मन्त्रालयलाई आईएनजीओको कब्जाबाट मुक्त गर्न सक्लान् नयाँ स्वास्थ्यमन्त्रीले ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा युवा जोश जाँगर भएका पर्वतका पदम गिरी आएका छन् । बिहानीले दिउँसोको संकेत दिन्छ भनेझैं नयाँ स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्यमा सुधारको प्रयास थालेको देखिन्छ ।

कान्ति बाल अस्पतालको शौचालयबाट सुधारको सुरुवात गर्ने प्रयत्न गरेका स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्यलाई सफाइसँग जोड्न खोजेको भान हुन्छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी निकट मानिने स्वास्थ्यमन्त्री गिरीको सुरुवाती सुधारको रुझान ट्र्याकमा नै देखिन्छ ।

स्वास्थ्यमन्त्री गिरीले केन्द्रीय अस्पतालको शौचालयमा देखेको फोहोरभन्दा ठूलो समस्या स्वास्थ्य मन्त्रालयभित्रै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लामो समयसदेखि एनजीओ/आईएनजीओ कब्जाबाट दुर्गन्धित बन्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयको चौधो तला एनएचएसएसपीलगायतका आईएनजीओको कब्जामा छ । मन्त्रालय सुधारको काममा खट्नु पर्ने कर्मचारी सोफामा बस्न बाध्य छन् । तर मन्त्रालयका करिब १४ कोठा आईएनजीओको कब्जामा पुगेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेको आईएनजीओको कब्जामा रहेको स्वास्थ्य मन्त्रालयका विषयमा मन्त्रालयका पदाधिकारीहरु लाचार देखिन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केही गर्छु भनेर आएका स्वास्थ्यमन्त्री गिरीका लागि स्वास्थ्य मन्त्रालय आईएनजीओको कब्जाबाट मुक्त गर्नु सुधारको ठूलो सुरुवात हुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको टिप्पणी छ । कुनै स्वार्थ नलिई स्वास्थ्य मन्त्रालयबाट एनएचएसएसपीजस्ता आईएनजीओलाई हटाए उनको कार्यकालको एउटा महत्त्वपूर्ण सुधार र उपलब्धि हुने ती अधिकारीहरुको तर्क छ ।

स्वास्थ्य मन्त्रालय कसरी सुधार्न सकिन्छ भनेर गम्भीर बनेका स्वास्थ्यमन्त्री गिरीका लागि स्वास्थ्य मन्त्रालय एनजीओ/ आईएनजीओको कब्जाबाट मुक्त गर्न सक्छन् की सक्दैनन् त्यो नै ठूलो परीक्षा हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एनएचएसएसपी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री पदम गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com