वीर अस्पतालको मात्र होइन पशुपतिको पोखरी पनि बाँकी राखेनन् भूमाफियाले  


काठमाडौं । वीर अस्पताल गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले कर्लप्पै खाएका छन् । तर, सरकारले फिर्ता ल्याउन सकेको छैन । भक्तपुरको लोकन्थलीमै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतले वीर अस्पताल गुठीको जग्गा हडपेको सार्वजनिक हुँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेखबर रहेको छ । यो विषयमा खोजबिन गर्ने राजनीतिक नेतृत्व स्वास्थ्य मन्त्रालयले पाउन सकेको छैन ।

वीर अस्पताल गुठीको जग्गामा जस्तै पशुपतिनाथ गुठीमा रहेको पोखरी पनि भूमाफियाले कर्लप्पै खाएको पाइएको छ । स्वास्थ्य लाइभको खोजीमा कांग्रेसका नेताहरू नै उक्त जग्गा खानेमा देखिन्छन् ।

भण्डारखालको ऐतिहासिक पोखरी

पशुपतिको भण्डारखालसँगै रहेको ऐतिहासिक पोखरीमा अहिले पोखरी होइन घर/टहरा खडा भएका छन् । झन्डै साढे ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरीमा नेविसंघका पूर्व महामन्त्री मनोज वैद्यको परिवारलगायतले घर/टहरा बनाएर रजाइँ गरिरहेको पाइएको छ ।

पोखरी मासेर बनेका संरचना

साविक पशुपति गाविस वडा नम्बर एक हाल काठमाडौं महानगरपालिका वडा ८ मा पर्ने सिट नम्बर १०६७-१६ को कित्ता नम्बर ९३ को ३ रोपनी ६ आना १ पैसा क्षेत्रफलमा फैलिएको उक्त पोखरी अहिले गायब पारिएको छ । कांग्रेस नेता मनोज वैद्यका बुवा इश्वरी वैद्यको नाममा पोखरीको आधा रोपनी जग्गा पुगेको छ । उनको नाममा ७ आना ३ पैसा पोखरीको जग्गा पुगेको स्वास्थ्य लाइभले फेला पारेको छ । पोखरीको १४ आना १ दाम जग्गा अम्बिकादेवी अधिकारीको नाममा पुगेको देखिन्छ । पोखरीको २ आना २ पैसा २ दाम पदमा राई, १४ आना १ पैसा १ दाम नानी मैयाँ वैद्य र ४ आना जग्गा कान्छी संगतको नाममा रहेको स्वास्थ्य लाइभले फेला पारेको हो ।

त्यस्तै पोखरीको ३ पैसा २ दाम देव लक्ष्मी संगत, २ पैसा २ दाम लिलानाथ प्याकुरेल र २ दाम जग्गा जगतबहादुर श्रेष्ठको नाममा पुगेको देखिन्छ । पोखरीको १० आना ३ पैसा २ दाम जग्गा भने भूमाफियाहरूले खान सकेका छैनन् । भूमाफियाले उक्त जग्गा खान नसकेपनि काठमाडौं महानगरपालिका वडा नम्बर ८ ले वडा भवन बनाएर पोखरीको जग्गा मास्न खोजेको छ ।

भण्डारखाल बगैँचासँगैको पोखरी गायब भएको तथ्य स्वास्थ्य लाइभले प्रस्तुत गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आश्चर्यमा परे । उनले पशुपतिको जग्गा खोज्न उच्चस्तरीय समिति नै गठन गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्वास्थ्य लाइभसँगको कुराकानी उक्त मासिएको पोखरीलाई पुनर्जीवित गराउन पर्यटनमन्त्री किराती सकारात्मक देखिएका छन् । पशुपतिको पोखरीसहित हजारौं रोपनी जग्गा भूमाफियाको कब्जामा पुगेकाले पर्यटन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले तत्काल खोजी गर्नुपर्छ । मन्त्री किराँतीको प्रतिवद्धता अनुसार छिट्टै जग्गा छानबिन गर्ने उच्चस्तरीय समिति बने पुनः भूमाफियाले हडपेका ती जग्गा फिर्ता आउने सम्भावना रहन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #ऐतिहासिक पोखरी, #पुशुपति, #भण्डारखाल, #मनोज वैद्य, #संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com