अस्पताल भवन भेरीमा, कार्यक्रम काठमाडौंकाे हाेटलमा


काठमाडौं । डेढ अर्ब लागतमा बन्न लागेको भेरी अस्पतालको नयाँ भवनकाे डिजाइन काठमाडौंको होटलमा प्रदर्शन गर्न लागिएको छ ।

विपन्न नागरिकलाई उपचार गर्न छाडेर भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. बद्री चापागाईले बालुवाटरको होटलमा अनावश्यक मान्छे भेला पारेर डिजाइन प्रदर्शन गर्न लागेका छन् ।

भेरी अस्पताल परिसरमा निर्माण सुरु हुन लागेको इन्डोर ब्लकको डिजाइन तथा त्यसमा आवश्यक परिमार्जन सम्बन्धी छलफल भन्दै उनले काठमाडौंको बालुवाटारस्थित होटल ओरेन्टिएल किचेनमा भोलि १९ गते मंगलबार सांसद, इन्जिनियर र चिकित्सकहरु बोलाएका छन् । उक्त पत्र स्वास्थ्य लाइभले फेला पारेकाे छ ।

भेरीमा बनाउने भवनकाे विषयमा हुने छलफल काठमाडौंकाे हाेटलमा हुनु आफैमा लज्जास्पद विषय हाे । कतिपय व्यक्तिले यसकाे विरोध गरेका छन् ।

भेरी अस्पतालका मेसुले मंगलबार बिहान ९ बजे सांसदलगायत विभिन्न व्यक्तिलाई भवनको डिजाइन प्रदर्शन गर्न बोलाएकाे बताए । ‘हाेटलमा मजाले बसेर हेर्न पाईन्छ, मन अन्त जाँदैन भनेर यहाँ राखिएको हो’, मेसु चापागाईंले भने ।  उनले काठमाडौंको होटलमा अस्पतालको डिजाइन देखाउन खोजिएको यसमा अन्यथा नभएको बताए ।

एक लेभलको डिजाइन स्टिमेट अघिल्लो वर्ष नै भइसकेको बताउँदै उनले अब नयाँ डिजाइन गर्न लागिएको सुनाए । यसकाे मतलब चापागाईं अघिल्लो वर्षको डिजाइनमा खुसी छैनन् ।

‘पहिला बनाएको भेरी अस्पतालको भवन डिजाइन मलाइ मन परेन, त्यसैले सरकारी अस्पतालको भवन कस्तो हुनुपर्छ भनेर डाक्टर, इन्जिनियर, काठमाडौंको स्थानीय जनप्रतिनिधि र सांसदहरुलाई होटलमा बोलाएर देखाउन र छलफल गर्न खोजिएको हो’, डा. चापागाईले भने,’होटलमा राख्दा सबैलाई स्क्रिनमा देखाउन मिल्ने भएकोले होटल नै रोज्नु परेको हो ।’,

भेरीमा भवन बनाउने विषयमा सम्बन्धित ठाउँमा परामर्श गर्नुको साट्टो असम्बन्धित क्षेत्रका सांसदहरुलाई बोलाएर राज्यको पैसा अनावश्यक रूपमा खर्च गर्न लागेको स्पस्ट हुन्छ । उक्त कार्यक्रम मन्त्रालय अथवा भेरी अस्पतालमै राख्दा हुने थिएन भन्ने स्वास्थ्य लाइभको प्रश्नमा उनले टिभीमा देखाउन नमिल्ने भएकाले होटल रोजिएको दाबी गरे ।

डा. चापागाईले सरकारी बजेट दुरुपयोग गर्ने उद्देश्यले अस्पतालको डिनाइन देखाउने भन्दै होटलमा कार्यक्रम राखेको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको साउथ रिजनल मिटिङसमेत स्वास्थ्य मन्त्रालयकाे हलबाट गरेकाे थियाे । त्याेभन्दा ठूलाे बैठक भेरीकाे पक्कै हैन । स्वास्थ्य मन्त्रालयको हलमा प्रोजेक्टरसहितको सुविधा हुँदा पनि उनी अनावश्यक व्यक्ति बोलाएर फजुल खर्च गर्ने पक्षमा देखिन्छन् ।

देशमा आर्थिक समस्या देखिएको अवस्था अस्पतालको डिजाइन देखाउन भन्दै भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईले बालुवाटरको होटलमा मान्छे भेला पारेर रमिता देखाउन खोजेको टिप्पणी हुन भालेको छ । यो विषयले उनको भूमिका माथिसमेत प्रश्न उठेको छ । स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले समेत डा. चापागाईको कदमको आलोचना गरेका छन् ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com