कार्यकक्षमै चुरोट तान्ने सचिव भन्छन्, ‘मलाई फसाउँन खोजियो’,


काठमाडौं । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिक स्थानमा धूम्रपान गर्न निषेध गरेको छ । तर कानुनले सार्वजनिक स्थान भनेर परिभाषा गरेको सरकारी कार्यालय कै कार्यकक्षमा वडा सचिवले चुरोट तानेपछि उनको तस्विर सामाजिक सञ्जाल फेसबुक भाइरल बनेको छ ।

चुरोट तानेको फोटो भाइरल बनेपछि बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ वडा सचिव अजय सिंहले आफूलाई फसाउँन खोजिएको दाबी गर्छन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा सचिव सिंह आफूले कार्यकक्षमा नभई कोठामा चुरोट खाएको दाबी गरेका हुन् ।

नाताले आफ्नो भतिज पर्ने व्यक्तिले चुरोट खाँदै गरेको तस्विर भाइरल बनाएको सुनाउँदै वडा सचिव सिंहले यो कुराले आफू अचम्ममा परेको धारणा राखे । ‘कार्यालयमा वाईफाई नभएकाले नेट चलाउन कोठामा गएको हो । चुरोट खाएको सत्य हो तर कार्यकक्षमा चुरोट तान्दै गरेको फोटो भनेर बाहिर ल्याउदा म अच्चम्ममा परेको छु’, सचिव सिंहले भने ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले आफू कानुन बमोजिम कारबाही भोग्न पनि तयार रहेको बताए । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिक स्थानमा सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा एक सय रुपैयाँ जरिवाना हुन व्यवस्था छ नि भन्ने स्वास्थ्य लाइभको प्रश्नमा वडा सचिव सिंहले कानुन बमोजिमको कारबाही भोग्न र जरिवाना तिर्न तयार रहेको बताएका हुन् ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिक स्थानमा धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्नु पर्ने व्यवस्था रहेको छ । तर, सरकारी कर्मचारीले नै कार्यकक्षमा चुरोट तानेर तस्विर भाइरल बनेपछि उक्त कानुन कार्यान्वयन हुन नसकेको देखिन्छ ।

सचिव सिंहले सार्वजनिक स्थलमा तानेको चुरोटले बझाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयलाई गिज्याइरहेको छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com