डा. सुनिल शर्मा र भानुभक्तलाई भारी पर्दै रेखा थापाको उम्मेदवारी


मोरङ । बिराटनगर महानगरपालिकाले समेटेको प्रतिनिधिसभा मोरङ क्षेत्र नम्बर ३ मोरङ जिल्लाका अन्य निर्वाचन क्षेत्रभन्दा बढी चर्चामा रहेको छ । उक्त क्षेत्रमा चर्चित नायिका रेखा थापाको ‘इन्ट्री’ले चुनावी सरगर्मी ह्वात्तै बढेको पाइएको हो ।

अघिल्लो प्रतिनिधिसभा २०७४ को चुनावमा मेडिकल व्यवसायी डा. सुनिल शर्मा र भानुभक्त ढकालबीच कडा प्रतिस्पर्धा भएको उक्त क्षेत्रमा चर्चित नायिका रेखा थापाको ‘इन्ट्री’ले चुनावी रौनकता थपेको छ । उक्त क्षेत्रबाट निर्वाचित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका ढकाल र उक्त क्षेत्रका बासिन्दालाई सहुलियत दरमा उपचार गर्दै आएका शर्मालाई थापाको उम्मेदवारी निकै भारी पर्ने देखिन्छ ।

यहिँ मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा मोरङ-३ मा अनपेक्षित नतिजा आउन सक्ने स्थानीय मतदाताहरू बताउँछन् । मोरङ जिल्लामा रहेका ६ वटा निर्वाचन क्षेत्रमध्ये ३ र ६ बढी चर्चामा रहेको पाइन्छ । कारण रेखा थापाको उम्मेदवारी नै भएको पाइन्छ । ६ मा डा. शेखर कोइराला र लालबाबु पण्डितबीच प्रतिस्पर्धा रहेकाले उक्त निर्वाचन क्षेत्र पनि चर्चामा आएको हो ।

कांग्रेस उम्मेदवार डा. शर्माले त कांग्रेसको भेलामा कांग्रेस महिलाले रेखा थापालाई भोट हालेको सपनामा देखेको अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्ति अहिले चर्चामा रहेको छ । कांग्रेसको मात्र होइन एमालेका महिला र युवाले पनि राप्रपाकी थापालाई भोट हाल्ने सम्भावना र माहोल बन्दै गएको देखिन्छ । थापाले कांग्रेस, एमाले, माओवादी र मधेशवादी सबै राजनीतिक दलको भोट काटेर चुनावी नजिता आफ्नो पक्षमा पारे यो आश्चर्यको विषय नहुने त्यो क्षेत्रका मतदाताहरू सुनाउँछन् ।

मोरङ-३ मा रेखा थापाले डा. शर्मा र पूूर्व स्वास्थ्यमन्त्री ढकाललाई हम्मेहम्मे पारेको देखिन्छ ।

मोरङ क्षेत्र नम्बर ३ मा पूर्व पश्चिम राजमार्गले छोएका पथरी शनिश्चरे नगरपालिकाको १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको ४, ५, ६ र ७ वडा, सुन्दरहरैंचा नगरपालिकाको १, ८, ९, १०, ११ र १२ वडा, बेलबारी नगरपालिकाको  १, २, ३, ४, ८, ९, १० र ११ नम्बर वडा रहेका छन् । यो क्षेत्रमा बिराटनगर महानगरपालिकाको कुनै भूगोल र कुनै स्थानीय तहको पुरै भूगोल समेटिएको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. सुनिल शर्मा, #नायिका रेखा थापा, #पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, #मोरङ-३ निर्वाचन क्षेत्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com