११ फागुनदेखि १५ जिल्लामा हात्तीपाईले विरुद्धको औषधि खुवाईने


काठमाडौं । सरकारले आगामी ११ फागुनदेखि हात्तीपाईले राेग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुने भएकाे छ ।

स्वास्थ सेवा विभाग ईपिडिमियमेलाेजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाइनेछ ।

सरकारले हात्तीपाईले रोग निवारणका लागि अभियान चलाउँदै आएको छ ।

हात्तीपाईले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन अभियानमार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ ।

यो रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरै वर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधिहरू प्रयोग हुन्छन् । यी औषधिहरूले हात्तीपाईले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट पनि बचाउँछ ।

यो औषधि को सेवन ले हात्तीपाईले रोग नलागेकाहरूलाई कसरी फाइदा गर्छ ?
पहिलो कुरा हात्तीपाईले रोगका लक्षणहरू नदेखिएपनि रोगका परजीवीहरु शरीरमा हुनसक्छन् र औषधि अहिले खायो भने ती परजीवीहरु मर्छन् र भविष्यमा रोग देखिँदैन । दोस्रो कुरा औषधि सेवनका कारण तपाईंको शरीरमा भएका हात्तीपाईलेका परजीवीहरू अरु स्वस्थ्य मानिसको शरीरमा सर्दैनन् । तेस्रो कुरा समुदायमा कोहि व्यक्तिमा रोगका परजिवीहरु छन् र उहाले औषधि सेवन गरेमा लामखुट्टेले टोकेतापनि तपाइको शरीरमा ति परजिवीहरूबाट सार्न सक्दैनन् ।

यो औषधि कस कसले खानुपर्छ र खान हुँदैन ?
यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा यो औषधि खान योग्य सबैले खानुपर्दछ।

त्यस्तै दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग को समस्या भएका व्यक्तिहरू तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले यो औषधि खानु हुँदैन ।

सिकिस्त बिरामीहरू भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरू, अस्पताल भर्ना भएका बिरामीहरू र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवन भर चिकित्सीय उपचार सहायतामा बसेका बिरामीहरूलाई बुझ्नुपर्छ ।

कसले दिन्छ औषधि ?
यो रोग विरुद्धको औषधि सेवन कार्यक्रम लागू भएका जिल्लाहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले तपाईंको घर नजिकैको बुथमा तथा घरभेटमा औषधि दिने गर्छन् ।

यो औषधि कहिले खाने त ?
यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तीहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । त्यसो भएमा औषधिले प्रभावकारी रूपमा काम गर्दैछ भन्ने बुझ्नु पर्छ । ती लक्षणहरू केहि घण्टामा आफैं हराएर जान्छन् । केही गरी लक्षणहरू लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ ।

यी जिल्लाहरूमा पटक पटक किन औषधि खानु परेको छ?
नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरिसकिएको छ तर बाँकि १४ जिल्लामा औषधि खान योग्य सबैले नखाईदिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरी हेर्दा समेत यी जिल्लाका बासिन्दामा रोग को दर अपेक्षाकृत रुपमा नघटेकाले यी जिल्लाहरुमा पटक पटक औषधि खानु परेको छ ।

यस बाहेक रसुवा जिल्लामा गत साल गरिएको रक्त नमूना सर्वेक्षणमा यस जिल्लामा हात्तीपाईले जनस्वास्थ्यको समस्याको रुपमा देखिएकाले यस वर्ष रसुवा सहित १५ वटा जिल्लामा आम औषधि सेवन सञ्चालन गर्न लागिएको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com