प्रसूति गृहसँगैको सुकुम्बासी बस्तीमा डोजर चलाउने बालेनको तयारी 


काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)सँगैको सुकुम्बासी बस्तीमा डोजर चलाउन बालेनले तयारी थालेका छन् । त्यहाँ रहेका वास्तविक सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरेर सुन्दर पार्क बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तयारी थालेका हुन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको गुरुयोजना कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाले थापाथलीबाट डोजर चलाउन खोजेको हो । बागमती नदी किनार थापाथलीमा बसेका वास्तविक सुकुम्बासीको पहिचान गरी उचित स्थानमा व्यवस्थापन गरेर डोजर चलाउने बालेनको तयारी रहेको छ ।

बागमतीको पारीपट्टी ललितपुरतिर पार्क र हरियालीपूर्ण करिडोर रहेको र काठमाडौंपट्टी कुरूप देखिएको भन्दै बालेनले मेयर बनेलगत्तै बस्तीमा डोजर चलाउने योजना बुनेका थिए । अहिले मेयरको उक्त सुन्दर परिकल्पना पूरा गर्ने समय आएको बालेनका एक सहयोगीले स्वास्थ्य लाइभलाई बताए । खोला करिडोर क्षेत्रमा कतिपय धार्मिक संस्थाले समितिसँग सम्झौता नै गरेर संरचना निर्माण समेत गरेका छन् ।

थापाथली क्षेत्रमै रहेको किरियापुत्री भवन, सालिक, मन्दिर, भजन मण्डलीलगायतका संरचनामा बालेनको डोजर चलिसकेको छ । सत्य साई बाबा ध्यान केन्द्र, ओम शान्तिको सभाहल, रुद्रेश्वर मन्दिर, ओम शान्तिको भवनमा बालेनले डोजर लगाएका हुन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको गुरुयोजनाविपरीत अनधिकृत संरचना खडा गरेर कुरुप बनाएपछि समितिकै आग्रहमा महानगरले डोजर लगाएको हो । थापाथलीमा सुकुम्बासीको नाममा अवैध संरचना बनाएर बस्ने कविहरूले ती संरचना भत्काए आफूहरू पनि छोड्न तयार रहेको बताएपछि डोजर लगाएको बालेनको प्रस्टोक्ति छ ।

भूमि सम्बन्धी आयोगले पनि नदी तथा खोला किनारमा सुकुम्बासीलाई जग्गा उपलब्ध नगराईने कानुन बनाएको छ । नदी तथा खोलाको सभ्यता संरक्षण गर्न राज्यले कानुन नै ल्याएकाले मेयर बालेनलाई काठमाडौंका नदी/खोला करिडोरमा बसेका अनधिकृत बस्तीमा डोजर चलाउन सहज हुने देखिन्छ ।

बागमती र धोबीखोला किनारमा रहेका वास्तविक सुकुम्बासीलाई अन्यन्त्र व्यवस्थापन गरेर प्रसूति गृह पछाडिको सुकुम्बासी बस्तीबाट डोजर चलाउने अभियानमा बालेन लागेका छन् । यो विषयमा उनी निकै स्पष्ट देखिन्छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई उक्त सुकुम्बासी बस्ती हटाउन किन असफल भए भनेर समेत प्रस्ट भइसकेका बालेनको डोजर निकट भविष्यमा नै थापाथलीमा चल्ने भएको हो ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com