स्वास्थ्य सेवा विभागसहित यी हुन् लेखा उपसचिवका लागि मालदार अड्डा


काठमाडौं । महालेखा नियन्त्रकको कार्यालय (मलेनिका)ले हालै सरुवा गरेका ४७ जना लेखाका उपसचिवको सरुवालाई  लिएर विवाद सुरु भएको छ ।

अपारदर्शी ढंगले मालदार अड्डामा लेखाका उपसचिवको सरुवा गरिएको भन्दै मलेनिकाको चर्को आलोचना भएको हो ।

लेखा उपसचिवका लागि मालदार भनेर चिनिएका अड्डामा सडक विभाग, स्वास्थ्य सेवा विभाग, सिँचाइ विभागलगायत पर्ने गर्छन् । त्यसमध्ये सडक विभाग र स्वास्थ्य सेवा विभागका रहेका लेखा उपसचिवको भने २ वर्षे अवधि नपुगेर सरुवा गरिएको छैन ।

लेखा उपसचिवका लागि मालदार  अड्डाका रुपमा चिनिएको स्वास्थ्य सेवा विभागका लेखा उपसचिव भुवन प्रसाद काफ्ले र सडक विभागका लेखा उपसचिव प्रकाश पुडासैनीबाहेक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, ललितपुर, कोष तथा लेखा नियन्त्रकको कार्यालय, बबरमहल, सिंहदरबार, लैनचौर, सिंहदरबार, सुन्धारा, सिंचाई विभाग, एडीबी सडक आयोजनाका लेखा उपसचिवको सरुवा भएको छ ।

मलेनिकाका अनुसार मालदार कोष तथा लेखा नियन्त्रकको कार्यालय, सिंहदरबारमा अर्थमन्त्रीको निजी सचिवालयमा कार्यरत रुपेशजंग थापा मगरको सरुवा गरिएको छ ।

सडक विभाग र स्वास्थ्य सेवापछिको आकर्षक मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रोमाकान्त काफ्लेको सरुवा भएको छ ।

सडक र स्वास्थ्यपछि लेखाका उपसचिवहरू सामान्यमा जान लाइन लाग्ने गरेको कोलेनिकाका अधिकारीहरू सुनाउँछन् । त्यसपछिको आकर्षक अड्डा मानिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय, ललितपुरमा गोरखबहादुर शाहीले बाजी मारेका छन् ।

कोलेनिका ललितपुर पछाडि मालादार अड्डाका रुपमा हेरिएका कोलेनिका बबरमहलमा रुद्रप्रसाद भट्ट र कोलेनिका लैनचौरमा कृष्णप्रसाद पुडासैनी गएका हुन् । यी अड्डा पछाडि लेखा उपसचिव जान हानाथाप गर्ने निकाय सिँचाई विभाग हो । उक्त विभागमा लेखा उपसचिव हेमराज पौडेल सरुवा भएर जान सफल भएका छन् ।

सिँचाई विभागपछि लेखा उपसचिवको रोजाइका परेको कोलेनिका सुन्धारामा भूमिराज भुसालले बाजी मारेका छन् । त्यसपछि मालदार अड्डाका रुपमा चर्चित आयोजना निर्देशनालय (एडीबी सडक), विशालनगरमा ओम कुमारी पोखरेल जान सफल भएकी छिन् । सुनकोशी मरिन डाइभर्सन आयोजनामा जान खोज्ने लेखा उपसचिव पनि धेरै रहेको मलेनिकाका अधिकारीहरू बताउँछन् ।

मलेनिकाको कर्मचारी प्रशासन शाखामा बसेका लेखा उपसचिवहरू सडक विभागमा सरुवा गरेर जाने ट्रेन्ड नै रहेको बताइन्छ । प्रकाशको ठाउँमा जान कप्रका रविन कोइरालाले खुट्टा उचालिसकेको मलेनिकाका उच्च अधिकारीहरू सुनाउँछन् ।

आर्थिक चलखेल गर्ने र अनियमितता हुने गरेको भनिएका यी निकायमा जाने गरेका लेखा उपसचिवहरुको सम्पत्ति छानबिन नहुँदा मनोबल बढ्ने गरेको कोलेनिका कै अधिकारीहरूको टिप्पणी रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी मालदार निकायमा बसेर काम/दाम गरिसकेका लेखा उपसचिव, अधिकृत र लेखापालको सम्पत्ति छानबिन गर्नु पर्ने आवाज समेत उठेको छ । यो विषयमा अख्तियारले विशेष चासो र प्राथमिकतामा राखेर सम्पत्ति छानबिन गर्नुपर्ने सुशासन चाहने व्यक्तिहरुको आवाजलाई अख्तियारले ध्यान दिनु पर्ने देखिन्छ ।

 

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #कोलेनिका, #लेखा उपसचिव, #सडक विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com