मुख्यसचिव खनालको नेतृत्वमा स्वास्थ्य सेवा दिवसको मूल समारोह समिति गठन


काठमाडौं । मुख्यसचिव शंकरदास बैरागी खनालको नेतृत्वमा स्वास्थ्य सेवा दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकले खनाल नेतृत्वको मूल समारोह समिति गठन गरेको हो ।

हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको स्वास्थ्य सेवा दिवस सरकारले यसपटक पनि भव्य रूपमा मनाउन लागेको छ । त्यसका लागि मुख्यसचिव खनालको नेतृत्वमा मूल समारोह समिति नै गठन गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको हो ।

मूल समारोह समितिको सह-संयोजकमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र सचिव देवकुमारी गुरागाईंलाई तोकिएको छ ।  समितिको सदस्यमा अतिरिक्त सचिव, महानिर्देशक, महाशाखा प्रमुख केन्द्रीय अस्पतालका प्रमुख, निर्देशक, कार्यालय प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू र  स्वास्थ्य समन्वय महाशाखा प्रमुख रहनेछन् ।

‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नारा तय गर्दै सरकारले स्वास्थ्य सेवा दिवस मनाउन लागेको हो ।  फागुन गते बिहान साढे ८ बजेदेखि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा स्वास्थ्य सेवा दिवस मनाउने कार्यक्रम तय भएको छ ।

कार्यक्रम व्यवस्थापन समितिमा संयोजकको जिम्मेवारी भने स्वास्थ्य सेवा विभागको महानिर्देशक दिपेन्द्ररण सिंहले पाएका छन् ।

कार्यक्रम व्यवस्थापन समितिको सदस्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख, नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक र औषधि व्यवस्था विभागका महानिर्देशक रहेका छन् । स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत पनि उक्त समितिको सदस्य तोकिएका हुन् ।

यता प्रमुख विशेषज्ञ डा. संगिता कौशल मिश्राकाे संयाेजकत्वमा ५ सदस्यीय नारा तथा पुरस्कार छनोट गर्न समिति गठन भइसकेको छ । उक्त समितिमा डा. मदन उपाध्याय, डा. वासुदेव उपाध्याय, डा. यधु चन्द्र घिमिरे र नर्सिङ महाशाखा प्रमुख गाेमादेवी निराैला सदस्य रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com