प्रादेशिक अस्पताल जनकपुरका अधिकांश विभागिय प्रमुख आ-आफ्नो क्लिनिकमै व्यस्त


जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहेको प्रादेशिक अस्पताल जनकपुरका अधिकांश विभागिय क्लिनिकमै समय बिताउँछन् ।

दैनिक झन्डै १५ सयदेखि २ हजारको सङ्ख्यामा बिरामीहरू सेवा लिनका लागि प्रादेशिक अस्पताल पुग्छन् । तर, गुणस्तरीय सेवा अभावका कारण सेवाग्राही चिकित्सकहरूको क्लिनिक धाउन बाध्य छन् ।

प्रतिष्ठान मातहतमा रहेको यस अस्पतालमा मधेश प्रदेशको ८ वटै जिल्लाका बिरामीहरू सेवा लिनका लागि पुग्छन् । दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकको अभाव झेलिरहेको प्रादेशिक अस्पतालमा हाल भएका विशेषज्ञ चिकित्सक पनि अस्पतालमा भन्दा आफ्नो क्लिनिकमा समय बिताउँछन् ।

विभागिय प्रमुखहरूको सूची हेर्दा अधिकांशको अस्पताल आसपास नै क्लिनिक भेटिन्छन् । अस्पतालका प्रमुखको पनि क्लिनिक अस्पताल बाहिरै छ ।

सरकारले एक वर्ष अघि सरकारी सेवामा कार्यरत चिकित्सकले अनुमति लिएर अनि कार्यालय समय पूरा गरेर मात्रै निजीमा काम गर्न पाउने व्यवस्था लागू गर्ने भनेको थियो । तर, फितलो नितीका अनुसार त्यो कार्यान्वयनमा आउन सकेन । जसका कारण सरकारी चिकित्सकलाई थप सहज भएको छ ।

चिकित्सकको सूची :

माथि सूचीमा देखिएका अधिकांश विभागिय प्रमुख र अन्य चिकित्सकहरूले कतिघन्टा अस्पतालमा समय बिताउँछन् भन्ने उनीहरूको हाजिरीबाट थाहा हुन्छ ।

प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.प्रमोद कुमार यादवको नामसहितको क्लिनिक अस्पतालको बाहिरै छ । हुन त उनी अस्पताल समय अनुसार अस्पतालमै भेटिन्छन् । तर, उनको क्लिनिकमा पनि उत्तिकै भिड हुन्छ ।

अस्पतालको प्रमुख भएर काम गरिरहेका डा.यादवले अन्य विभागिय प्रमुखलाई पनि केही भन्न सकेका छैनन् ।

डा.राम नरेश पण्डित प्रादेशिक अस्पताल जनकपुरको प्रसुति विभागका प्रमुख हुन् । तर, अस्पतालमा उनी कमै भेटिन्छन् । अस्पताल पुग्ने प्रायः बिरामी डा.पण्डितको क्लिनिकमै पुग्नुपर्ने बाध्यतामा छन् ।

अस्पतालबाट पश्चिततिर झन्डै २ सय मिटरको दुरीमा डा.पण्डितको क्लिनिक छ । अस्पतालमा उनीसँग जाँच गराउन आउने महिलाहरूको गुनासो नै हुन्छ, डाक्टरसाब अस्पतालमा भेटिनुहुन्न त्यसैले क्लिनिकमा जानुपर्छ ।

अर्का विभागिय प्रमुख हुन्, डा.अमिय कुमार साह । उनी प्रादेशिक अस्पताल जनकपुरका कान, नाक तथा घाँटी रोग विभागमा प्रमुख हुन् । उनको क्लिनिक त अस्पतालको प्रमुख गेटबाटै देख्न सकिन्छ । उनी पनि अस्पतालमाभन्दा बढी क्लिनिकमै भेटिन्छन् ।

डा.रामदेव चौधरी पनि विभागीय प्रमुख हुन् । उनको क्लिनिक अस्पतालबाट १ सय मिटरको दुरीमा छ । डा.रामदेव चौधरी वरिष्ठ फिजिशियन एवं पेट, कलेजो तथा मधुमेह रोग विशेषज्ञ भनेर उनको नामसहितको बोर्ड झुन्ड्याइएको छ ।

डा.मनिष पाण्डे वरिष्ठ कन्सल्टेन्ट फिजिशियन हुन् । उनको पनि प्रादेशिक अस्पताल बाहिर नै क्लिनिक छ । अस्पताल समयमा उनी क्लिनिकमै बढी भेटिन्छन् ।

प्रादेशिक अस्पतालका लगभग सबैजसो डाक्टरको क्लिनिक छ र उनीहरूले एकातर्फ सरकारी स्रोतको दोहन गरिरहेका छन् भने अर्कोतर्फ सर्वसाधारणलाई लुटिरहेका छन् । जसका कारण प्रादेशिक अस्पतालको गुणस्तरीयता माथि सँधै प्रश्न उठिरहन्छ ।

सरकारले सरकारी नियम अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको कार्यालय समय बिताउन भनेपनि प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकहरूको रबैया उल्टो देखिन्छ । न त कोही बिहान ९ बजे अस्पतालमा भेटिन्छन् न त उनीहरू ९ देखि ४ अस्पतालमै हुन्छन् । कसरी हुन्छ बिरामीलाई दुःख दिने मात्रै सोच उनीहरूमा देखिन्छ ।

प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले ठोस नीति नभएकै कारण समस्या भइरहेको बताए ।

डा.साहले भने, ‘यो समस्या वर्षौदेखिको हो । जसको समाधान कसरी गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं । केही सुधार पनि भएको छ पछिल्लो समय ।’

उनले थपे, ‘चिकित्सकहरूको तलब यति कम छ की काम गर्नुस भनेर भन्न पनि हामीलाई गाह्रो हुन्छ । वरिष्ठ तहका चिकित्सकहरूको तलबको स्केल यति कम छ की त्यो तलबमा कसरी कोही काम गर्न सक्छ । तर, यो समस्यालाई समाधान गर्नका लागि चिकित्सकहरूको तलब परिमार्जन गर्दै चिकित्सकलाई अस्पतालमै बस्न बाध्य बनाउनका लागि प्रोत्साहनपूर्ण वातावरण निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गरिरहेका छौं ।’

सय शय्याको अस्पताल रहेकोमा हाल ३ सय शय्या सञ्चालनमा रहेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com