स्वास्थ्य प्रयोजनसहित भद्र घलेले ११ रोपनी जग्गा कब्जा गरेकोमा अख्तियारको चासो


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री भद्र कुमारी घलेले कब्जा गरेको ११ रोपनी सरकारी जग्गामा चासो देखाएको छ ।

अख्तियारले काठमाडौं महानगरपालिकासँग भद्र घलेले हडपेको ११ रोपनी जग्गाको विवरण मागेको छ ।

अख्तियारमा भद्र घलले कब्जा गरेको ११ रोपनी सरकारी जग्गामा कृष्ण सार्वजनिक स्वास्थ्य सेवा सदनलगायतका संस्था खडा गरेर गैर कानुनी आर्थिक लाभ लिएको उजुरी परेको छ । त्यस्तै भद्र शिक्षा सदन, कृष्ण भक्त एवं भक्त कुमारी घले पाहुना घर बनाउनुका साथै सटर, पसलकवलहरू निर्माण उठाई आर्थिक लाभ समेत लिइरहेको भन्ने व्यहोरा समेतको अख्तियारमा उजुरी परेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित कित्ता नम्बर १२,१२, १२२, २२३, २२५ र २२६ लगायका धोबीखोलाका अन्य सरकारी/सार्वजनिक जग्गा भद्र कुमारी घले सदनले गैर कानुनी रुपमा कब्जा गरेको हो । ती जग्गाहरूमा संरचाना निर्माण गरेर भाडा खाइरहेको विषयमा अख्तियारले काठमाडौं महानगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको पाइएको छ ।

सार्वजनिक/सरकारी जग्गाहरु कब्जा गरी जेष्ठ नागरिक सदन, उपत्यका तमु गुम्बालाई जग्गादान दिई सो समितिले ५ तलेसम्मको भवन निर्माण गरी कार्यालय समेत स्थापना गरेको अख्तियारले जनाएको छ । सरकारी/सार्वजनिक जग्गा मन्त्रिपरिषद्को निर्णयबाट मात्र प्राप्त गर्न सकिन्छ । संरचना बनाउँदा नक्सापास अनिवार्य रुपमा गर्नु पर्छ । तर, अख्तियारका अनुसार भद्र कुमारी घलेले सबै सीमा पार गरेर सरकारी जग्गाको ब्यापक दुरुपयोग गरेकी छिन् ।

अख्तियारले महानगरसँग स्वास्थ्य सेवा सदनलगायतका भवन रहेको जग्गाको कित्ता नम्बर, क्षेत्रफल तथा नक्सा समेतको विवरण उक्त संस्था तथा समितिहरूले सरकारी सार्वजनिक जग्गा अतिक्रमण तथा कब्जा गरे/नगरेको यकिन गरी सो सम्बन्धमा स्पष्ट राय प्रतिक्रिया सहितको अध्ययन प्रतिवेदन माग गरेको छ ।

काठमाडौं महानगरपालिका र वडा नम्बर १० लाई अख्तियारले भद्र घलेले कब्जा गरेको जग्गाको विषयमा पटकपटक ताकेता गर्दा पनि जवाफ पाएको छैन । अख्तियारका एक उच्च अधिकारीका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० लाई सरकारी जग्गाका विषयमा दुई दर्जन बढी पत्र पठाइएको छ । तर, वडा कार्यालयले जवाफ पठाउन आलटाल गर्दै आएको छ ।  ती अधिकारीका अनुसार अख्तियारले वडाका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने तयारी समेत थालेको छ ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #धोबीखोला देवीनगर, #भद्र कुमारी घले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com