काठमाडौं महानगरपालिकाले अस्पतालमा झुन्डिएको इन्टरनेसनल शब्द हटाउन सक्ला !


काठमाडौं । विद्यालयको नाममा इन्टरनेसनल शब्द राख्ने विषयमा कठोर बनेको काठमाडौं महानगरपालिका अस्पतालको नाममा झुन्डिएको इन्टरनेसनल शब्दमा के गर्ला भन्ने चासोको विषय बनेको छ ।

नर्भिक, ग्राण्डीजस्ता अस्पतालको पछाडि इन्टरनेसनल शब्द राखिएको छ ।  काठमाडौं महानगरपालिकाभित्र पर्ने अस्पतालले इन्टरनेसनल शब्द प्रयोग गर्दा निश्चित मापदण्ड तोक्न सक्ला त भन्ने बहसको विषय बनेको हो ।

काठमाडौं महानगरपालिकाले कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ व्यवस्था गरेको छ ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको हो । त्यस्तै महानगरपालिकाभित्रका अस्पताललाई पनि एक रूपता ल्याउनु पर्ने देखिन्छ ।

काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल स्वास्थ्यसम्बन्धी मापदण्ड संशोधन गरेर अस्पतालको नाममा जोडिने इन्टरनेसनल शब्दको विषयमा व्यवस्था गर्न सकिने बताउँछन् । यो विषयमा छलफल गर्न सक्ने महानगरको संकेत छ ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा  स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ । स्वास्थ्य संस्थाको दर्ता, अनुमति, नवीकरण र स्तरोन्नतिसम्बन्धी विषयको अधिकार संघ, प्रदेश र स्थानीय तहको सरकारलाई तोकेको छ । शय्या अनुसार कुन तहको सरकारले हेर्ने भन्ने व्यवस्था रहेको छ । तर, काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका अस्पतालको नामको विषयमा भने महानगरपालिकाले मापदण्ड बनाउन सक्ने ठाउँ छ ।

विद्यालयमा जस्तै अस्पतालले पनि आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा वर्षमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी बिरामी हेरेको हुनुपर्ने मापदण्ड बनाउन सक्ने सम्भावना रहन्छ । संघीय स्वास्थ्य मन्त्रालयसँग समन्वय र सहकार्य गरेर नर्भिकलगायतमा अस्पतालमा जोडिएको इन्टरनेसनल शब्दको विषयमा काठमाडौं महानगरपालिकाले मापदण्ड तय गर्नु पर्ने बहस सुरु भएको छ । अस्पतालका पछाडि जोडिएका रिसर्च सेन्टरको विषयमा समेत मापदण्ड बनाउन आवश्यक छ ।

नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने जस्तै व्यवस्था कुनै न कुनै रूपमा अस्पतालको हकमा पनि हुनुपर्ने देखिन्छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका अनुसार कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ ।  कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ उनले जनाएका छन् । अस्पतालको हकमा पनि मापदण्ड ल्याएर शब्द दुरुपयोगलाई रोक्ने प्रयासमा महानगरपालिका लाग्न सक्ला त भन्ने बहस सुरु भएको छ ।

 

 

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #नर्भिक इन्टननेशनल हस्पिटल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com