बेवारिशे लासमाथिको बेवारिशे जिन्दगी


झट्ट हेर्दा उमेरले ७० काटेजस्तो देखिने कमजोर अवस्थाको बुढो मान्छे टिचिङ परिसरमा रहेको फोरेन्सिक मेडिसिन विभाग अगाडिको खाली जमिनमा घुमिरहेको भेटिन्छन् ।

आफ्नै सुरमा एताउति गरिरहने वृद्ध अवस्थाका मान्छेमाथि धेरैको नजर नपर्न सक्छ । त्यहि ठाउँ भएर दैनिक सयौं मानिसहरू आवतजावत गर्छन् । प्रायजसोले वास्ता नगर्ने त्यो बुढो मान्छेको जीवनको छुट्टै कथा अनि आफ्नै किसिमको व्यथा छ ।

हो ! सबै जीवनको आफ्नै किसिमको कथा र व्यथा हुन्छ । कसैको जिन्दगी खुसी नै खुसीले भरिएको होला, कसैको जिन्दगीमा दुःख नै दुःख अनि कसैको जिन्दगी सुख र दुःख अथवा आँसु र हाँसो मिश्रित हुन्छ ।

सनाखत नभएका बेवारिसे लास समेत हेर्दै आएको फोरेन्सिक मेडिसिन विभाग अगाडि भेटिने बेवारिसे वृद्ध मान्छे लामो समयदेखि बेवारिशे लासहरूको व्यवस्थापन गर्ने काममा खटिदै आएका थिए । ४१ वर्षभन्दा अगाडिदेखि टिचिङ् परिसरमा रहेको ८ आना जग्गामा उनले हजारौं सनाखत नभएका लासहरू गाडेका छन् । खातमाथि खात मृत शरीरहरू खप्ट्याएर पुरेका छन् । आफूले ३० हजार जति सनाखत नभएका शव पुरेको सम्झदै अब यो कामबाट विश्राम लिएको बताउछन् ।

खुला ठाउँमा घाम तापेर बसिरहेका दाबा नर्बु शेर्पासँग कुराकारी गरिरहँदा लास गाडेको ठाउँबाट दुर्गन्ध फैलिरहेको थियो । उक्त गन्ध सहन नसकेर टाउको समेत दुख्न थाल्यो । कसको जिन्दगी कस्तो हो भनेर पत्ता लगाउँन त उसको जिन्दगीको कथा, व्यथा पढ्नैपर्छ ।

शेर्पाले खल्तीबाट झिकेर दश रुपैयाँ देखाउँदै हिजो दिएको १ ससय ६० रुपैयाँमध्ये अब यति मात्र बाँकी छ भनेपछि उनको मेमरी पावर राम्रै रहेको ठम्याउन गाह्रो भएन । सयको नोट झिकेर हातमा थमाएपछि खुसी हुँदै पानी पिउनका लागि भन्दै लास गाडेको ठाउँबाट छेउमै रहेको आफू बस्ने छाप्रो तर्फ लागे । बोतलमा लेउ लागेर हरियो रङ्को देखिने पानी पिउदै उनले यत्रतत्र छरिएका मानव शरीरका अस्थिपञ्जर देखाउदै यी लासको हड्डी अत्साहित हुँदै भन्दै थिएँ ।

ती वृद्ध हड्डीहरू छिचोल्दै लास गाड्ने जमिनको छेउमा रहेको एक कोठे छाप्रोमा आउने जाने गरिरहेका हुन्छन् । उसको अवस्थालाई हेरेपछि लास माथिको जिन्दगी यहिँ हो कि जस्तो अनुभूति हुन्छ । वास्तममै त्यो बेवारिशे लास गाड्ने ठाउँमाथि बाँचीरहेको बेवारिसे जिन्दगी थियो ।

सानै उमेरमा आमाको निधन भएपछि बुबाले कान्छी आमा ल्याए अनि भारततिर लागे । त्यसपछि आफ्नो दुःखका दिन सुरु भएको दार्जेलिङ्मा जन्मिएका शेर्पा बताउँछन् । आफ्नी आमा सानैमा खसिन् त्यसपछि बुबाले सौतेनी आमा ल्याउनुभयो । सौतेनी आमाले घरबाट निकाल्न बुबासँग झगडा गरिरहन्थिन । आफूलाई बच्चा अवस्थामा ल्याएर कान्ति बाल अस्पतालमा बुबाले छोडेर गएको दुखेसो पोख्दै उनले आँखाबाट आँसु खसाले ।

केही समय कान्तिमै काम गरेर गुजारा चल्दैथ्यो तर कान्ति अस्पताल प्रशासनले कामबाट निकालेपछि शेर्पाको जिन्दगीमा आपत आइलाग्यो त्यसपछि उनले नजिकै बन्दै गरेको चिकित्सा शास्त्र अध्ययन संस्थानमा काम गर्न थाले । उनको काम थियो, वीर अस्पतालबाट शव ओसार्ने ।

१७ वर्षको उमेरदेखि हनुमानढोकाबाट चिठ्ठी लिएर वीर अस्पालमा लास बोक्न थालेको शेर्पा सम्झन्छन् । शुरुमा दुईवटा टेम्पो लास बोक्नका लागि प्रयोग हुथ्यो । त्यसमध्ये एउटा लिलाम भयो र लास बोक्ने प्रयोजनका लागि एउटा बाँकी रह्यो ।

हनुमानढोका, केन्द्रीय कारागार लगायतका विभिन्न स्थानबाट कुहेर किरा परेका गन्धे लासहरूलाई डोरीले बाँधेर घिसार्दै टेम्पोमा हाल्ने र टेम्पोबाट झार्ने उनको काम थियो । त्यसका लागि वीर हस्पिटल र पछि गएर डीन कार्यालयले लुगा र पञ्जा दिन्थ्यो । लास बोक्ने टेम्पो चालक कान्छा तामाङ्ग भन्ने थियो जसको छोरी मन्त्री पशुपति शम्सेरको घरमा काम गर्थी शेर्पाले भने ।

टेम्पोमा एक पटकमा १५ वटा, ३० वटा, ४० वटा, ५० वटा जति पनि हुन सक्थे लासहरू दाउरा खप्ट्याए जस्तो गरी खप्ट्याएर हाल्ने शेर्पाको काम थियो । प्रहरीबाट सनाखत नभएका यी शवहरू नष्ट गर्नु भनेर चिठ्ठी आएपछि टेम्पोमा हालेर फोरेन्सिक विभाग अगाडिको खाली जमिनमा लास लिएर आउने शेर्पाको काम हुन्थ्यो ।

पोष्टमार्टमका लागि हनुमानढोका प्रहरीबाट आएको लास हो भने हनुमानढोका, बौद्धबाट आएको हो भने बौद्ध, कालीमाटीबाट लास आएको हो भने कालिमाटी त्यस्तै भक्तपुर प्रहरी मार्फत आएको लास हो भने भक्तपुर प्रहरीले नै सनाखत हुन नसकेका लास पुर्नु भनेर चिठ्ठी पठाउँने गरेको छ । त्यसैको आधारमा ठूलो खाल्डो खनेर एकै पटक धेरै लासहरू हालेर पुर्ने गरेको शेर्पाले बताए ।

साँघुरो जमिन रहेकाले त्यहिँ ठाउँमा पटक–पटक खन्दै पुर्दै गर्दा पछिल्लो समय माटोभन्दा मृत शरीरका हड्डीहरू बढी भेटिने गरेका छन् । सुरुमा त छि कुहेको बेवारिशे लास बोक्ने मान्छे भनेर दुर्व्यवहार गर्ने गरेको उनले दुखेसो पोखे । उनको काम सामान चढाउने र झार्ने भने जस्तै वेबारिसे लासहरूलाई एउटा ट्याक्टरको खलासीले सामान हाल्ने र निकाल्ने जिम्मेवारी निर्वाह गरे सरह थियो ।

एउटा टेम्पो लिएर लास खोज्दै वीर र चिकित्सा शास्त्र अध्ययन संस्थानमा निरन्तर आवतजावत गरिरहेका हुन्थे । पहिला पहिला एउटा लास गाडेको २ सय ५० रुपैयाँ पारिश्रमिक पाइन्थ्यो । पछिल्लो समय एउटा लास डिस्पोज गरेको ३ सय रुपैयाँ दिन थालिएको छ, शेर्पाले कुराकानीमा भने । लास गाड्नेलाई दिने त्यो पैसा सरकारले प्रहरीमार्फत निकासा गर्छ ।

साढे पैसठ्ठी वर्ष उमेर पुगेको बताउँने अविवाहित शेर्पा महिनाको ४ हजार ६ सय रुपैयाँ क्याम्पसबाट बुझ्ने गरेको र त्यो रकम हिमालय बैङ्क खातामा जम्मा भएपछि चेकमार्फत् निकाल्ने सुनाउँछन् ।

उनले होटलमा दिनको एक छाक रोटी खाएर दैनिक जीवन बिताउने गरेका छन् । अनि एक छाक रोटीमात्र खाएर सकिन्छ त भन्ने जिज्ञासामा अरु बेला भोक लाग्यो भने पानी खाएर बस्ने मार्मिक समस्या सुनाए ।

उनले भनेको कुरा सुनाउनेलाईभन्दा सुन्नेलाई पीडा हुने खालको थियो । उनले एक मुठ्ठी श्वास जोगाउन मृत्युसँग सङ्घर्ष गरिरहेका छन् । श्वास रहुन्जेल आस रहन्छ भने जस्तै भएको छ उनको दैनिक जिन्दगी । पहिला क्यापसको पाले घरमा बस्ने शेर्पा पागल अस्पतालमा पनि कहिले काहिँ रात बिताउने गर्थे ।

लाससँग दैनिक रुपमा खेल्नु पर्ने त उनको पेशा नै थियो । उनलाई अझै पनि लाग्छ सनाखत नभएका बेवारिसे लासलाई खाल्डोमा व्यववस्थापन गरेर धर्मको काम गरे । हजारौँ मृत शरीरलाई दागबत्ति दिने छोराको सरहको भूमिका निभाए जस्तो अनुभूति हुन्छ उनमा । उनलाई अहिले एकजोर न्यायो लुगा लगाउँन पनि समस्या परेको छ ।

चाडबाडको बेला डाक्टरहरूले सय पचास दिने गरेको बताउँछन् शेर्पा । डाक्टर हरिहर वस्ति त्यता आएको बेला दया गरेर चिया खान भन्दै खल्तिबाट केहि पैसा दिनुहुन्छ, शेर्पा भन्छन् ।

चिया खान राखेको प्रस्तावलाई उनले अस्वीकार गर्दै टेम्पो भएको ठाउँ तिर अगाडि बढे कान्तिबालको मुख्य गेटलाई दायाँ पारेर चिकित्साशास्त्र अध्यायन संस्थानको शैक्षिक भवनतर्फ । तर उनको जीवनको सारथी टेम्पो त्यहाँबाट लिलाम गरिसकेको रहेछ ।

उनलाई त्यो टेम्पो त्यहि छ भन्ने विश्वास रहेछ । तर, उनको सपनाको त्यो टेम्पो त्यहाँ थिएन । शेर्पा टेम्पो देखाउँन नपाएकोमा निराश देखिन्थे । टेम्पो राखेको ठाउँमा उनले दाहिने हातको चोर औंलाले देखाउदै शेर्पा लवजमा भने टेम्पो त लिलाम गरेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com