आज विश्व स्वास्थ्य दिवस र डब्ल्यूएचओको वार्षिकोत्सव मनाइँदै


काठमाडौं । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘सबैका लागि स्वास्थ्य’ नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन स्थापना भएको अवसरमा यो दिवस मनाउने गरिन्छ ।

सङ्गठनले आज आफ्नो ७५ औं वार्षिकोत्सव मनाउँदैछ ।

७ अप्रिल सन् १९४८ मा स्थापना भएको सङ्गठनले आज विभिन्न कार्यक्रमको आयोजना गरेर आफ्नो वार्षिकोत्सव दिवस मनाउन लागेको हो ।

सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हनोम घेब्रेयससका अनुसार राष्ट्रहरू साझा उदेश्यका लागि एकजुट भएमा जुनसुकै कुरा पनि सम्भव छ भन्ने विश्व स्वास्थ्य सङ्गठनको इतिहासले देखाएको छ ।

सङ्गठनको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले भने, ‘हामीले गर्व गर्नुपर्ने धेरै कुराहरू छन् । तर, सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने हाम्रो वृहत्त लक्ष्य प्राप्तिका लागि अझै धेरै काम गर्न बाँकी छ । हामीले स्वास्थ्य सेवाको पहुँचमा व्यापक असमानताहरू, एकीकृत स्वास्थ्य आपतकाल प्रतिकार्यका खाडलहरू र स्वास्थ्यका लागि हानिकारक उत्पादनहरू तथा जलवायु सङ्कटको जोखिमहरूको सामना गरिरहेका छौं ।’

विश्व स्वास्थ्य सङ्गठनले वार्षिकोत्सवको अवसरमा सन् २०२५ को अन्त्यसम्ममा २५ कम र मध्यम आय भएका देशहरूका २५ प्रतिशत नर्स र अनमीलाई लक्षित गरी आधारभूत आपतकालीन हेरचाहमा विश्वव्यापी शिक्षा कार्यक्रम पनि घोषणा गरेको छ । यो २५ २५ २५ आपतकालीन हेरचाह कार्यक्रमले जीवन बचाउने र अपाङ्गता कम गर्ने सीप र दक्षताहरू नर्स र अनमीहरूलाई प्रदान गर्नेछ ।

सङ्गठनले नेपालमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी काम गर्दै आएको छ । १९५३ मा सङ्गठनको सदस्य बनेको नेपालमा गुणस्तरीय स्वास्थ्य प्राप्तिका लागि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ ।

सन् १९७० को दशकमा बिफरको उन्मूलन गरेको नेपालले कुष्ठरोग, पोलियो र ट्रकोमा जस्ता रोगहरूको निवारण, मातृ तथा नवजात शिशुमा हुजे धनुष्टङ्कारको निवारण, मातृ तथा बाल मृत्युदरमा उल्लेखनीय कमी र राष्ट्रिय खोप कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छ ।

नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले नेपालका जनताको स्वस्थ भविष्य निर्माण गर्नका लागि सङ्गठन प्रतिबद्ध रहेको बताए ।

उनले नेपाल सरकारसँग साझेदारी लामो समयदेखि रही आएको र जनस्वास्थ्य क्षेत्रमा केही उल्लेखनीय सफलताहरू हासिल गर्न सफल भएको उल्लेख गरे ।

उनले आगामी दिनमा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न, थप रोगहरू निवारण गर्न, नसर्ने रोगहरूको रोकथाम गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच विस्तार गर्न र आपतकालीन पूर्वतयारी र प्रतिकार्यलाई सुदृृढ बनाउने काम गर्ने पनि बताए ।

आजकै दिन विश्व स्वास्थ्य दिवस पनि मनाउने गरिन्छ ।

‘सबैका लागि स्वास्थ्य’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com