सिन्धुपाल्चोकको चौतारा अस्पताल न्यूनतम सेवा मापदण्डमा १५ शय्याको अस्पतालतर्फ नेपालकै पहिलो


काठमाडौं । सिन्धुपाल्चोकको चौतारा अस्पताल न्यूनतम सेवा मापदण्डमा १५ शय्याको अस्पतालतर्फ नेपालकै पहिलो बनेको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट चैत ८ र ९ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल सिन्धुपाल्चोकले ८९% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम हुन सफल भएको हो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ तथा न्यूनतम सेवा मापदण्डका टोली प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाको ५ सदस्यीय टोलीले  अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा ६ सय ४७ वटा मापदण्ड मध्ये ५ सय ७६ मापदण्डहरू जसमा ७ सय ६१ नम्बरबाट ६ सय ७८ नम्बर प्राप्त गरी नेपालभरी मै उत्कृष्ट नम्बर ल्याई प्रथम हुन सफल भएको छ ।


मूल्याङ्कनको क्रममा अस्पताहरूको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको थियो ।

न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत  क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सपोर्ट सर्भिसमा २० प्रतिशत गरी कुल जम्मा १०० प्रतिशत मध्ये ८९ प्रतिशत ल्याइ नेपालमै १५ बेड क्याटोगोरीमा पहिलो भएको टिमका प्रमुख नरेन्द्र कुमार झाले बताए ।

चौतारा अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि निकै सुन्दर हँुदै गएको भन्दै मूल्याङ्कन समितिका संयोजक समेत रहेका झाले समिक्षा कार्यक्रममा बताए ।

न्यूनतम सेवा मापदण्डको कार्यक्रममा प्रमुख अथिति चौतारा साँगाचोकगढी नगरपािलकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आफ्नो नगरभित्र रहेको अस्पतालले सिमित स्रोत साधनको बीचमा पनि गरेको प्रगतिले अस्पतालको मात्र नभइ नगरको र जिल्लाको समेत नाम राख्न सकेकोमा खुसी व्यक्त गरे ।

चौतारा अस्पतालले ८९ प्रतिशत ल्याउनु भनेको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण अस्पतालले एक उदाहरण दिएको भन्दै उनले अब बाँकी रहेको ११ प्रतिशत काम पनि पुरा हुनेमा सापकोटाले विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि तथा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले अस्पतालको गतिलाई थप प्रभावकारी ढङ्बाट सञ्चालन गरी तत्काल ५० शय्यामा स्तर उन्नतीका साथ देशको उत्कृष्ट अस्पतालको रुपमा चिनाउन तिनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिइ अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

अस्पताल यहाँसम्म पुग्नुमा अस्पतालमा कार्यरत कार्यालय सहयोगीदेखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरूको ठूलो भुमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले सहयोगी सबैलाई धन्यवाद दिए ।

अनुगमन पछि फलोअप समिक्षामा विभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अङ्क ल्याउन ११ अङ्क नपुग्नुका कारणहरू बारेमा समेत समिक्षा गरिएको थियो ।

कार्यक्रममा अस्पतालबाट महिनामा उत्कृष्ट हुने कर्मचारीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

मङ्सिर महिना – तामबहादुर श्रेष्ठ (कार्यायल सहयोगी), पौष महिना – विवेक श्रेष्ठ  (सहायक कम्प्युटर अपरेटर), माघ महिना – डा. सुसान्त श्रेष्ठ (मेडिक अधिकृत), फागुन महिना – रन्जिता श्रेष्ठ (स्टाफ नर्स) टिकालाल श्रेष्ठ (कार्यालय सहयोगी) रहेका थिए भने अस्पतालमा आएका बिरामीहरूको विद्युतीय अभिलेख चुस्त दुरुस्त राख्ने ३ शाखाहरूलाई समेत सम्मान गरेको थियो जस्मा अन्तरङ्ग विभाग, बहिरङ्ग विभाग र प्रयोगशाला शाखा रहेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com