विद्यालय तहमै एचआइभी र लागूऔषध दुव्र्यसनबारे जानकारी
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा एचआइभीसँगै लागूऔषध दुव्र्यसनसम्बन्धी विषयलाई थप प्रभावकारी र समयानुकूल बनाउने तयारी सुरु गरिएको छ । चालु आर्थिक वर्षमा ढिलाइ भए पनि आगामी शैक्षिक सत्रदेखि यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।
काठमाडौंमा आयोजित ‘स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक शिक्षा’ विषयका लेखकहरूसँगको एचआइभी तथा लागूऔषध दुव्र्यसनविरुद्धको छलफल एवं समन्वय कार्यक्रममा सहभागीहरूले यस विषयमा गहन छलफल गर्दै पाठ्यसामग्री लेखनलाई समेत अगाडि बढाएका छन् ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई वैज्ञानिक जानकारी, सामाजिक चेतना तथा व्यवहारिक शिक्षा प्रदान गर्न पाठ्यपुस्तक परिमार्जनसँगै समयानुकूल नयाँ विषयवस्तु समावेश गर्दै लैजानुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
कार्यक्रममा रिकभरिङ् नेपालका विष्णु शर्माले विद्यार्थी तहबाटै एचआइभी र लागूऔषध दुव्र्यसनबारे सही ज्ञान दिनुपर्ने आवश्यकता औंल्याए । उनले पुराना सन्देश र शब्दावलीलाई समयानुकूल परिमार्जन गर्दै कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तकमा वैज्ञानिक तथा जीवनोपयोगी सामग्री समावेश गर्नुपर्ने बताए ।
शर्माले एकातर्फ एचआइभीबारेको पुरानो त्रास र विभेद घट्दै गएको उल्लेख गर्दै अर्कोतर्फ लागूऔषध दुव्र्यसन युवापुस्तामाझ चुनौतीका रूपमा देखिन थालेको बताए । “समयअनुसार एचआइभी र लागूऔषध दुव्र्यसनसम्बन्धी विषयवस्तुलाई परिमार्जन गर्दै लैजानुपर्छ,” उनले भने, “राम्रा विषयलाई निरन्तरता दिने र सान्दर्भिकता गुमाएका सामग्री हटाउनुपर्छ । अबको पुस्तालाई एचआइभी र लागूऔषध दुव्र्यसनबारे बेलैमा जानकारी दिन आवश्यक छ ।”
त्यसैगरी पाठ्यक्रम विकास केन्द्रका प्राध्यापक डा. रामकृष्ण महर्जनले एचआइभी र लागूऔषध दुव्र्यसनका विषयलाई एकसाथ जोडेर लैजानु सकारात्मक प्रयास भएको बताए ।
“लेखकहरू सबै विषयमा पोख्त नहुन सक्छन् । त्यसैले एचआइभी र लागूऔषध दुव्र्यसनसम्बन्धी कतिपय मान्य र उपयुक्त शब्दावली समेट्न कठिनाइ भएको छ,” महर्जनले भने, “अझै पनि बोलिचालीको भाषासँग मेल खाने सामग्री तयार गर्नुपर्ने आवश्यकता छ ।”
उनले कार्यक्रममा सिकिएका विषयवस्तु आगामी पाठ्यपुस्तकमा समेटिने जानकारी दिँदै भाषिक शुद्धताका लागि सम्बन्धित विज्ञ तथा सरोकारवालासँग पुनः परीक्षण गरिने बताए ।
पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले पनि समयसँगै विषयवस्तु परिवर्तन हुँदै जाने भएकाले पाठ्यपुस्तकलाई निरन्तर अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याए । “हिजो एचआइभी शिक्षकहरूका लागि नै चुनौतीपूर्ण विषय थियो, तर अहिले अवस्था बदलिएको छ,” उनीहरूले भने ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस