभ्यता प्रवर्द्धनका लागि सहयोग आदीमा खर्च गर्ने प्रदेश सरकारको तयारी छ ।

हाल उक्त शीर्षकमा १ करोड बजेट विनियोजन गरिएको र आवश्यकता अनुसार बजेट थप गर्ने तयारी भइरहेको बागमती प्रदेश सरकारले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #घुमफिर वर्ष, #बागमती प्रदेश सरकार, #बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, #मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com