अख्तियारले कोरोनाकालमा जग्गा हडप्ने भूमाफिया चाम्लिङको विषयमा पठाएको पत्र वडाले लुकायो


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोरोनाकालमा जग्गा हडप्ने भूमाफिया इन्द्रकुमार चाम्लिङको विषयमा पठाएको पत्र वडा कार्यालयले लुकाएको पाइएको छ । स्वास्थ्य लाइभले उक्त पत्र खोजी गर्दा वडा कार्यालयले लुकाएको हो ।

देवीनगरका भूमाफिया इन्द्रकुमार चाम्लिङले सरकारी जग्गा हडपेको विषय अख्तियारले अख्तियारले गत पुस २६ गते १५ दिनभित्र प्रतिवेदन पठाउन पत्र काटेको थियो । तर, काठमाडौं महानगरपालिका वडा नम्बर १० ले उक्त पत्र नै लुकाएको पाइएको हो ।

अख्तियारले काठमाडौं महानगरपालिका भूमाफिया चाम्लिङले हडपेको जग्गाको प्रतिवेदन मागेको हो । तर, काठमाडौं महानगरपालिका र १० नम्बर वडाका वडाध्यक्ष रामकुमार केसी अख्तियारले काटेको पत्रको विषयमा मौन छन् । अख्तियारले १५ दिनभित्र प्रतिवेदन मागेकोमा वडा कार्यालयले ३ महिना हुन लाग्दा समेत काम गरेको छैन । उल्टै पत्र गायब पारिएको छ ।

स्वास्थ्य लाइभमा भूमाफिया चाम्लिङले देवीनगरको सरकारी जग्गा हडपेर संरचना बनाई भाडा खाएको समाचार प्रकाशित गरेपछि अख्तियारले तत्काल चासो देखाएको थियो । अख्तियारले उक्त विषयमा वडा कार्यालयलाई पटकपटक ताकेता गरेको छ । तर, वडा कार्यालयले कुनै प्रतिक्रिया नपठाएपछि अख्तियारले फेरि पत्र काटेको हो ।

अख्तियारले काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ६५, ६६, १९१, ४३०, ५४९, ५५२, ५५३, ७७१ र ७७२ को सार्वजनिक जग्गा हडपेर १० वटा सटर निर्माण गरी भाडा खाएको भन्ने विषयमा जवाफ मागेको छ । नापी को प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय जनताको रोहबरमा फिल्ड प्रतिवेदनसहितको राय प्रतिक्रिया अख्तियारले मागेको हो । वडा कार्यालयले भने उक्त पत्र थन्क्याएर राखिदिएको छ ।

स्वास्थ्य लाइभले समाचार प्रकाशित गरेपछि काठमाडौं महानगरपालिकाले भूमाफिया चाम्लिङले हड्पेका केही अनधिकृत संरचना भत्काएको छ । तर, मुख्य संरचनाहरू भने भत्काउन नहुने पक्षमा वडाध्यक्ष रामकुमार केसी रहेको स्थानीयको आरोप छ ।

भूमाफिया चाम्लिङले सार्वजनिक ढुङ्गेधारा कम्पाउण्डभित्र हालेर व्यक्तिगत बनाउँदा समेत महानगरपालिका र वडा कार्यालय मुकदर्शक देखिन्छन् । उल्टै चाम्लिङ र हेमराज घिसिङले सार्वजनिक जग्गामा बनेको संरचनामा तला थपेका छन् ।

अख्तियारले पटकपटक ताकेता गर्दा पनि चाम्लिङले अनधिकृत बनाएका मुख्य संरचना नछुनुले स्थानीयले लगाएको आरोपमा बल पुगेको छ । सरकारी उल्लेख कित्ता नम्बर १९१ को केही भाग र ५७७ मा भूमाफिया चाम्लिङले ८ तले टावर बनाएका छन् । भर्‍याङलगायतका मुख्य भाग सरकारी जग्गामा बनाएपनि त्यसै छाडिएको छ । ५७७ नम्बर कित्ता पनि रावल आयोगको प्रतिवेदनमा सार्वजनिक रहेको छ ।

भूमाफिया चाम्लिङले ५७७ नम्बर कित्ताको सार्वजनिक जग्गा पनि दुषित दर्ता गरेको पाइन्छ । त्यस्तै ४३० नम्बर कित्ताको सरकारी जग्गा पनि भूमाफिया चाम्लिङले दूषित दर्ता गरेर प्रेम आचार्यलाई बेचेको देखिन्छ । यो विषयमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यथाशीघ्र छानबिन गर्न जरुरी छ ।

यी कित्ता कसरी पुगे व्यक्तिको नाममा ?

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरका दर्जनौं कित्ता सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । रावल आयोगको प्रतिवेदनमा बकाइदा धोबीखोला जनिएको जग्गा राजनीतिक परिवर्तनसँगै व्यक्तिको नाममा दुषित दर्ता हुन पुगेको हो । यो काममा भूमाफिया इन्द्र कुमार चाम्लिङ र हेमराज घिसिङ लागेको देखिन्छ ।

कित्ता नम्बर ४२७, ७४०,७६२,७३८, ७३९, ४३४, ४४५, ५४७, ८३४, ५४८, ८३४, ३३४, ४३०, ५२५, ५७७, ५४२, ५४३ लगायतका धोबीखोला जनिएका र केही सार्वजनिक जग्गाहरू भूमाफियाले दूषित दर्ता गराएर कप्लक्कै खाएका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ## हेमराज घिसिङ, #काठमाडौं महानगरपालिका, #धोबीखोला करिडोर, #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com