क्यानको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त
काठमाडौं। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई निपुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव डंगोललाई क्यानको महानिर्देशक बनाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठकले डंगोललाई क्यानको महानिर्देशक बनाउने निर्णय गरेको सनाए। प्रशासन सेवाका सहसचिव डंगोल हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत रहेका छन्।
नेपाल प्रशासन सेवाको खुला प्रतिस्पर्धाबाट सहसचिव भएका ३९ वर्षीय मुकेश डंगोल क्यानको डिजी बन्न सफल भएका छन्। ए.टी.सी. अफिसर रहेका डंगोलले गत साल प्रशासनको सहसचिवमा नाम निकालेर फरक बाटो तय गरेका थिए। नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछाने वाइडबडी विमान प्रकरणमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि उक्त महाशाखाको कमाण्ड सम्हाल्न डंगोललाई ल्याइएको थियो। तर, उनै डंगोल क्यानको डिजी बन्न सफल भएका हुन्। प्राविधिक पदमा प्रशासनका सहसचिव डंगोलले कमाण्ड सम्हाल्न पुगेका छन्।
पर्यटन मन्त्रालयले गत मंसिर १९ गते डंगोललाई क्यानको निमित्त डिजीको जिम्मेवारीमा खटाइएको थियो। (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी पाएका मुकेश डंगोलको १५ दिनमै जिम्मेवारी खोसेर क्यान कै १२ औं तहका देवचन्द्रलाल कर्णलाई दिइएको थियो। अहिले डंगोल ‘कन्फर्म’ डिजी भएर क्यानमा फर्किएका छन्।
क्यानको डिजीका लागि प्रभाकर चन्द मल्लिक, उसवराज खरेल, श्यामकिशोर साह, प्रमोदकुमार चौधरी, मुरारीप्रसाद पौडेल र जसोदा सुवेदी रेग्मी, लवराज जोशी, जगन्नाथ निरौला, विष्णु गौतम, प्रेमनाथ ठाकुर, त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, टेकनाथ सिटौला, अर्जुन बस्नेत, लक्ष्मीप्रसाद उपाध्याय, उमेशकुमार पन्थी, दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झा, मुकेश डंगोल र संजयकुमार प्रतिस्पर्धामा रहेका छन्। अन्तर्वार्ता र प्रस्तुतीकरणको चरण पार गरेर डंगोल क्यानको डिजी बनेका हुन्। उनीभन्दा सिनियर रहेका १२ औं तहका जगन्नाथ निरौला र प्रेमनाथ ठाकुर भने हेरेको हेऱ्यै भएका छन्।
ट्याग : #मुकेश डंगोल


तपाईको प्रतिक्रिया दिनुहोस