बागमतीमा स्वास्थ्यसहितका मन्त्रालय बाँडफाँड गर्ने तयारी


काठमाडौं । बागमती प्रदेशको सरकारलाई पूर्णता दिन कार्यदलको बैठक बस्दै छ । संघीय सरकारमा भागबन्डा मिलेपछि बागमती प्रदेश सरकार तातेको हो ।

बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको नेतृत्व बनेका ७ सदस्यीय कार्यदलको बैठक अहिले ९ बजेदेखि बानेश्वरमा बस्ने तयारी छ । उक्त कार्यदलले स्वास्थ्यसहितका मन्त्रालयको भागबन्डा टुंग्याउने सम्भावना छ ।

कांग्रेसबाट नेतृत्व गरेर बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्री बन्न खोजेका चित्रकारको नेतृत्वमा उक्त बैठक बस्न लागेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएपछि सरकार पुनर्गठनलाई तीव्रता दिएका छन् । मुख्यमन्त्री जम्कट्टेल र कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले मन्त्रालय बाँडफाँड गर्न चित्रकारको नेतृत्वमा कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले मन्त्रालयको भागबन्डा मिलाउने छ ।

कार्यदलमा कांग्रेसबाट चित्रकार संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले र तीर्थ लामा रहेका छन् । चित्रकार र लामा मन्त्री बन्ने प्रवल सम्भावना छ । उक्त कार्यदलको सदस्यमा माओवादी केन्द्रबाट मुख्य सचेतक रत्नप्रसाद ढकाल र सरल सहयात्रीसदस्य रहेका छन् । एकीकृत समाजवादीबाट संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीबाट संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्य रहेका छन् । खनाल र बज्राचार्य पनि मन्त्रीको लबिइङमा देखिन्छन् ।

कांग्रेसबाट स्वास्थ्यमन्त्रीमा चित्रकारसहित मसिना खड्का, श्रीराम लामिछाने, छिरिङ दोर्जे लामालगायतको चर्चा छ ।

क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश सरकार, #रामकृष्ण चित्रकार, #शालिकराम जमकट्टेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com