नर्समाथिको श्रमशोषणः बैङ्कमा २५ हजार हाल्दिने भोलिपल्ट फिर्ता माग्ने


काठमाडौं । नर्सहरूमाथिको श्रम शोषण अझै रोकिएको छैन । काम अनुसारको तलबसुविधा पाउनुपर्ने नर्सहरूको लागि वकालत गर्ने नाम मात्रैको नर्सिङ सङ्घ र नर्सिङ क्षेत्रप्रति राज्य गैरजिम्मेवार बन्दा निजी स्वास्थ्य संस्थाले उनिहरूमाथिको श्रम शोषण अझै गरि नै रहेका छन् ।

नर्सहरूले श्रमको उचित मूल्य पाएका छैनन् । दशौं लाख खर्च गरेर पढेका उनिहरूले ५ देखि १० हजारमा सेवा गर्नुपरेको छ । पछिल्लो समय नर्सलाई दिने तलवमा चर्को विवाद भएपछि केही अस्पतालहरूले तलवमा वृद्धि गरेका छन् ।

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्राध्यापक मन कुमारी राईका अनुसार विगतको अनुपालमा केही रकम बढाएको पाइएको छ । साथसाथै सोही बढाएको रकममा बदमासी गरेको पनि उजुरीहरू आएको उनी बताउँछिन् ।

‘विवाद आएपछि निजी अस्पतालले कागजमा तलब बढाएका छन्,’ राईले भनीन्, ‘तर, भोलिपल्ट रकम चेकमा फिर्ता मागेको गुनासो पनि व्यापक आएको छ ।’

‘नर्सहरूले यस विषयमा मौखिक रुपमा भनेपनि लिखित रुपमा उजुरी दिन चाहेका छैनन्,’ उनले थपिन् ।

‘नर्भिक अस्पतालले विगतमा १५ हजार दिँदै आएको थियो । अहिले कागजमा २५ हजार पुर्याएको पाइयो’ राईले भनिन्, ‘तर, त्यो रकमबारे हामीलाई शङ्का लागेको छ ।’

अध्यक्ष राईले निर्वाचन जिते पश्चात् पहिलो काम न्यूनतम पारिश्रमिक दिलाउनेमा केन्द्रित हुने बताएकी थिइन् । तर, उनले अहिलेसम्म उक्तकाम गर्न सकेकी छैनन् । उनले श्रम शोषणबारे अध्ययन गर्ने स्पष्ट पारिन् ।

सरकारले तोकेको तलब दिने र भोलिपल्ट फिर्ता माग्ने परिपाटीको विकास हुन थालेपनि सङ्घ चनाखो हुनुपर्ने देखिएको छ ।

नियम अनुसार अस्पतालले नियुक्ति दिँदा मासिक पारिश्रमीक पनि तोक्नु पर्छ । तर, सरकारी स्वास्थ्य संस्था बाहेक निजी स्वास्थ्य संस्थाले दिएको नियुक्तिमा पारिश्रमीक तोकिएको छैन । केही छिटफुट संस्थाले तोकेपनि न्यून छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले केही दिन अगाडी राष्ट्रिय नर्सिङ दिवसमा पारिश्रमीक तोके अनुसार नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने बचन दिएका थिए । उनले यसका लागि आवश्यक प्रमाण खोजेका थिए ।

स्वास्थ्य लाइभले निरन्तर नर्सिङ श्रेत्रमा देखिएको समस्याका बारेमा प्रमाणसहित समाचार लेखिरहेको छ । पछिल्लो यो नियुक्ति पत्र पनि हामीले सार्वजनिक गरेका छौं । कारबाही गर्ने इच्छा भए यो भन्दा बलियो अरु कुनै प्रमाणको आवश्यकता पर्दैन ।

आफूलाई अन्तर्राष्ट्रिय स्तरका अस्पतालको भ्रम छरेर बिरामी लुट्ने अस्पतालले नर्सहरूलाई दिएको नियुक्ति पत्र हेर्दा विरक्त लाग्छ । बेडमा टुसुक्क बसेको मात्रै ५० औं हजार बिल उठाउँने अस्पतालले नर्सलाई नियुक्ति दिँदा मासिक तलब स्केलसम्म उल्लेख गरेको छैन । यसले पनि चरम श्रम शोषणमा नर्सहरू परेको पुष्टि गर्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##नर्सकाे न्यूनतम पारिश्रमिक, ##नर्सहरूमाथि श्रम शोषण, #नर्सिङ सङ्घ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com