कहाँ हरायो अनामनगरस्थित ओपीएससँगैको चिल्ड्रेन पार्क ?


काठमाडौं । अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कूल (ओपीएस)सँगैको सरकारी जग्गामा बनेको चिन्ड्रेन पार्क अहिले हराएको छ । काठमाडौं महानगरपालिकाको १० लाख बढी लगानीमा करिब १५ वर्ष अगाडि बनाइएको उक्त चिल्ड्रेन पार्क भूमाफियाले कर्लप्पै खाइदिएका छन् ।

भूमाफियाले कर्लप्पै खाइदिएको चिल्ड्रेन पार्क

काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अक्सिडेन्टल पब्लिक स्कूलको प्रशासनिक भवनसँगै रहेको साविक कित्ता नम्बर ९ को १ रोपनी ६ आना जग्गामा बनेको उक्त पार्क अहिले देख्न सकिँदैन । तत्कालीन मानव कुमार नेपाल नेतृत्वको सरकारले चन्द्रबहादुर थापा र चन्द्रकुमारी थापालाई गुहेश्वरी ढल निकासमा परेको जग्गाको सट्टाभर्नामा उक्त पार्कको १ रोपनी ६ आना जग्गा दिइएको थियो । तर, सामाजिक विकास समाजलगायत स्थानीयले पार्क मासेर नूनसँग सुन साट्न पाइँदैन भन्दै विरोध जनाएपछि मन्त्रिपरिषद्ले फेरि उक्त जग्गा नेपाल सरकारकै नाममा फिर्ता ल्याउन बाध्य भयो ।
थापा दम्पतिलाई कपनमा जग्गा दिएर अनामनगरस्थित पार्कको जग्गा पुनः सरकारी गरिए पनि ८ आना जग्गा गायब पारियो । पार्कको १ रोपनी ६ आना जग्गामध्ये ५ आना जग्गा हरिप्रसाद गिरी र ३ आना जग्गा दशनारायण महर्जनको नाममा पुग्यो । पार्क भत्काएर महानगरपालिकाको लगानीमा निर्मित सामान बेपत्ता बनाइयो । वडाको सिफारिसमा महर्जनले त ५ तले भवन नै बनाउने नक्सा पास गरे । सामाजिक विकास समाजले निकै मेहनत गरेर उक्त नक्सा बदर गराउन सफल भयो।

निजी भवन बनाउन वडाले दिएको जग्गा

फेरि सरकारी जग्गा संरक्षण अभियान्ता, सामाजिक विकास समाज र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त प्रयासमा फेरि १ रोपनी ६ आना जग्गा नै नेपाल सरकारको नाममा कायम भयो । साबिक धोबीखोलाको उक्त जग्गा गिरी र महर्जनको नाममा पुग्नुले उनीहरू निकै ठूला भूमाफिया हुन भन्ने देखाउँछ । यो चिल्ड्रेन पार्क खानेविरुद्ध काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले विशेष एक्सन लिनुपर्छ ।

अक्सिडेन्टल पब्लिक स्कूलले विगत २५ वर्षदेखि कित्ता नम्बर १० को १ रोपनी १ आना साविक धोबीखोलाको सरकारी जग्गा हडप्दै आएको थियो । त्यस्तै ८ आना धोबीखोलाको जग्गा दुषित दर्ता गराएको थियो । त्यो जग्गा पनि समाजिक विकास समाज र सरकारी जग्गा संरक्षण अभियान्ताहरुको संयुक्त पहलमा सरकारकै नाममा फिर्ता आइसकेको छ ।
काठमाडौं महानगरपालिकाको सहयोगमा कित्ता नम्बर ८ मा रहेको १ रोपनी १ आना जग्गामा रुख रोपेर हरियाली प्रवर्द्धन गरिएको छ । त्यहाँ मैतीदेवी, घट्टेकुलो, अनामनगर र बानेश्वरका ५० बढी युवाहरू प्रत्येक बिहान ब्याडमिन्टन खेल्दै आएका छन् । तर, उक्त ठाउँ मासेर काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ ले वडा भवन बनाउन खोजेको छ ।

वडा भवन बनाउन लागेको ब्याडमिन्टन मैदान

स्थानीय र खेलाडीहरूको माग भने चिल्ड्रेन पार्क मासेर भूमाफियाले खाएको बीचको १ रोपनी ६ आना जग्गामा अन्डर ग्राउण्ड पार्किङसहित वडा भवन र स्वास्थ्य भवन बनाएर वरिपरीका जग्गामा खुला पार्क बनाउनुपर्ने रहेको छ । तर, भूमाफियाको डिजाइनमा हरियाली प्रवर्द्धन गरिएको ब्याडमिन्टन मैदानमा वडा भवन बनाउन खोजिएकोमा स्थानीयको आरोप र विरोध छ ।
वडा भवन दमकल छिर्न सक्ने भएकाले बीचमा रहेको ९ नम्बरको १ रोपनी ६ आना जग्गा उपयुक्त हुने समाजिक विकास समाजले मेयर शाहलाई सुझाव दिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले ३ वटै जग्गाको फिल्ड हेरेर वडा भवन बनाउने विषयमा निर्णय लिइने स्थानीयहरूलाई आश्वासन दिएका छन् । स्थानीयहरू मेयर शाहबाट न्यायपूर्ण र उचित निर्णय हुने अपेक्षामा देखिन्छन् ।

अदालतको फैसला र कानुनको पालना गर्ने सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख शाह अरुभन्दा धेरै अगाडि रहेका छन् । काठमाडौं महानगरपालिकाले पनि वडा भवन निर्माणका लागि उक्त जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर प्राप्त गर्दा राम्रो हुने देखिन्छ । यतातर्फ पनि मेयर शाहले ध्यान दिन उपयुक्त हुन्छ ।

अन्य स्थानीय तहले पनि प्रशासनिक भवन बनाउन मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारी जग्गा प्राप्त गर्दै आएका छन् । सरकारी जग्गा लिजमा दिने कार्यनीति,२०७९ मा यो सम्बन्धी व्यवस्था छ ।

निर्णय नम्बर १० हेर्नुहोस् दक्षिणकाली नगरपालिकाले प्रशासकीय भवन बनाउँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारी जग्गा प्राप्त गरेको

जिल्ला प्रशासन कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको हुँदै मन्त्रिपरिषद्ले निर्णय गरेर स्थानीय तहलाई भवन बनाउन जग्गा दिँदै आएको अहिलेसम्मको अभ्यास छ । तर, सरकारी जग्गामा वडा भवन बनाउँदा काठमाडौं महानगरपालिकाले त्यो प्रक्रिया पूरा गरेको देखिँदैन । कानुनी राज्य र कानुन बमोजिम शासन हुनुपर्छ भन्ने मान्यता राख्ने मेयर शाहले यो विषयमा ध्यान दिनैपर्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अनामनगरस्थित चिल्ड्रेन पार्क, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #वडा र स्वास्थ्य भवन, #समाजिक विकास समाज

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com