चिकित्सकको तथ्याङ्क अद्यावधिक गर्दै मेडिकल काउन्सिल, दर्ता भएका १ सय ४३ जनाको नाम हटाइयो


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्ता भएका १ सय ४३ जना चिकित्सकको नाम हटाएको छ ।

काउन्सिलले नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवङ्गत भएकाहरूलाई सदस्यबाट नाम हटाउने उदेश्यले चिकित्सकको तथ्याङ्क अद्यावधिक गर्दै दर्ता भएका १ सय ४३ जनाको नाम हटाएको हो ।

काउन्सिलका अनुसार हालसम्म १ सय ४२ जनाको चिकित्सकको मृत्यु भइसकेको र एक जनाले गलत कागजात पेश गरेको प्रमाणित भएको छ ।

काउन्सिलले नाम हटाइएका चिकित्सकहरूको विवरण आफ्नो वेवसाइटमा नाम प्रकाशित समेत गरेको छ । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले अद्यावधिक प्रक्रिया निरन्तर चल्दै जाने जानकारी दिए ।

काउन्सिलको पछिल्लो तथ्यापङ्क अनुसार स्नातक तह (एमबीबीएस र बीडीएस) का चिकित्सकहरुको सङ्ख्या ३२ हजार २ सय १८ पुगेको छ । स्नातकोत्तर तह पुरा गरेका (विशेषज्ञ चिकित्सक) हरूको सङ्ख्या १० हजार ८० रहेको छ ।

मेडिकल काउन्सिल ऐनको दफा १३ अनुसार दर्ता किताब दुरुस्त राखी समय-समयमा नाम दर्ता भएका चिकित्सकको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्नुपर्ने हुन्छ । साथै निधन भएकाहरूको सदस्यताबाट नाम हटाउने र कुनै दर्तावाल चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिष्ट्रारलाई एक महिनाभित्र सूचना गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

काउन्सिलका अनुसार नेपालका मेडिकल कलेज, चिकित्सा विज्ञान प्रतिष्ठान र निजी अस्पतालमा काम गर्ने विदेशी नागरिकता भएका चिकित्सकहरू ३ सय १८ जनाको दर्ता कायम भएको छ ।

सन् २०२२ मा व्यवसायिक आचारसंहिता सम्बन्धी ६६ वटा उजुरी परेकोमा २० वटाको निर्णय भएको छ । बाँकी ४६ वटा प्रक्रियामा रहेको पनि काउन्सिलले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com