अख्तियारमा ३ सहसचिवको ‘इन्ट्री’, ४ सहसचिव अख्तियारबाट बाहिरिए
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ सहसचिवले ‘इन्ट्री’ मारेका छन्। अख्तियार भित्रिने सहसचिव गोविन्दप्रसाद अधिकारी, सुनिता नेपाल र रामहरि पोखरेल हुन्। अधिकारी र नेपाल प्रशासन सेवा तथा पोखरेल इन्जिनियरिङ सेवाका सहसचिव हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा फाजिलमा परेका सहसचिव गोविन्दप्रसाद अधिकारीलाई अख्तियार पठाइएको छ। यस्तै लगानी बोर्डको कार्यालय कार्यरत सहसचिव सुनिता नेपाललाई पनि अख्तियार पठाइएको हो। लगानी बोर्डको कार्यालयमा गण्डकी प्रदेशबाट ऋषिराज आचार्यको सरूवा भएपनि दरबन्दी नभएपछि उनी ‘होल्ड’मा परेका थिए। नेपालको अख्तियारमा सरूवा भएपछि आचार्यले जिम्मेवारी सम्हाल्न पाउने भएका छन्।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव रामहरि पोखरेलको पनि अख्तियार सरूवा भएको छ। अख्तियारको निमित्त सचिव समेत रहेका प्राविधिक सहसचिव पद्यकुमार मैनालीको पूर्वाधार विकास मन्त्रालयमा सरूवा गरेर पोखरेललाई अख्तियार पठाइएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबास, पोखरा र कञ्चनपुर कार्यालय प्रमुखको सरूवा भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङको कर्णाली प्रदेश सरूवा भएको छ। अख्तियारको पोखरा कार्यालय प्रमुख नारायणप्रसाद रेग्मीको राष्ट्रिय योजना आयोग र कञ्चनपुर कार्यालय प्रमुख वेदप्रसाद भण्डारीको अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा भएको हो। अख्तियारमा एक सहसचिव कम भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस