आज देशभरका क्याम्पसमा स्ववियू निर्वाचन

महाराजगञ्ज चिकित्सा क्याम्पसमा अविशिखा र आनन्द भिँड्दै


काठमाडौं । आज देशभरका अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनले केन्द्रीय क्याम्पसहरूमा चहलपहल बढेको छ । केही क्याम्पसमा आजको निर्धारित मितिमा स्ववियु चुनाव हुन नसकेपनि अधिकांश क्याम्पसहरूमा मतदान हुँदैछ ।

चिकित्सा शिक्षाका क्षेत्रमा अग्रणी भूमिकामा रहेको क्याम्पस महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु निर्वाचन रोचक बनेको छ । चिकित्सा क्याम्पसमा नेविसंघबाट अविशिखा न्यौपाने सभापतिको उम्मेदवार बनेकी छिन् । त्यस्तै अनेरास्ववियुको तर्फबाट आनन्द सिंह स्ववियु सभापतिमा उठेका छन् ।

चिकित्सा क्याम्पसमा नेविसंघकी न्यौपाने र अनेरास्ववियुका सिंहबीच रोचक प्रतिस्पर्धा देखिन्छ । स्ववियु निर्वाचनमा देशभरका क्याम्पसहरूमा रोचक माहोल बनिरहेका बेला चिकित्सा क्याम्पसको निर्वाचनले छुट्टै रक्त सञ्चार गरेको छ । यो प्रतिस्पर्धामा खरो उत्रिएर नेविसंघकी न्यौपानेले नयाँ इतिहास रच्न खोजेकी छिन् । डाक्टर उत्पादन हुने क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त ४८ आंगिक र ठूलो संख्यामा सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदै छ । निर्वाचनका लागि बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । त्रिविसँगै नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा समेत स्ववियु चुनाव हुँदै छ ।

त्रिविमा पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव भएको थियो । ०७३ मा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु हुन सकेको थिएन ।

२०० सम्म विद्यार्थी हुने क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० सम्म विद्यार्थी हुँदा १५ सदस्यीय, १००१ देखि ३००० सम्म विद्यार्थी हुँदा १९ सदस्यीय र ३००० भन्दा माथि विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com